मेलम्चीको पानी परीक्षणको काम असारमै: मन्त्री मगर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 17, 2020 | 07:08:02 PM मा प्रकाशित

laxmi  sunrise bank

खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएकी छिन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै उनले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताइन्। उनले पानीको वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको जानकारी गराइन् । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने उनको भनाइ थियो । उनले भने, “पानी घरघरमा पुग्ने कुरामा शङ्का गर्नुपर्ने अवस्था छैन ।”

सो आयोजना समयमा सम्पन्न नहुँदा काठमाडौँवासी मात्रै नभएर सबै नेपाली निरास बनाएको उनको भनाइ थियो । आयोजना सञ्चालनका क्रममा थुप्रै प्रतिबद्धता जाहेर भए पनि विगतमा अन्योल र निरासा देखिएको उनको भनाइ थियो । आयोजना निर्माण भइरहँदा कहिले भूकम्प त कहिले ठेक्का तोड्नुपर्ने अवस्था र निर्माण मजदूरको आन्दोलन लगायतका समस्या आएको मन्त्री मगरले बताइन् । अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको उनको भनाइ छ । उनले भने, “सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ ।”

मन्त्रालयलाई भर्खर मात्रै क्वारेन्टिनमा खानेपानी र शौचालय, सरसफाइ निर्माणको जिम्मेवारी आएकाले त्यो कार्यान्वयनमा लागेको मन्त्री मगरले बताइन । अहिले आवश्यकतानुसार छिटोभन्दा छिटो कार्यान्वयन गर्न मन्त्रालय अघि बढ्ने उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ विधेयक सदनमा छलफलका क्रममा रहेको र यसै अधिवेशनबाट पारित हुने उनले विश्वास व्यक्त गरिन्। उनले सरकारले तय गरेको १५औँ योजनामा सबैमा खानेपानी पुग्ने लक्ष्य लिइएकामा आगामी आवको अन्त्यसम्म ९४ प्रतिशत आधारभूत खानेपानी पुर्याउने र ३२ प्रतिशतमा मध्यम तथा उच्चस्तरको स्तरको खानेपानी पु¥याउने गरी बजेट विनियोजन गरी सोही अनुसार कार्यक्रम कार्यान्वयन हुने बताइन् । 

मन्त्री मगरले सबै घरधुरीमा शौचालय पुगेर नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा भइसकेकाले अहिले यसको निरन्तरता स्थानीय तहले दिइरहेको बताइन् । तीनै तहको सरकारको समन्वयमा पूर्ण सरसफाइ उन्मुख कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम बनाइएको छ । प्रदेश र स्थानीय तहसँग योजना तथा कार्यक्रमसँग दाहोरोपना नहुने गरी मन्त्रिपरिषद्ले भौगोलिक विकटतालाई हेरेर तराईमा १५ हजार, पहाडमा पाँच र हिमाली क्षेत्रमा एक हजार जनसङ्ख्यासम्म लक्षित कार्यक्रम मन्त्रालयबाट सञ्चालन हुने निर्णय गरेको उनले बताइन् । त्यसभन्दा कम जनसङ्ख्या लक्षित कार्यक्रम प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुनेछ । 

विगतका अधुरा आयोजनामध्ये  क्रमागत आयोजनालाई निरन्तरता दिइएको उनको भनाइ थियो । खानेपानी चरम अभाव रहेका स्थानलाई प्राथमिकता दिएर क्षेत्रीय सन्तुलन मिलाइएको छ । मन्त्रालयले अभाव रहेका सुक्खा क्षेत्रमा ‘लक्षित जलवायु अनुकूलित बृहत् खानेपानी आयोजना’ सञ्चालन गरेको छ । 

मन्त्रालयले आगामी आवमा नयाँ कार्यक्रमअन्तर्गत जिल्ला सदरमुकाम, स्थानीय तहको प्रशासनिक केन्द्र, पहाडी तथा दुर्गम क्षेत्रका बजारमा लक्षित आयोजनाका लागि बजेट विनियोजन गरेको छ । ती आयोजना आगामी तीन वर्षमा सम्पन्न हुनेछन् । मध्यम तथा ठूला शहरमा चौबिस घण्टा पानी मिलाउने १४ मध्यम तथा ठूला शहरमा आयोजना  सम्भाव्यता अध्ययन भएको छ । यी आयोजनामध्ये आगामी आवमा पाँच आयोजनाको विस्तृत अध्ययन गरिने उनले बताइन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved