महेश न्यौपाने    Apr 06, 2020 | 12:13:18 PM


tansen

रोल्पाका  दशमध्ये चार स्थानीय तहले कोरोना विरुद्ध कोष  स्थापना गरेका छन् । जिल्लाको रुन्टीगढी, सुनिल स्मृती, माडी र थवाङ  गाउँपालिकाले उक्त  कोष स्थापना गरेका हुन्  । 

कोरोनाको संक्रमण वढ्दै जान थालेपछि  सचेतनामुलक कार्यक्रममा जोड दिएका उनीहरुले  कोरोना  विरुद्ध कोष स्थापना गर्न थालेका हुन् । कोरोना रोकथाम पूर्वतयारी तथा कोरोनाको महामारी नियन्त्रणमा कोष परिचालन गरिने  उनीहरुले वताएका छन् । 

रुन्टीगढी गाउँपालिकाले ६७ लाख ५० हजारको कोरोना रोकथाम तथा नियन्त्रण विशेष कोष स्थापना गरेको छ । कोषमा गाउँपालिकाले ३० लाख विनियोजन गरिसकेको छ भने  वाँकी रकम वडाहरुले व्यहोर्ने भएका छन । चालु आर्थिक वर्षमा विनियोजित वजेट मध्ये शिर्षक संशोधन गरि गाउँपालिकाले सो कोष स्थापना गरेको हो । कोषमा विपद व्यवस्थापन कोषवाट ४ लाख, प्राकृतिक विपद कोषवाट ३ लाख, सिप विकास, जनचेतना तालिमवाट १० लाख, उद्धार विपद व्यवस्थापन कोषवाट ३ लाख र उद्योग विकास कार्यक्रमवाट १० लाख शिर्षक संशोधन गरि व्यवस्थापन गरिएको छ  । सो कोषमा गाउँपालिकाका ९ वटा वडाहरुले ३७ लाख ५० हजार जम्मा  गर्ने भएको गाउँपालिकाका नायव सुव्वा दीपक डीसीले जानकारी दिए  । 

सुनिल स्मृती गाउँपालिकाले विपद व्यवस्थापन कोषको रुपमा ४० लाखको कोष स्थापना गरेको छ । उक्त कोषमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षले ७/७ हजार र वडाध्यक्ष तथा कार्यपालिका  सदस्यले ५/५ हजारका दरले  रकम जम्मा गर्ने भएका छन् । वडा सदस्यहरुले २÷२ हजार र  अधिकृत स्तरका शिक्षक कर्मचारीहरुवाट ५ दिनको तलव तथा सहायक स्तरका शिक्षक कर्मचारीले आफ्नो ३  दिनको तलव सो कोषमा जम्मा गर्ने भएका छन् । 

माडीगाउँपालिकाले कोरोना राहात कोष खडा गरेको छ । उक्त  कोषमा हाल ३५ लाख जम्मा गर्ने  गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सुचना  अधिकारी राजकुमार यादवका अनुसार अन्य कार्यक्रमवाट रकम कटौती गरि उक्त  कोष स्थापना गरिएको हो । कोषको रकम कोरोना रोकथाम, नियन्त्रण  एवम राहातमा खर्च गरिने छ ।

जिल्लाको थवाङ गाउँपालिकाले कोरोना आपतकालिन कोष स्थापना गरेको छ  ।  कोषमा गाउँपालिकाले ५  हजार रुपैयाँ  जम्मा गरेको छ । यसैगरि गाउँपालिका अध्यक्ष , उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले ५/५ हजार जम्मा गरेका छन । कोषमा थवाङ  गाउँपालिकामा कार्यरत कर्मचारीहरुले १ महिनाको पारिश्रमिकको १० प्रतिशत रकम जम्मा गर्ने भएका छन । कोषमा अन्य जनप्रतिनिधि, स्थानीय व्यापारी  र सर्वसाधारणले  समेत रकम  जम्मा गर्ने अपेक्षा गरेका छौ स्वास्थ्य संयोजक तुलवहादुर पुनले भने । 

कोरोना विरुद्ध खट्नेलाई बीमा र अतिरिक्त भत्ता

कोरोना नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारी,  स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुलाई रुन्टीगढी गाउँपालिकाले बीमा र थप भत्ता दिने घोषणा गरेको छ । गाउँपालिकाको  निर्णय  अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथाममा खट्ने कर्मचारीहरुलाई ५ लाखको जोखिम बीमा गरिएको छ  । 

यसैगरि कोरोना भाइरस नियन्त्रण अभियानमा गाउँपालिका अन्तर्गत खटिएका कर्मचारीहरुलाई खाईपाइ आएको तलव सुविधामा अतिरिक्त प्रोत्साहन रकम भुक्तानि दिने भएको छ ।  जस अनुसार कोरोना नियन्त्रण र रोकथामा खटिने स्वास्थ्यकर्मीले खाइपाइ आएको तलव सुविधामा ७५  प्रतिशत अतिरिक्त  सुविधा पाउने छन् । सोही  प्रयोजनमा खटिने कर्मचारी, सुरक्षाकर्मी र नगर प्रहरीहरुले खाईपाइ आएको तलव सुविधामा ५० प्रतिशत थप सुविधामा पाउने छन् । स्वास्थ्यकर्मी, कर्मचारी र  सुरक्षाकर्मीको कोरोना विरुद्ध खट्दा उच्चमनोवलका साथ काम गरुन भनेर उक्त  थप सुविधा  दिइएको गाउँपालिकाका  नायव सुव्वा दिपक  डीसीले वताए  । गाउँपालिकाले दिने  यो  सुविधा  संघीय र प्रदेश सरकारले उपलव्ध गराउने सुविधाको अतिरिक्त सुविधा  हो डीसीले भने ।  विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि उनीहरुले जोखिम मोलेर दिनरात खट्ने भएकाले यस्तो  सुविधा दिएको गाउँपालिकाले जनाएको छ । 

Share your thoughts!

महेश न्यौपाने