सीमा विवादबारे संसदमा सङ्कल्प प्रस्ताव दर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 06:48:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काँग्रेसले भारतसँगको सीमा विवादबारे संसदमा सङ्कल्प प्रस्ताव दर्ता गरेको छ । कांग्रेसले कालापानी क्षेत्रको सीमा विवाद लामो समयदेखि दुवै देशबीच वार्ताको क्रममा रहेको र दुवै देशले त्यस क्षेत्रलाई विवादित मानेर वार्तामा रहेकै अवस्थामा भारतले सो स्थानमा एकतर्फी रुपमा सडक निर्माण गरेको घटनाका सम्बन्धमा प्रस्ताव दर्ता गरेको हो ।

सो भूभागका सम्बन्धमा भारतले एकतर्फी रुपमा आफ्नो राजनीतिक नक्सा प्रकाशित गरी उक्त कालापानीलगायत लिपुलेक र लिम्पियाधुरासमेत नेपाली भूभाग आफ्नोतर्फ गाभेको तथा हालै नेपालको कालापानी क्षेत्रको गुंजी हुँदै चीनको मानसरोवर जाने लिफु भन्ज्याङ्गसम्मको सडक निर्माण गरी उद्घाटनसमेत गरेको घटनाबाट यो विषय थप गम्भीर र सम्वेदनशील बनेको काँग्रेसले जनाएको छ ।

यसै विषयमा गत कात्तिक २३ गते प्रधानमन्त्रीको सरकारी निवासमा सम्पन्न सर्वदलीय सर्वपक्षीय सर्वसम्मत निर्णय र निर्देशनअनुसार थप गम्भीरतापूर्वक अविलम्ब पहल गर्न, कात्तिक २६ मा राज्य व्यवस्था तथा सुशासन समितिले गरेको सर्वसम्मत निर्णय र निर्देशन अनुरुप, नेपालको नक्शा प्रकाशन गर्ने समेतका लागि उक्त सूचना दिइएको हो ।

काँग्रेस सांसदहरु दिलेन्द्रप्रसाद बडू, मिनबहादुर विश्वकर्मा, रामबहादुर विष्ट र प्रकाश रसाइली (स्नेही) ले आज दर्ता गराएको प्रस्तावमा उपरोक्त विषयमा सरकार उदासीन रहेको देखिएको भन्दै तत्काल चीन सरकार र भारत सरकारसँग उक्त सम्झौता रद्द गर्न अविलम्ब कूटनीतिक पहल गर्दै निर्णायक वार्ता गर्नुपर्ने आवश्यकता उल्लेख गरिएको छ । परराष्ट्र मन्त्रालयसँग सम्बन्धित प्रस्तावमा प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन सार्वजनिक गर्ने गराउने कार्यसमेतका लागि नेपाल सरकारलाई निर्देशन गर्न सङ्कल्प पेश गर्ने अनुमतिका लागि सूचना दिइएको उल्लेख छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved