प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो आदेशमा सप्तरीमा हुन गैरहेको मुसलमान समुदायको धार्मिक सम्मेलन 'इज्तेमा' माथिको गृह मन्त्रालयको प्रतिबन्ध हटेको छ।
सप्तरीको बोदेवरसाइन नगरपालिका–५ जाजरमा इज्तेमा गर्नलाई गृहले प्रतिबन्ध लगाएको केही घण्टा वित्न नपाउदै प्रधानमन्त्रीले प्रतिबन्ध हटाउन निर्देशन दिएका हुन्। मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले प्रधानमन्त्रीसँग भेटगरी प्रतिबन्ध तत्काल हटाउन अडान लिएपछि प्रतिबन्ध हटाउन र शान्तीपूर्ण तरिकाले इज्तेमा सम्पन्न गराउन प्रधानमन्त्रीले गृह मन्त्रीलाई निर्देशन दिएका हुन्।
गृहले अनुमति प्रदान गर्दा दिएको सर्त बमोजिम नै सम्पन्न हुने र इज्तेमाको सम्पूर्ण जिम्मेवारी आयोगले लिन तयार रहेको जानकारी गराएपछि प्रधानमन्त्रीले इज्तेमा माथिको प्रतिबन्ध हटाउन गृहलाई निर्देशन दिएको अध्यक्ष अन्सारीले जानकारी दिए।
प्रधानमन्त्री र गृहमन्त्री रामबहादुर थापा बादलसँग भेटगरि आफुले शान्तिपूर्ण तरिकाले इज्तेमा सम्पन्न हुने बिश्वास दिलाएपछि प्रतिबन्ध हटाउन निर्देशन भएको उनले बताए ।
इज्तेमाको लागि गृहले अनुमति दिँदा अघि सारेका सर्तहरुको आयोजकले पालना नगरेको कारण कार्यक्रममा रोक लगाइएको भने गृहका प्रवक्ता केदारनाथ शर्माले दिएको अभिव्यक्तिमा कुनै सत्यता नरहेको गृह मन्त्रीले प्रधानमन्त्रीलाई जानकारी गराए। इज्तेमा यहि फागुन ३, ४ र ५ गते हुन गैरहेको छ।