११ हजार बढी काभ्रेली विदेशमा, जिल्लामा क्वारेन्टिन थप्ने तयारी

रासस

रासस

May 23, 2020 | 10:08:34 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको छ । सरकारले विदेशबाट नेपाली नागरिक स्वदेश फर्काउने तयारीसँगै जिल्लास्तरीय सङ्कट व्यवस्थापन केन्द्रले विदेशिएकाहरू घर फर्किए अनिवार्य क्वारेन्टिनमा राख्नपुर्ने जनाउँदै क्वारेन्टिनको थप्ने योजनामा जुटेको छ ।

काभ्रेपलाञ्चोकका १३ स्थानीय तह तथा संस्थामा ३४२ शैयाको क्वारेन्टिन व्यवस्थित छन् । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि व्यवस्थित गरिएका अधिकांश क्वारेन्टिन हाल रित्तिएका छन् । पाँचखाल नगरस्थित क्वारेन्टिनमा चार, धुलिखेल अस्पतालमा ११ र चौँरीदेउराली गाउँपालिकामा १७ जनाको हाल उपचार भइरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला कमाण्ड पोष्टले जनाएको छ । अन्य केही क्वारेन्टिनमा बसेकाको दोस्रो परीक्षण तथा क्वारेन्टिन बसाइको समयावधि सकिएपछि घर फर्किएका हुन् ।

जिल्लास्तरीय क्वारेन्टिन व्यवस्थित गर्ने तथा भइरहेको क्वारेन्टिन थप व्यवस्थित गर्दै शैया थप्ने तयारीमा जुटेको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “काभ्रेपलाञ्चोकका विदेशिएका नागरिक फर्किए क्वारेन्टिनमा राख्नपुर्ने भएकाले हामीहरू पूर्वतयारीमा जुटेका हौँ ।” स्थानीय तहमार्फत दोस्रोपटक लिइएको तथ्याङ्कमा भारतलगायत विभिन्न देशमा ११ हजार ५८७ काभ्रेपलाञ्चोकका नागरिक रहेको तथ्याङ्क प्राप्त भएको हो । जसमध्ये एक हजार १२५ भारतमा छन् ।

गत माघ महिनायता ४५१ विदेशिएका काभ्रेली घर फर्किएको पोष्टले जनाएको छ । जसमध्ये चैत महिनामा मात्रै २५१ घर फर्किएका हुन् । त्यतिबेला २७ देशबाट घर फर्किएका थिए भने भारतपछि दुवईबाट फर्कनेको सङ्ख्या अधिक थियो । यसअघि विदेशबाट घर फर्किएका सबैको कोरोना भाइरस सङ्क्रमण भए÷नभएको स्वास्थ्य परीक्षण भइसकेको पोष्टका सदस्य एवं जिल्ला स्वास्थ्य प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट घर फर्किएका केहीबाहेक सबैको स्वास्थ्य परीक्षण गरी होम क्वारेन्टिनमै बसाइएको हो । यससँगै जिल्लामा एक हजार ५१८ को आरडिटी तथा १७२ जनाको पिसीआर प्रविधिबाट परीक्षण भएको छ ।

हाल विदेशमा रहेका नागरिकमा पाँचखाल नगरका एक हजार ३२५, नामोबुद्धका एक हजार २१२, मण्डन देउपुरका एक हजार ३६९, धुलिखेलका ९९४, बनेपाका ७३१, पनौतीका ५६४ तथा चौँरीदेउराली गाउँपालिकाका एक हजार ८१, रोशीका ४९३, तेमालका ४१७, भुम्लुका ६३७, महाभारतका ५९७, खोनीखोलाका २१२ र बेथानचोक गाउँपालिकाका ८३० नागरिक छन् ।

केन्द्रले स्थानीय तहका प्रमुख, प्रतिनिधि एवं सरोकारवालालाई भेला गराएर सङ्क्रमित जिल्लाबाट आ–आफ्नो तहमा फर्कनेको पिसीआर परीक्षण गरेर मात्रै सम्बन्धित तहले बुझेर लैजाने सहमति गराएको छ । साथै जिल्ला सदरमुकाम धुलिखेल र प्रमुख शहर मानिएको बनेपामा तीन÷तीन सय शैयाको क्वारेन्टिन व्यवस्थित गरिने तथा अन्य तहमा शैया बढाइ १०० का दरले क्वारेन्टिन व्यवस्थित गरिने सहमति भएको हो ।

धुलिखेल र बनेपामा निर्माण गरिने जिल्लास्तरीय क्वारेन्टिनका लागि भने प्रत्येक नगरपालिकाले रु पाँच लाख र गाउँपालिकाले रु तीन लाख दिनुपर्ने सहमति भएको धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूले बताए । उनका अनुसार जिल्लास्तरीय क्वारेन्टिनमा रहेकाहरूको कुरुवाका लागि छुट्टै २५ शैयाको क्वारेन्टिन व्यवस्थित गरिनेछ । काभ्रेपलाञ्चोकमा छ नगरपालिका र सात गाउँपालिका छन् । यस्तै आठ शैयाको धुलिखेल अस्पतालमा ५० शैयाको आइसोलेसन कक्ष बनाइने तथा सोही अस्पतालमा हप्ताको दुई दिन मात्रै स्वाब सङ्कलन परीक्षण गर्दै आइएकोमा दैनिकरूपमा गर्ने तयारी भइरहेको जनाइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved