पाँचखाल नगरपालिकाले लगानी सम्मलेन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2019 | 09:28:49 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेको पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ । “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ”, नगरप्रमुख महेश खरेलले भने । उनका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो । नगरप्रमुख खरेलले भने, “पाँचखालमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका विकासका काम शुरु भएको यस अवसरमा लागानी सम्मेलन फलदायी हुने अपेक्षामा छौँ ।”

पाँचखालमा विशेष आर्थिक क्षेत्र (सेज)का लागि निर्माण कार्य शुरु गरिएको, बृहत् सुनकोशी पाँचखाल खानेपानी आयोजना सम्झौता भई कार्य प्रारम्भ गरिएको, राष्ट्रिय युवा परिषद्द्वारा निर्माण हुने ‘नेशनल युथ इनोभेशन सेन्टर’ तथा एकीकृत तथा स्मार्ट सिटीका लागि पनि जमीन छुट्याएकाले पनि थप लगानीकर्ता र रोजगारदाता आवश्यक रहेकाले सम्मेलन गर्न लागिएको नगरपालिकाले जनाएको छ । “विषेशगरी कृषि र पशुपालनमा लगानकर्तालाई आकर्षण बनाउनेछौँ”, नगरप्रमुख खरेलले भने । पाँचखालमा लगानी तथा पर्यटनका प्रचुर सम्भावना भएका स्थानमा सडक पु¥याइसकिएको र पु¥याउन शुरु भइरहेको तथा वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको दाबी उनको छ ।

यसअघि, स्थानीय तहअन्तर्गत पहिलोपल्ट गत असोजमा रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लगानी सम्मेलन गरेको थियो । उक्त सम्मेलनमा स्वदेशीसहित विदेशी लगानीकर्ताबाट १५ अर्बभन्दा बढीको लगानी प्रतिबद्धता दर्शाएका थिए । पाँचखाल हालसम्म तिलोत्तमापश्चात् लगानी सम्मेलन गर्ने दोस्रो नगरपालिका हुने देखिएको छ ।

कृषि तथा पशुपालन क्षेत्रमा आधुनिकीकरण, सौर्य ऊर्जा, प्रविधि र पर्यटकीय स्तरका ठूला होटल, उद्योग स्थापनार्थ सम्मेलनमा प्रस्ताव गरिने बताइएको छ । “स्थानीयलाई रोजगार दिने उद्योग तथा परियोजनालाई करछुट दिन पनि छलफल गर्दैछौँ”, नगरप्रमुख खरेलले भने । उनका अुसार पाँचखालमा विभिन्न ऐतिहासिकस्थल समेत रहेकाले पर्यटन र स्थानीय सांस्कृतिक क्षेत्र लक्षित आयोजनालाई समेत प्राथमिकतामा राखिनेछ । त्यसो त, ‘पाँचखाल नगर, कृषि शहर’ नारालाई सार्थक बनाउन नगरले खाँचखालको खेतीयोग्य जमीनलाई ‘प्लटिङ’ गर्न पूर्ण प्रतिबन्ध लगाएको छ ।

“आफुखुशी र व्यापारिक हिसाबले खेतीयोग्य जमीन प्लटिङ गर्न पूर्णतः रोक लगाएका छौँ, हामीे कृषि उत्पादनमा जोड दिइरहेका बेला खेतीयोग्य जमीन मास्न दिँदैनौँ”, नगरप्रमुख खरेलले भने । उनले हाल पाँचखाल उपत्यकामा ‘रिङरोड’ निर्माणको सोच बनाइएको र कार्यान्वयनका लागि सरोकारवाला तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य तथा सरकारका मन्त्रीसँग पटकपटक छलफल भइरहेको बताए । नगरले रिङरोड राजमार्गसँग जोडिने भएकाले खेतीयोग्य जमीन जोगाएर मानव बस्ती तथा औद्योगिक ग्राम स्थापना गरिने योजना बनाएको छ । नगरप्रमुख खरेलले भने, “यसबाट शहरीकरणलाई मात्र व्यवस्थित गर्दै, कृषि उत्पादनमा लगानी बढाउन सकिन्छ ।”

साबिक पाँच गाविस जोडेर २०७१ सालमा पाँचखाल नपा बनाइएकामा दुई वर्षअघि पनि दुई गाविस थपेर पाँचखाललाई अझ बृहत् बनाइएको छ । १३ वडामा विभाजित पाँचखाल नपाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको छ भने नगरपालिकाभित्र ३७ हजार ७९७ जनसङ्ख्याको बसोबास छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved