हरेक वर्ष भुम्या पुजाको भोली पल्ट अर्थात असार २ गते थवाङीहरु कट्वाल फेर्छन् । यो निकै पुरानो परम्परा भएपनि कहिले देखी यसको सुरुआत भयो भन्ने लिखत छैन् । पंचायत कालदेखी यो चलनलाई अझै व्यवस्थीत गरिएको मानिन्छ । समयक्रम, प्रविधि र आधुनिकताले नेपालका कैयौं मौलिक परम्परा लोप हुदै गएपनि थवाङले भने यस्ता धेरै मौलिक परम्परा जोगाई राखेको छ । त्यसैले थवाङीहरु आफ्नो गाउँलाई सांस्कृतिक गाउँ भनेर चिनाउने गर्छन ।
सूचनाको भरपर्दो माध्यम मानिन्थ्यो हाँक हाल्ने । वस्तीको अग्लो डाँडामा गएर हाँक हालेपछि सवैका कान ठाडा । सार्वजनिक महत्वको विषयवारे ध्यानाकर्षण गराउदा दमाहा बजाएर सन्देश प्रवाह गर्ने चलन । सूचना प्रविधिमा आएको क्रान्तिले विश्व औलामा कैंद भएको छ । हात हातमा मोबाईल अनि घर घरमा ईन्टरनेटको सुबिधा पुगिसकेको छ । हुलाक, आकाशवाणी पुरानो प्रविधि भईसकेका छन् । तर रोल्पाको थवाङमा भने अझै कट्वाल प्रथा जीवितै छ । कट्वालले हाँक नहालेर फैलिएका सुचनामाथि थवाङीहरु हत्पत विश्वास गर्दैनन् ।
कट्वाल फेर्ने थवाङीहरुको महत्वपूर्ण पर्व बनेको छ । वर्षभरि जनताको सूचक भएर काम गरेको कट्वाललाई बिदाई गरेर नयाँ कट्वाललाई जिम्मेवारी दिने भएकाले हरेक वर्ष आषाढ २ गतेलाई उनीहरु कट्वाल फेर्ने पर्वको रुपमा मनाउछन् । आषाढ १ गते बाट सुरु हुने भुम्या नाच ५ गतेसम्म नाचिन्छ । भूम्या सुरुभएको दोश्रो दिन कट्वाल फेर्ने दिन । कट्वाल फेर्ने दिनको रुपमा उनीहरु दोश्रो दिन बिताउछन ।
दलित समुदायबाट कट्वाल छान्ने चलन छ । भाई÷भाईको हाँगाको पालो हुने गर्दछ । सकेसम्म दोहो¥याउने चलन नभएपनि कहिलेकाही विशेष परिस्थिति सिर्जना भयो भने दोहोरिन पनि सक्ने स्थानीय दलसुर रोकाले भने । हरेक वर्ष २ जनालाई जिम्मेवारी दिने चलन छ ।
कट्वालले चोरेर लिएको बोका भुम्या पुजामा चढाउने चलन थियो । यसरी बोका चोरी गर्दा दण्ड हुदैनथ्यो । बोका चोर्न सफल हुने कट्वालको वर्षभरिको कार्यसम्पादन राम्रो मानिन्थ्यो । ‘बोका बनमा चर्न गएको वा घरमै बाँधिएको भएपनि कट्वालहरुले चोर्ने चलनले पनि भुम्या पुजा संग कट्वाल फेर्ने परम्पराको संबन्ध रहेको मानिन्छ ।’ मगर संस्कृति संरक्षणका अभियान्ता रोकाले भने । अचेल यो परम्परा हराउदै गएको छ । चोर्नुको साटो कट्वालहरु बोका किन्न जाने चलन छ । कट्वाललाई गाउँलेहरुले पनि अरुलाई भन्दा सस्तोमा बोका विक्री गर्ने चलन बस्दै आएको रोकाको भनाई छ ।
सेतो पगरी गुथाएर बाजा गाजा सहित नयाँ र पुरानो कट्वालको विदाई र स्वागत गरिन्छ । नयाँ कट्वालले पुराना कट्वाललाई काँधमा बोकेर घरसम्म लैजान्छन । पंचेबाजा सहित स्थानीयहरुहरु यो कार्यक्रममा सरिक हुने चलन छ । नयाँ कट्वालले भाले काटेर सबैलाई खुवाउने चलन छ । भालेको मासु खाएर फेरी उनीहरु भुम्या नाच्न फर्कने गर्छन् ।
केही समय पुरानो कट्वालले नयाँ कट्वाललाई हाँक हाल्न सिकाउने गर्दछन् । नयाँले पुरानाबाटै कट्वालले गर्नुपर्ने सबै सीप सिकेपछि बल्ल उसलाई परिपक्व मानिन्छ । नयाँ परिपक्व नभएसम्म सहयोग गर्ने पुरानाको जिम्मेवारी हुन्छ ।
कट्वाललाई हिँउदे र वर्षे गरि २ वाली दिने चलन अद्यावधिक छ । यो निकै पुरानो चलन हो । मुद्राको प्रचलन नभएको बेला गरिने बस्तु विनिमय अझै कायम छ थवाङमा । हिँउदमा गहँु वा जौ र वर्षामा मकै प्रत्येक घरबाट १।१ पाथीका दरले कट्वाल आफै उठाउदै हिड्छन् । त्यस्तो समयमा मनहुनेहरुले आलु, नगदका साथै अन्य थप बस्तु पनि दिने चलन बढ्दै गएको छ । शहरीकरणले थवाङलाई पनि बिस्तारै छोप्दै लान थालेसंगै होटल तथा पसल गर्नेहरुले अन्नको सट्टा नगद दिन थालेका छन् ।
यस बर्ष कोरोनाका कारण कट्वाल फेर्ने चलनलाई पनि असर गर्यो । असार १ गते स्वतःस्फुर्त रुपमा स्थानीयहरु भुम्या पुजा गर्दै भुम्या नाचे पनि आषाढ २ गते पर्ने कट्वाल फेर्न भने सकेनन् । ‘अघिल्लो बर्ष छानिएका गुमे बिक र टुल्के बिकले नै यस बर्षका लागि पनि निरन्तरता पाउने भएका छन्’ स्थानीय दलसुर रोकाले भने ।