एमसीसी तोकिएको समयमा पास नहुने निश्चित, अब के हुन्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2020 | 06:11:13 PM मा प्रकाशित

laxmi  sunrise bank

विवादित बनेको एमसीसी परियोजना तोकिएको समयमा संसदमा पेश नै नहुने निश्चित भएको छ। प्रतिनिधिसभाको बैठक आगामी असार १७ गतेसम्म स्थगित भए सँगै तोकिएको समयमा संसदीय अनुमोदन नहुने निश्चित भएको हो । एमसीसी सम्झौता अनुसार यस अन्तर्गतका आयोजनाका शर्तहरु असार १६ गतेसम्म पुरा भई सक्नु पर्ने उल्लेख छ । 

एमसीसी कार्यन्वयनमा जानको लागि असार १६ गते भित्र नै ६ वटा शर्त पुरा हुनु पर्ने सम्झौता छ । तर ६ मध्ये ४ शर्त मात्र पुरा भएका छन् भने संसदीय अनुमोदन सहितका २ शर्त अझै पुरा हुन सकेका छैनन् । संसद बैठक असार १७ गतेसम्मको लागि स्थगित भएकोले सो अवधिमा संसदीय अनुमोदन हुने सम्भावना सकिएको छ ।


यससँगै अब के हुन्छ भन्ने चासो बढेको छ । नेपालमा एमसीसी आयोजना कार्यन्वयन गर्न गठन भएको एमसीए नेपाल स्रोतका अनुसार यस विषयमा सरकार र एमसीसीबीच वार्ता चलिरहेको छ । उच्च लेभलमा वार्ता चलिरहेको र त्यसको निर्णय आएपछि मात्र यस परियोजनाको भविष्य तय हुने भएको छ । अरु देशमा ५-६ महिनामा मै प्रक्रिया पुरा भएपनि नेपालमा भने संसदीय अनुमोदनको लागि नै ३ वर्ष लागेको एमसीएका अधिकारीहरु बताउछन् ।


सत्तारुढ दल नेकपा भित्र मै एमसीसीबारे विवाद छ । एक पक्ष यो राष्ट्रघाती भएकोले पारित गर्न नहुने पक्षमा रहेको छ भने विकास निर्माणको आयोजना भएकोले यसलाई जसरि पनि पारित गर्नु पर्नेमा अर्को पक्ष छ । यहि कारण एमसीसी संसदमा पेश हुन नसकेको हो ।


यदि यो परियोजना पारित नभई नेपालमा लागु नहुने अवस्था आएमा दुवै पक्षले गरेको लगानी डुब्ने बताईएको छ । एमसीए स्रोतका अनुसार यो परियोजनाको लागि नेपालले ५० देखि ६० करोड खर्च गरिसकेको छ । यदि परियोजना लागु नहुने अवस्था आए यो रकम डुब्ने छ ।


यस अघिको सम्झौता अनुसार असार १६ गतेसम्म सबै शर्त पुरा गरेर सो मितिदेखि परियोजना कार्यन्वयनमा लानु पर्ने थियो । त्यस्तै ५ बर्ष भित्र आयोजना सम्पन्न गर्नु परे सम्झौतामा उल्लेख छ । तर ६ शर्त मध्ये ४ पुरा नभएकोले परियोजनाको भविष्य नै अन्योलमा परेको हो ।

यस्ता छन् शर्त :

१. विद्युत प्रसारण आयोजनालाई राष्ट्रिय गौरवकोआयोजनाका रूपमा घोषणा;

२. विद्यतु नियमन आयोगको गठनका लागि कानुनी बाटो खुलाउनु;

३. कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन;

४. आयोजना कार्यान्वयन सम्झौतामा हस्ताक्षर;

५. नेपालको बुटवलबाट भारतको गोरखपुरसम्म सीमापार प्रसारण लाइन निर्माणका लागि भारत सरकारसँगको सहमतिमा योजना तर्जुमा;

६. वातावरणीय प्रभाव मूल्याङ्कनको स्वीकृति तथा जग्गा अधिग्रहण एवं रुख कटानीका सन्दर्भमा पर्याप्त प्रगतिसहित सबै आयोजना निर्माण क्षेत्रमा पहुँच ।

यी मध्ये संसदीय अनुमोदन र आयोजना निर्माण क्षेत्रमा पहुँच सम्बन्धी शर्त अझै पुरा भएका छैनन्  । यी मध्ये पनि संसदीय अनुमोदन पेचिलो विषय बनेको  हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved