वाग्मती प्रदेशभित्र प्रवेश गर्नेलाई स्यानिटाइज गर्न निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2020 | 06:48:29 PM मा प्रकाशित

laxmi  sunrise bank

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विभिन्न नाकाबाट वाग्मती प्रदेश प्रवेश गर्ने जो कोहीलाई पनि अनिवार्यरुपमा स्यानिटाइज गर्न निर्देशन दिएका छन् । 

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश नं २ बाट वाग्मती प्रदेशको राजधानी हेटौँडा भित्रिने यात्रुलाई स्यानिटाइज गर्न हेटौँडा उपमहानगरपालिकाले जडान गरेको स्वचालित स्यानिटाइजर मेशिनको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले उक्त काम स्थानीय तहले गर्नुपर्ने र प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले स्यानिटाइजरका लागि स्वचालित मेसिन प्रभावकारी हुने बताए। मुख्यमन्त्री पौडेलले प्रदेशका अत्यावश्यक सेवा दिनुपर्ने विभिन्न स्थानमा तत्काल यस्तै स्वचालित उपकरण जडान गरिने उल्लेख गरे।

वडा नं १५ रातोमाटेमा जडान गरिएको अटोमेटिक स्यानिटाइजर मेशिनको मुख्यमन्त्री पौडेलले आजबाटै शुरुआत गरेका हुन् ।  उक्त मेशिनको प्रयोग गरेर पूर्वपश्चिम राजमार्गबाट रातोमाटे हुँदै हेटौँडा प्रवेश गर्ने यात्रु, चालक, सहचालकलगायतलाई अनिवार्यरुपमा स्यानिटाइज गरिने जनाइएको छ । एक पटकमा चार जनासम्मलाई स्यानिटाइज गर्न सकिने भए पनि भौतिक दूरी कायम गरी स्यानिटाइज गरिने उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीले जानकारी दिए । 

नेपाल युवा उद्यमी मञ्च चितवनले उत्पादन गरेको उक्त स्वचालित स्यानिटाइजर उपकरण २०० लिटर क्षमताको रहेको र दुई हजारलाई स्यानिटाइज गर्न सकिने जनाईएको छ । उपकरणको मूल्य रु एक लाख ६० हजार पर्ने बताइएको छ । आफूहरुले निर्माण गरेको स्वचालित स्यानिटाइजर मेसिन प्रभावकारी रहेको र चितवनमा पनि यो प्रविधि जडान गरिएको उत्पादक संस्था नेपाल युवा उद्यमी मञ्चले जानकारी दिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved