पहिरोले १० घर जोखिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 09:37:49 AM मा प्रकाशित

laxmi  sunrise bank

वर्षा शुरु भएसँगै बैतडीका विभिन्न स्थानमा पहिरोले क्षति पुर्याउन थालेको छ । पुर्चौँडी नगरपालिका–७ ऐरीगाउँमा पहिरोले स्थानीय मङ्गल ऐरको घरमा क्षति पुर्याएको स्थानीय देवबहादुर ऐरले जानकारी दिए। गएराति घरमाथिबाट खसेको पहिरोले घर पुरेको छ भने शौचालय भत्काएको छ । उनले भने, “बस्तीमाथिबाट खसेको पहिरोले सो ठाउँका १० घर जोखिममा परेका छन् ।” 

पहिरोले घरमा क्षति पुर्याएपछि मङ्गल ऐरको परिवार विस्थापित भएर अहिले अर्को घरमा बसिरहेको छ । यस्तै पुर्चौँडी–३ मा गएरातिको वर्षाले दुई पानीघट्ट, एक कल्भर्ट र खेतबारीमा क्षति पुर्याएको छ । नगरपालिकाको वडा नं ३ स्थित सपैया खोलामा रहेका दुई घट्ट र एक कल्भर्ट बाढीले बगाएको स्थानीय खेमराज जोशीले जानकारी दिए । सपैयाखोलामा रहेको कल्भर्ट बगाउँदा नगरपालिकाको केन्द्र, वडा कार्यालय र डिलाशैनी गाउँपालिका आवतजावतमा समस्या भएको छ ।  

दार्चुलामा पनि क्षति:

दार्चुलाको नौगाड गाउँपालिका–४ कपडेमा बाढी र पहिरोले क्षति पुर्याएको छ । गएरातिको वर्षाले वीरकोर खोलामा आएको बाढीले एउटा घट्ट बगाएको छ भने वीरकोर खानेपानी योजना पूर्णरूपमा नष्ट गरेको स्थानीय कालुसिंह ठगुन्नाले जानकारी दिए । यस्तै पहिरोका कारण हर्क ठगुन्ना, देवसिंह ठगुन्ना र प्रेमसिंह धामीको घर जोखिममा परेका छन् । 

यसका साथै नौगाड–४ मा होपरी चट्केमा रहेको डाडाबाग आधारभूत विद्यालय पनि पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्न थालेकाले विद्यालय उच्च जोखिममा परेको स्थानीय कुमार ठगुन्नाले जानकारी दिए । साथै होपरीको ठाउँठाउँमा पहिरो जाँदा आवतजावतमा पनि समस्या भएको छ । यही असार १४ गतेको पहिरोले होपरीगाड लघुजलविद्युत्को नहर भत्किएपछि हालसम्म पनि उक्त क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुनसकेको छैन । सोही नहर भत्किएर पहिरो जाँदा होपरीमा दुई जनाको ज्यान गएको थियो भने पाँच घाइते भएका थिए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved