जो टुटल र पठाओमाथिको प्रतिबन्धले खुसी छन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2019 | 08:49:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौं र उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजले टुटल, पठाओ, सरर र निजी कारहरुले ट्याक्सीजस्तै ओसारपसार गर्नेमाथि सरकारले लगाएको प्रतिबन्ध जायज रहेको टिप्पणी गरेको छ । 

मंगलबार राजधानीमा पत्रकार सम्मलेन गरेर उनीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको भन्दै सरकारको उक्त कदमप्रति आफूहरुको पूर्ण साथ र समर्थन रहेको पनि उनीहरुको भनाई छ । 

अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका अध्यक्ष दुर्गा श्रेष्ठले राज्यले पछिल्लो समय अवैधानिक सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज रहेको बताए । उनले भने,‘सरकारको यो कदम देखावटी नभईकन दिर्घकालिन रुपमा समस्या समाधानको निम्ति प्रेरणदायी बनोस् । विधि र कानूनी शासनलाई सबैले आत्मसात गर्नुपर्छ ।’ 

नेपाल भ्रमण वर्ष–२०२० लाई सफल तुल्याउनको लागि ट्याक्सी चालकहरुको भूमिका के हो ? र राज्यले आफूहरुलाई हेर्ने दृष्टिकोण के हो ? भन्दै उनले प्रश्न गरे । उनले भने,‘हामीलाई पनि सरकारले नेपाल भ्रमण वर्ष सफल तुल्याउने महाअभियानमा भूमिका दिनुपर्छ । साथसाथै, अहिले रहेको भाडादर प्रणालीले स्वदेशी तथा विदेशी पर्यटकहरुलाई हामीले सेवा दिन सक्दैर्नौं । सरकारले वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्छ । यसतर्फ सरकारको बेलैमा ध्यान जाओस् ।’ उनले भाडा समायोजन नभए र अवैध सवारीसाधनले सेवा सुचारु गरे आफूहरुले भ्रमण वर्षलाई असहयोग गर्ने पनि चेतावनी दिए । 

कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय महासचिव पूर्ण तामाङले विधिको शासनअनुसार सबै चल्नुपर्ने धारणा राखे । उनले भने,‘टुटल, पठाओ र सरर अवैध रुपमा चलेका छन् । निजी प्रयोजनका सवारीहरुपनि यात्रु ओसारपसारमा लागिरहेका छन् । यो कार्यलाई सरकारले तत्काल बन्द गर्नुपर्छ । हामीले धेरै लामो समयदेखि यसबारेमा ध्यानाकार्षण गराउँदै आएका छौं । हामीसँग सरोकार राख्ने हरेक निकायमा ज्ञापनपत्र बुझाएका छौं ।’ 

सरकारले पछिल्लो समय चालेको कदम स्वागतयोग्य रहेको उनको भनाई छ । तर, आफूहरु प्रविधिको विरोधी नभएको उनको स्पष्टोक्ति थियो । उनले भने,‘टुटल, पठाओ र सररजस्ताको अवैध धन्दा बन्द हुनुपर्छ । उनीहरु विधिमा आउनुपर्छ ।’ उनले देशका कार्यकारी प्रमुख प्रधानमन्त्री केपी शर्मा ओलीले टुटल, पठाओ, सरसरलाई केही अवैद्य सम्पत्ति आर्जन गर्ने व्यक्तिहरुको स्वार्थ पूरा गराउनको लागि चल्न दिने भनेर मौखिक निर्देशन दिएकोमा भने आपत्ति जनाए । 

उनले भने,‘प्रधानमन्त्रीको यो अभिव्यक्ति र कदम आपत्तिजनक छ । यसले कानूनी राज्यको उपहास भएको छ । म सम्माननीय प्रधानमन्त्रीज्यूलाई यहीँबाट प्रश्न गर्न चाहन्छु–तपाई कानूनअन्तर्गत प्रधानमन्त्री हुनुभएको हो, तर तपाईले अहिले त्यही कानूनलाई कुल्चिनुभयो । मुलुकको कार्यकारी प्रमुखबाटै सुझबुझबिना यस्तो गलत र गैरकानूनी निर्देशन दिनु लज्जास्पद छ ।’

कार्यक्रममा अखिल नेपाल यातायात मजदुर संघ ट्याक्सी विशेष जिल्ला समिति काठमाडौंका जिल्ला ईन्चार्ज सुर्य तामाङले पनि सरकारले अवैध सवारीसाधनमाथि लगाएको प्रतिबन्ध जायज भएको बताए । उनले सरकारले अवैध सवारीसाधनलाई नियन्त्रण तथा प्रतिबन्ध नलगाए आफूहरु प्रतिवादमा उत्रिने चेतावनी दिए । 

उनले भने,‘सरकारको पछिल्लो निर्णयविरुद्ध भोलि टुटल, पठाओ र सररले विरोध तथा शक्ति प्रदर्शन गर्ने भन्ने सूचना आएको छ, यदि राज्यले उनीहरुलाई नियन्त्रण नगरे हामी पनि उनीहरुको विरुद्धमा शक्ति प्रदर्शन गर्न तयार छौं । राज्यले यसप्रति बेलैमा सचेतता अपनाओस् ।’

त्यस्तै, कार्यक्रममा उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय अध्यक्ष सानु पूर्वछानेले टुटल, पठाओ र सररले भोलि गर्ने विरोध प्रदर्शनको विरुद्धमा आफूहरु कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । उनले टुटल, पठाओ, सरर र निजी सवारीसाधनले कर नतिरी आयआर्जन गरेको कडा आपत्ति जनाए । 

उनले भने,‘हामी विधि र विधानअनुसार चल्दै आएका छौं । राज्यले हामीलाई चाहीँ २७ थरीको दोहोरो कर लगाएको छ । वि.स. २०६९ देखि अहिलेसम्म पनि भाडा समायोजन गरेको छैन् । हामी ठूलो पीडामा छौं । तर, टुटल, पठाओ र सररलाई आफूखुशी भाडा तोक्ने अधिकार कसले दियो ? यो त दिउँसै लुट हो ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved