संविधान सशोधन विधयेक संसदमा दर्ता, यस्तो छ अबको प्रकिया

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2020 | 08:57:06 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको संविधानको अनुसूचीमा हाल कायम रहेको निशानछापमा अद्यावधिक नेपालको नक्सा समावेश गर्ने उद्देश्यले सङ्घीय संसद् सचिवालयमा आज नेपालको संविधान (दोस्रो सशोधन) विधेयक २०७७ दर्ता भएको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सरकारले मङ्गलबार सार्वजनिक गरेको नेपालको वास्तविक सीमाअनुरुपको नक्सालाई उक्त निशानछापमा समावेश गर्न संविधान सशोधन विधेयक दर्ता गरेको हो । उक्त विधेयक कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङफे संसद् सचिवालयमा गएर दर्ता गराएकी हुन् ।

विधेयकको उद्देश्य र कारणमा भनिएको छ, “निशानछापभित्र अङ्कित नेपालको नक्सालाई वास्तविक सीमाअनुरुप मिलाउन आवश्यक भएकाले संविधानको अनुसूची ३ मा संशोधन गर्ने प्रयोजनका लागि संशोधन विधेयक पेश गरिएको छ ।”

भारतबाट अतिक्रमित नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भू–भाग समेटेर सरकारले हालै नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा स्वीकृत गरी प्रकाशन गरेको थियो । दर्ता भएको उक्त संशोधन विधेयक पाँच दिनमा प्रतिनिधिसभाको बैठकमा पेश हुनेछ । त्यसपछि जनताको जानकारीका लागि प्रकाशित गरिने छ । सभामा सामान्य छलफलपछि उक्त विधेयकमाथि संशोधन प्रस्ताव पेश गर्न समय प्रदान हुनेछ । विधेयकमाथि संशोधन प्राप्त भएमा छलफल गरी निर्णयार्थ प्रस्तुत गरिनेछ । संशोधनसम्बन्धी विभिन्न चरण पार गरेपछि दुई तिहाइ सांसदको हस्ताक्षरसहित उक्त विधेयक राष्ट्रियसभामा प्रवेश हुने छ ।

उक्त प्रक्रिया राष्ट्रियसभामा पनि सैद्धान्तिक छलफलबाट दोहोरिने संसद् सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए । विधेयकमाथि कुनै सशोधन प्रस्ताव परेन र सर्वसम्मत भएको खण्डमा छोटो प्रक्रिया र विधिबाट विधेयकलाई अझै छिटो समयमा पारित गर्न सकिने छ ।

विधेयक दुई तिहाइ आधारमा पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । विधेयक पारित भएपछि सभामुखले प्रमाणित गर्ने र राष्ट्रपतिबाट प्रमाणिकरण भएपछि लागू हुनेछ । निशानछाप आवश्यकताअनुसार ठूलो वा सानो आकारको बनाउन सकिने छ । त्यसमा नेपाल सरकारकातर्फबाट निर्धारित रङ्गको प्रयोग हुने संवैधानिक व्यवस्था छ । नेपालको संविधानको अनुसूची ३ मा निशानछापसम्बन्धी व्यवस्था छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved