'रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2019 | 09:14:21 AM मा प्रकाशित

laxmi  sunrise bank

बुद्ध जन्मस्थल लुम्बिनीमा नेपालकै पहिलो लुम्बिनी न्यूज फेस्टिबल–२०७६ सुरु भएको छ । "संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार” भन्ने नाराका साथ फेस्टिबल सुरु भएको हो । लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा आइतबारदेखि सुरु भएको फेस्टिवलको उद्धघाटन प्रदेश नं ५ मुख्यमन्त्री शंकर पोखरेलले गरेका हुन् । उदघाटन  समारोहमा बोल्दै मुख्यमन्त्री पोखरेलले राज्यलाई बलियो बनाउनुपर्ने बताएका छन् । उनले कमजोर राज्यले बलिया र सक्षम नागरिक तयार गर्न नसक्ने बताए । 

मुख्यमन्त्री पोखरेलले कुनै समयमा लोकतन्त्रको स्थापनाको लागि राज्यलाई कमजोर बनाउन अभियानमा लागिए पनि अब लोकतन्त्र प्राप्त भइसकेकोले राज्यलाई बलियो बनाउनतर्फ लाग्नुपर्ने बताए । ' नागरिक सबल र सक्षम हुनैपर्छ, जबसम्म राष्ट्र कमजोर रहन्छ, नागरिकहरु कमजोर रहन्छन्, राज्यलाई बलियो बनाउन सञ्चारमाध्यमको भुमिका महत्वपूर्ण हुन्छ', उनले भने । 

उनले समाजमा एक प्रकारले निराशा र आलोचनाका कुराहरु बढो सहज ढंगले विक्री भइरहेको बताए । उनले नकारात्मक चेतनाले समाजलाई अगाडी बढाउन नसक्ने दावी गरे । मुख्यमन्त्री पोखरेलले सञ्चारमाध्यम मानव जगतको महत्वपूर्ण पक्ष भएको बताए ।  

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताको अबको मिसन भनेको शान्ति र समृद्धि भएको बताए ।  लुम्बिनी न्युज फेस्टिभलको पहिलो सत्रमा बोल्ने वक्ताहरुले अहिले एउटै पत्रकार विभिन्न सञ्चारमाध्यममा काम गर्नु पर्ने बाध्यता रहेको बताए । उनीहरुले सामाजिक सञ्जालका कारण पत्रकारिता क्षेत्रमा विभिन्न चुनौतीहरु देखा परेको बताएका छन् । अहिलेको समयमा पत्रकारिता क्षेत्रमा विभिन्न समस्याहरु देखिएकोले त्यसको समाधानको लागि सम्पूर्ण सरोकावालाको ध्यान केन्द्रीत हुनुपर्ने  वताएका छन ।

आइतवार फेस्टिभल उद्धघाटन पुर्व भएकोे सत्रमा ‘पत्रकारिता ः चुनौती र भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठ, वरिष्ठ पत्रकार किशोर नेपाल, पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरी, वरिष्ठ पत्रकार मोहन मैनाली र नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसाल मुख्य वक्ता र कान्तिपुर टेलिभिजनका रामकृष्ण भण्डारी सहकर्ताको रुपमा रहेका कार्यक्रममा ‘पत्रकारिता चुनौती र भविष्य’ बिषयमा अन्तरक्रिया भएको हो ।  

कार्यक्रममा बोल्दै प्रेस काउन्सिलका अध्यक्ष किशोर श्रेष्ठले अहिले खासगरी अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारहरुका बारेमा काउन्सीलमा उजुरी आएको बताए । उनले पत्रकारिता हतारमा गर्न नहुने बताए । 'हुबहु÷कपिपेष्ट पत्रकारिताले सञ्चार क्षेत्रका मुख्य समस्या हुन खोजमूलक पत्रकारिताको आवश्यकता छ', उनले भने ।

वरिष्ठ पत्रकार किशोर नेपालले पत्रकारिता शास्त्र–विज्ञान भएकोले यो कहिल्यै नसकिने बताए । उनले पत्रकारहरुले न्यूनतम पारिश्रमिक समेत नपाएको तथा स्थानीय सञ्चारमाध्यम सञ्चालनमा समेत समस्या आएको बताए ।

 खोज पत्रकारिता केन्द्रका अध्यक्ष तथा नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष शिव गाउँलेले लुकेका र लुकाएका कुराहरु सार्वजनिक पदमा रहेका व्यक्तिमाथि प्रश्न तेर्साउनुपर्ने बताए । उनले सञ्चारमाध्यम सरकारको प्रवक्ता नबनी सरकारलाई प्रश्न गर्नुपर्ने बताए । उनले भने, 'परम्परागतथ मिडियाको शैलीका कारण रेडियोका श्रोता घटे, दैनिक पत्रिकामा कुपोषण लाग्यो, टेलिभिजन हेर्ने सामाजिक सञ्जालमा लागेकाले पत्रकारितामा चुनौती बढेको छ ।'

पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु निष्ठुरीले पत्रकारहरु दोहारो चरित्रमा बसेर पत्रकारिता गर्दा निष्पक्ष पत्रकारिता हुन नसक्ने दावी गरे । उनले राजनीतिक दलको क्याडर बनेकाहरुले पत्रकारिताको कुरा गर्न सुहाउँदैन भन्दै पत्रकारको संख्या बढे पनि उनीहरुको गुणस्तरमा वृद्धि हुन नसक्दा समाजले खोजेको पत्रकारिता हुन नसकेको बताए ।

वरिष्ठ पत्रकार मोहन मैनाली पत्रकारिताको लागि आवश्यक कुराहरुको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । उनले खोजी पत्रकारिताको बाटोमा जानुको विकल्प नरहेको बताए । नागरिक दैनिक प्रदेश ५ प्रमुख रेखा भुसालले मोफसलमा बसेर बिट पत्रकारिता गर्न अप्ठ्यारो भएको बताइन । उनले कतिपय अवस्थामा आयोजकले केही कार्यक्रममा एउटै समुहलाई बोलाउने र त्यो कार्यक्रममा गएका पत्रकारले सबै सञ्चारमाध्यममा एउटै समाचार पठाउने गर्नाले कपि पेष्ट जस्तो देखिएको बताए ।

लुम्बिनी न्युज फेस्टीभलको पुर्व सन्ध्यामा लुम्बिनीमा सम्पादक तथा उद्योगी ब्यवसायी बिच अन्तरक्रिया भएको छ । लुम्बिनी प्रेस क्लवले आयोजना गरेको लुम्बिनी न्युज फेस्टीभलको पुर्व सन्ध्यामा शनिवार सम्पादक तथा उद्योगी ब्यवसायी बिच अन्तरक्रिया भएको हो ।    

देशभर बाट मुलधारका सम्पादक तथा प्रदेश ५ का प्राय सबै जिल्लाबाट सञ्चारकर्मीहरुको सहभागिता रहेको फेस्टिवलमा बोल्दै प्रमुख अतिथी प्रदेश ५ का उद्योग, पर्यटन तथा वाताबरण मन्त्री लिला गिरिले सरकारले गरेका सहि कामको बारेमा संचारमाध्यमले खुलेर लेख्न नसकेको गुनासो गरे । गिरीले सञ्चारमाध्यमले ततस्थ भएर समाचार लेखिदिनु पर्नेमा कतिपय समाचारहरु बङ्ग्याएर आउने गरेको वताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पुर्व अध्यक्ष शिव गांउलेले पत्रकारहरुको काम हल्ला गर्ने भएकोले पत्रकारले हल्ला नगरेर सेवा गरे समस्या आउने बताउनु भयो । यस्तै महासंघका पुर्व अध्यक्ष बिष्णु निष्ठुरीले पत्रकारहरु स्वतन्त्र हुन सके पत्रकारिता राम्रो हुने वताए ।

अन्तरक्रियामा उद्योगी ब्यवसायीहरुले सञ्चार माध्यमहरुले सधैं उद्योगी ब्यवसायीलाई दोषी बनाएर समाचार बनाउने गरेको गुनासो गरेका छन् । क्लबका अध्यक्ष दिपेश पछाईको अध्यक्षता, उपाध्यक्ष नरेश के.सी.को स्वागत तथा महासचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले न्यूज फेस्टिबलको उद्धेश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा देशभरीबाट ३ सय पत्रकारहरुको सहभागिता रहेको फेस्टिबलका सूचना तथा सञ्चार उपसमिति संयोजक रबिन्द्र प्रताप गुप्ताले बताए । महोत्सवमा पत्रकारिता सम्बन्धि विभिन्न विषयमा छलफल तथा अन्तरक्रिया हुनेछ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved