बङ्गलादेशी राष्ट्रपति आउँदा मुख्य सडक प्रयोग नगर्न सरकारको आग्रह

ठूला मालबाहक सवारीसाधन निषेध
बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 11, 2019 | 07:22:24 PM मा प्रकाशित

laxmi  sunrise bank

बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले भोलिदेखि नेपाल भ्रमण गर्ने भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा हमिदले भोलिदेखि कात्तिक २९ गतेसम्म चार दिवसीय औपचारिक सद्भावना भ्रमण गर्न लागेका हुन् । राष्ट्रपति हमिदको ५२ सदस्यीय प्रतिनिधिमण्डललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा औपचारिक स्वागत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उनले राष्ट्रपति भण्डारीसँग राष्ट्रपति कार्यालय, शीतल निवासमा पर्सि बुधबार अपराह्न भेटवार्ता गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारीले आफ्ना बङ्गलादेशी समकक्षी तथा उनले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा सोही दिन साँझ राजकीय भोज आयोजना गर्ने कार्यक्रम छ । बङ्गलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने छन् ।

राष्ट्रपति हमिदसँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, राजनीतिक दलका वरिष्ठ नेताहरूले पनि शिष्टाचार भेट गर्ने छन् । नेपाल बसाइका बेला बङ्गलादेशका विशिष्ट अतिथिले भक्तपुर दरबार क्षेत्र, पोखराका साथै काठमाडौँको चन्द्रगिरीको पनि भ्रमण गर्ने कार्यक्रम छ ।

हमिदको चार दिने औपचारिक नेपाल भ्रमणका अवसरमा सवारी व्यवस्थापनमा सहयोग गर्न उपत्यकावासीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आज एक विज्ञप्ति जारी गरी मङ्गलबारदेखि यही कात्तिक २९ गतेसम्म भ्रमणका समयमा ठूला मालबाहक सवारीसाधन चक्रपथभित्र प्रवेश नगरिदिनु हुन सबै नागरिकमा आग्रह गरेको हो । मुख्य सवारी मार्गको प्रयोग नगरी अन्य वैकल्पिक सडकको प्रयोग गर्न तथा अनावश्यक सवारीसाधन प्रयोग नगर्न महाशाखाले उपत्यकावासीसँग आग्रह गरेको छ ।

सवारी मार्गमा पुराना र अवस्था ठीक नभएका सवारीसाधन नचलाउन तथा हर्नको प्रयोग नगर्न पनि ट्राफिक प्रहरीले भनेको छ । यसैगरी उक्त समयमा ट्राफिक समस्या परेमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा फोन गर्न चालकलाई आग्रह समेत गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved