कोरोनाको प्रभाव सौराहाका होटेलमा, कर्मचारीलाई बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2020 | 01:05:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको डरले पर्यटक आउन छाडेपछि सौराहाका होटल व्यवसायीले कर्मचारीलाई बिदा दिन थालेका छन् । गत वर्ष यतिबेला ९० प्रतिशत हाराहारी होटलका कोठा बुकिङ हुने गरेकोमा अहिले १५ देखि २० प्रतिशत हाराहारीमा मात्र पर्यटक रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईले बताए । 

होटलमा पर्यटक नभएपछि कर्मचारीको काम नहुने भएकाले  होटलले ५० प्रतिशतसम्म कर्मचारीलाई बिदा दिएका छन् । एउटै होटलमा १० देखि ७० जना सम्म कर्मचारी छन् । अन्य होटलले बिदा दिने तयारी गरिरहेका छन् । कर्मचारीलाई काम नभए खुवाउन र बसोबासको व्यवस्था गर्दा थप खर्च आउने भएकाले होटलले कर्मचारीलाई आधा तलब दिने गरी बिदा गरेको हो । 

होटल व्यवसायिका अनु्सार ‘अहिले केही मात्रामा युरोपियन, भारतीय र नेपाली पर्यटक मात्र छन् ’ यसअघि भएका सबै बुकिङ रद्द भएका छन् । 

सौराहाका होटलले १० वर्ष अघिसम्म वर्षात्को समयमा पर्यटक नआएपछि जेठदेखि साउनसम्म कर्मचारीलाई बिदा दिने गरेका थिए । पछिल्ला वर्षमा त्यस्तो समस्या नभए पनि अहिले समस्या देखिएको भट्टराईको भनाइ छ । 

सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरे आउँदो महिना व्यवसायीले बैंकको ऋण र किस्ता तिर्न सक्ने अवस्था नरहेको बताए । यकिन तथ्याङ्क नभए पनि सौराहाका ११५  होटल बनाउन रु आठ अर्बभन्दा बढी लगानी भएको घिमिरेको ठम्याई छ । यो लगानी जग्गा बाहेकको हो । सोही हाराहारी बैंकको ऋण भएको घिमिरे बताउछन् । 

व्यापार हुन नसक्दा त्यसको किस्ता र ब्याज तिर्ने सम्भावना नदेखिएको उनको भनाइ छ । ऋण ब्याज मिनाहाभन्दा पनि व्यवसायीलाई थप समय दिनुपर्ने घिमिरेले माग गरेका छन् । उनले भने व्यापार ठप्प भएपछि बैंकको कालोसूचीमा पर्ने चिन्ता व्यवसायीमा छ । सौराहामा सबैभन्दा बढी पर्यटक आउने चीन कोरोनाबाट प्रभावित छ । यसअघिका पर्यटकको समेत चीनका ट्राभल एजेन्टले भुक्तानी गर्न नसकेको व्यवसायीको भनाइ छ ।  

सौराहामा द्वन्द्वकालसँगै भूकम्प र नाकाबन्दीको समयमा पनि व्यापारमा घटेको थियो अहिले त्योभन्दा बढी प्रभाव देखिने अवस्था आएको व्यवसायी बताउँछन् । त्यतिबेला आन्तरिक पर्यटक आए पनि अहिले  सरकारले धेरै मानिस जमघट हुने सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम नगर्न अनुरोध गरेकाले नेपालीसमेत बाहिर निस्कन डराएको घिमिरे बताँउछन् । 

कोरोनाको प्रभाव होटलमा देखिएपछि यसले अन्य क्षेत्रमा पनि नराम्रो असर पु¥याएको सरोकारवाला पक्षको भनाइ छ । पर्यटकबाट आश्रित साना ठूला होटल, रेष्टुराँ, पसल, डुङ्गा, हात्ती, जीप, पर्यटक बसजस्ता पर्यटन व्यवसाय प्रभावित भएका छन् । जसबाट सरकारको राजश्वमा पनि प्रभाव देखिने भएको छ । यससँगै कुखुराको मासु र अण्डाको खपत घटेपछि मूल्यमा गिरावट आउन थालेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved