प्रहरीलाई सामाजिक दूरी कायम गर्न निकै गाह्रो

रासस

रासस

May 02, 2020 | 04:15:03 PM मा प्रकाशित

laxmi  sunrise bank

“सामाजिक दूरी कायम गरेर काम गर्न प्रहरीलाई निकै गाह्रो छ , आफन्तहरु नै बरु लडेको मान्छे उठाउन जाँदैनन् तर प्रहरी आएर उद्धार गरोस् भन्छन्”, कास्की, पोखराका प्रहरी हवलदार गौतम श्रेष्ठले भने,  “केही दिनअघि एक मान्छे लडेको खबर आयो,  मुखबाट रगत आइरहेको थियो तर उनलाई उठाउन कोही गएनन्, प्रहरीले नै उठाउनु पर्याे, भीडभाडबाट जोगिन र आफूलाई सुरक्षित राख्न निकै मुश्किल छ , प्रहरीको कर्तव्यले आफ्नो सुरक्षालाई नै बिर्साउँछ ।”  

 अग्रमोर्चामा रहेर सेवा प्रवाह गर्ने प्रहरी भीडभाडबाट जोगिन भनेजस्तो सहज नभएको उनको अनुभव छ । श्रेष्ठ भन्छन्, “प्रहरी स्वयम्मा शान्ति र अमनचयनको अनुभव एकदम कम हुन्छ, आफूलाई बिर्सन्छौँ नागरिकको सुरक्षा पहिलो कर्तव्य सम्झन्छौँ ।” 

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्की राज्यले प्रहरी संगठनलाई शान्तिसुरक्षा र अमनचयनलगायत बहुआयामिक जिम्मेवारी सुम्पेकाले कठिन अवस्था भन्न नमिल्ने बताउछन् ।  “हाम्रो जिम्मेवारी नै कठिन छ, विभिन्न घटनाक्रमको अग्रमोर्चामा प्रहरी रहनुपर्छ, अहिलेको अवस्था केही फरक हो तर प्रहरीका लागि नौलो भने होइन । हामी टेन्सन मुक्त कहिल्यै हुँदैनौँ, नागरिकको अपेक्षा प्रहरीप्रति निकै धेरै हुन्छ । कसैले नसकेका सबै कुराको जिम्मा हामी माथि आउँछ, बाटोमा लत्रिएका बिजुलीका तार होस् या वनमा तस्करले छोडेका काठ होस्, अन्ततः प्रहरीलाई नागरिकले प्रश्न गर्छन्, प्रहरी कता छ रु”, कार्की भन्छन्, “अहिलेको विषम परिस्थितिमा पनि प्रहरी आफू र आफ्नो परिवार बिर्र्सेर कर्तव्य पालनमा लागेको छ ।”

 प्रहरी सेवाको २१ वर्षे दौडानमा विभिन्न द्वन्द्वलगायत राजनीतिक परिवर्तनदेखि मिसनमा रहेर काम गरेकाले उनी अहिलेको घटनाक्रम फरक भए पनि जोखिम भने सधैँ उस्तै रहेको अनुभव सुनाउछन् । कार्कीले कोरोना रोकथामका लागि प्रारम्भिक चरणमै जिल्ला प्रहरी कार्यालय परिसरमा हात धुने व्यवस्थासहित अन्य रोकथामका कार्य शुरु गरिएको बताए । “मैले प्रारम्भिक समयमै रोकथामको केही प्रक्रिया शुरु गरेँ तर पनि कार्यक्षेत्रमा खटिनुपर्ने र विभिन्न मानसिकता भएका व्यक्तिको व्यवहार झेल्नुपर्ने, समयमा खान नपाउने, सुरक्षा अपनाएर बस्न खोजे पनि सम्भव नहुने धेरै चुनौती प्रहरीलाई छ, जस्तो कठिन अवस्था भए पनि जिम्मेवारी नै काँधमा बोकेर हिँडेका प्रहरीले अहिले मानसिकता बलियो बनाएर काम गरेका छन् ।” 

बागलुङ जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट ‘क्राइसिस’मा परिवार बिर्सेर प्रहरीले सेवालाई प्राथमिकतामा राखेको बताउछन् । “हाम्रो पेशाले दिनरात, घामपानी केही भन्दैन, जहाँ अप्ठ्यारो र असहज हुन्छ हाम्रो उपस्थिति नागरिकले त्यही खोजेका हुन्छन् । अहिले पनि कोरोना सङ्क्रमणमा हामी लकडाउन पालना गराउनेदेखि शान्तिसुरक्षा कायम गर्न र अपराधजन्य क्रियाकलापमा रोक्न अभ्यस्त छौँ । कार्यक्षेत्रमा नै गएर काम गर्नुपर्ने मानिससँग दूरी कायम गर्न कतिपय अवस्थामा सहज हुँदैन, त्यसले गर्दा पनि अहिलेको अवस्था झन् जोखिम छ ।” हाल बागलुङमा तीन सय  प्रहरी रहेको र कार्यक्षेत्रको अग्रमोर्चामा खटिरहने प्रहरीलाई पिपिई उपलब्ध गराइएको उनले जानकारी दिए । 

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्याल कठिन अवस्था भए पनि जोखिम न्यूनीकरणको उपाय अवलम्बन गरेर जिम्मेवारी पूरा गरिरहेको बताउछन् ।  “यो बेला धेरै कुराको दबाब हुन्छ, नागरिकदेखि राज्यसम्म । विभिन्न वर्ग समुदायका मानिसहरुका आआफ्नै समस्या हुन्छन्, ती सबैलाई बुझेर जिम्मेवारी पूरा गर्न निकै कठिन हुन्छ । अहिले प्रहरी आफू कसरी जोगिनेभन्दा पनि कसरी लकडाउन पालना  गराउने, भीडभाड कम गराउने र कोरोना सङ्क्रमण हुन नदिनेमा केन्द्रित छ ”, उनले भने ।  नियम उल्ङ्घघन गर्नेलाई कानूनी दायरामा ल्याउन समात्नुपर्ने हुँदा  प्रहरीमा सङ्क्रमणको जोखिम हुने बताए। 

“को सङ्क्रमित छ थाहा हुदैन, यदि अपराधमा संलग्न छ या नियम उल्लङ्घन गरेको छ भने उसलाई नियन्त्रणमा लिनै पर्याे, मौखिक निर्देशन नमान्न सक्ने अवस्था पनि हुन्छ, यस्ता धेरै अवस्थामा प्रहरी जुधेको हुन्छ ।”  उनले बाहिर सोचे जस्तो प्रहरीलाई कार्यक्षेत्रमा रहेर कर्तव्य पूरा गर्न निकै गाह्रो हुने बताए।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved