बिजपाटी सम्बाददाता     Feb 28, 2020 | 12:24:46 PM


नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा पार्टीका उपाध्यक्ष वामदेव गौतम नै मनोनीत हुने बताएका छन् । प्रेस सङ्गठन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीले गौतमलाई नै सिफारिस गर्ने बताए ।

पत्रकारको प्रश्नमा उनले भने , “प्रधानमन्त्रीले सिफारिस नगर्ने कुरा म कल्पनासम्म पनि गर्दिन उहाँले गर्नुहुन्छ । मैले त्यति बुझेको हो ।” प्रधानमन्त्रीले गौतमलाई सिफारिस गर्नुभएन भने के हुन्छ भन्ने अर्को प्रश्नमा उनको जवाफ थियो– “म अहिले त्यतातिर जानै चाहान्न । मलाई विश्वास छ उहाँले पार्टीको सचिवालय समितिको बैठकले सर्वसम्मत गरेको निर्णयलाई अवज्ञा गर्नुहुन्छ भनेर म कल्पना पनि गर्न सक्दिन । कसैले पनि सक्दैनन् ।”

आफू र प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मतरुपमा गौतमलाई सिफारिस गर्ने निर्णय भएको दाहालको भनाइ थियो । अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने नभएको भन्दै उनले छ महिनाका लागि राष्ट्रियसभामा नगएर डा युवराज खतिवडा अर्थमन्त्री हुनसक्ने बताए ।

संविधान संशोधन गरेर प्रधानमन्त्री हुने भए मात्र राष्ट्रियसभामा जाने उपाध्यक्ष गौतमको सर्त भने गएको सचिवालय बैठकबाट हटेको दाहालको भनाइ थियो । उनले संविधान संशोधन एउटा प्रक्रियामा अघि बढ्ने जानकारी दिए ।

उपाध्यक्ष गौतम सिफारिसका लागि व्यवसायीसँग बैठक बसेको भन्ने भनाइ कपोलकल्पित हल्ला मात्र भएको उनले बताए । दाहालले भने “त्यो नियोजित, भ्रामक र कपोकलल्पित छ । त्यस्तो कहीँ बैठक वा डिनर भएको कसैले प्रमाणित गरिदियो भने म त्यसलाई बधाई भन्छु ।”

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका