बुटवलमा महामारीविरुद्ध सबै उपाय अपनाउदै ज्यालादारीका काम सञ्चालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2020 | 10:48:46 AM मा प्रकाशित

laxmi  sunrise bank

बुटवल उपमहानगरपालिकाले महामारी विरुद्धको स्वनियम र सामाजिक अभियानलाई पालना गर्दै सुरक्षाका सबै उपाय अपनाउन आग्रह गरेको छ । उपमहानगरपालिकाले सार्वजनिक अपिल मार्फत र प्रमुखको नेतृत्वमा आफै अनुगमन गर्दै यस्तो आग्रह गरेको हो । 

विश्वव्यापी महामारीको रोकथामका लागि अहिलेसम्म औषधिसमेत पत्ता नलागेकाले विज्ञहरुले पनि सामाजिक दुरिसहित स्वानियममा बस्न जरुरी रहेकोमा जोड दिंदै आएका छन् ।

अत्यावश्यक काम परेपनि पूर्ण सुरक्षाको प्रवन्धसहित घरबाट निस्किन र सामाजिक दुरी कायम राख्न उपमहानगरले आग्रह गर्दै आएको छ । बुटवलमा मानिसको आवागमन धेरै हुने भएकाले उपमहानगरका प्रमुख शिवराज सुवेदी आफै अनुगमनमा निरन्तर खटिएका छन् ।

प्रदेशको अस्थायी मुकाम भएको, प्रदेश सरकारका मन्त्रालय, प्रादेशिक अस्पताल, कोरोना विशेष अस्पताल र आइसोलेशन सेन्टरसमेत यहीँ छ । यी संवेदनशील र अत्यावश्यक काम परिरहने क्षेत्र पनि हुन् । बुटवलले प्रदेशमै पहिलो कोरोना विशेष अस्पताल, क्वारेन्टाइन र आइसोलेशन सेन्टर निर्माण गरेको थियो ।

यस्तै बुटवलले क्वारेन्टाइनमा रहेकाहरुलाई योगा अभ्याससमेत गराउँदै आएको छ । बुटवल–१२, तामनगरमा रहेको क्वारेन्टाइन र कान्तिमाविमा रहेको क्वारेन्टाइनमा रहेकालाई योगाका जानकारहरुमार्फत योगा, ध्यान र विभिन्न आसनको अभ्यास गराइएको हो । 

यस्तै बैंक तथा वित्तीय संस्थाका विभिन्न तहका कार्यालयदेखि संसदसमेत यहीँ रहेको र दुई प्रमुख राजमार्गसमेत यहीँबाट जाने भएकाले बुटवलमा मानिसको आवागमन धेरै छ । उपमहानगरले समय तालिका नै निर्धारण गरेर सुरक्षित तरिकाले मात्रै त्यस्ता पशल तथा सञ्चालन गर्न आग्रह गर्दै आएको छ । 

अत्यावश्यक काम परेर हिंडडूल गर्नैपर्ने अवस्थाका मानिसलाई पनि कसरी सुरक्षित राख्ने र उपभोक्ताको जिउधन तथा स्वास्थ्यलाई पनि कसरी सृुरक्षित राख्ने भन्ने उद्देश्यले बुटवलले नियमित अनुगमन गरेको प्रमुख सुवेदीको भनाइ छ । उनले यहाँका किसानले उत्पादन गरेको तरकारीलाई सम्बन्धित वडा कार्यालयको सिफारिसमा उपभोक्ताको घरघरमा बिक्री वितरण गर्न पाउनेगरि व्यवस्थासमेत मिलाएको बताए । 

बुटवलले कृषिलाई प्रबद्र्धन गर्ने, किसानालाई प्रोत्साहन गर्ने र उपभोक्ताको स्वास्थ्यलाईसमेत विशेष चासो दिएर संवेदनशीलता देखाएको भन्दै उपभोक्ता अधिकारकर्मीले पनि सराहना गरेका छन् । उपभोक्ता हीत संरक्षण मञ्च प्रदेश ५ का सचिव दुर्गा गौतमले महामारीका बेलामा हुन सक्ने सानो–सानो जोखिमलाई पनि मध्यनजर गरेर सावधानी अपनाउन जरुरी रहेका बेलामा बुटवलले उदाहरणीय काम गरेको प्रतिक्रिया दिए । 

लकडाउनको समयमा प्रमुख सुवेदीले प्रहरी कार्यालयका अधिकारी, नगर प्रहरी, वडाअध्यक्ष, उपभोक्ता अधिकारकर्मी तथा सञ्चारकर्मीसमेतको सहकार्यमा नगरका विभिन्न स्थानहरुमा पुगेर अनुगमन गर्दै स्वनियमलाई पालना गर्न आग्रह गर्दै आएका छन् । 

‘एकातिर पूर्व–पश्चिम र उत्तर–दक्षिण सडक सञ्जाल, अस्पताल र औषधी पसलहरु, वित्तीय संघसंस्थाहरु, खाद्यान्न, दुध, तरकारीलगायत होलसेल पसलहरु, केन्द्र प्रदेश र स्थानीय सरकारका कार्यालयहरुलगायत अत्यावश्यक सेवालाई सञ्चालन गर्नुपर्ने छ’ उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जारी गरेको सार्वजनिक अपिलमा भनिएको छ–‘बुटवलले नै समग्र प्रदेशको अभिभावकत्व निर्वाह गर्ने र लकडाउनको पालना गर्दै नगरका नागरिकको सुरक्षाको समेत प्रबन्ध मिलाउनुपर्ने छ । यसैले सबैले स्वनियम पालना गरौं र गर्न लगाऔं ।’

सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका काम:

यसैबीच बुटवल उपमहानगरपालिकाले सुरक्षा प्रवन्धसहित दैनिक ज्यालादारीका कामसमेत सञ्चालन गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत छनौट भएका कामदारहरुलाई सुरक्षाका उपायसहित काममा खटाइएको छ । अहिले बुटवलका तीनवटा वडामा ७८ जनाले दैनिक ज्यालादारीका काम सुरु गरेको उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए । उनले उनीहरुलाई वडा तहबाट छनौट भएका काममा खटाइएको र सबैलाई स्वास्थ्य परीक्षण गरिएको बताए ।

वडा २ मा ४१ जना, वडा ७ मा छ जना र वडा नं. १० मा ३१ जना गरी जम्मा ७८ जनालाइ समावेश गर्दै दैनिक ज्यालादारीका काममा खटाइएको छ । उपमहानगरले यसअघि पनि वडा नं. १६ मा रहेको कपरकट्टी बैठौलिया तालको सरसफाई र केही संरचना निर्माणका लागि त्यसक्षेत्रकै बासिन्दालाई दैनिक ज्यालादारीका कामको व्यवस्था मिलाएको थियो । 

अहिले तीनवटा वडामा सुरु भइसकेको यो कार्यक्रम अरु वडामा पनि छिट्टै सुर गरिने प्रधानमन्त्री रोजगार कार्यक्रमका कार्यक्रम संयोजक अरविन्द्र पाण्डेले जानकारी बताए । उनका अनुसार आगामी आवका लागि पनि आवेदन माग गरिएको छ । 

यद्यपि लाकडाउनको कारण बेरोजगार सुचीकृतका काम प्रभावित भएका छन् । गत आर्थिक बर्षमा बुटवलमा छनौट भएका झण्डै एक हजार जना कामदारमध्येबाटै चालु बर्षमा यी वडामा काममा खटाइएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved