साउनदेखि सवारी साधनमा इम्बोस्ड प्लेट अनिवार्य, कति लाग्छ खर्च ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2020 | 04:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बागमती प्रदेशका सवारी साधनमा साउन १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान कार्य सुरु गर्ने भएको छ । बागमती अञ्चल तथा बागमती प्रदेश अन्तर्गत दर्ता भएका सवारी साधनका लागि साउन १ गतेदेखि इम्बोस्ड नम्बर जडान गर्ने तयारी भएको यातायात व्यवस्था विभागले जनाएको छ । 

विभागका अनुसार विभागको वेबसाइटबाट सवारी धनीले असार २१ गतेदेखि इम्बोस्ड नम्बर जडानका लगि आवेदन दिन सक्नेछन् । यसरी इम्बोस्ड प्लेट जडानको खर्च भने सवारी धनी स्वयम्ले ब्योहोर्नुपर्ने विभागले जनाएको छ । विभागले ठुला सवारीको लागि ३६ सय रुपैयाँ, चार पांग्रे साना तथा मझौला सवारीका हकमा ३२ सय रुपैयाँ, तीन पांग्रे सवारीका लागि २९ सय र दुइ पांग्रे सवारीका लगि २५ सय रुपैयाँ तोकेको छ । 

विभागका अनुसार दुइ पांग्रे सवारीका लागि गुर्जुधारास्थित यातायात ब्यवस्था विभागबाट, तीन पांग्रे सवारी र साना तथा मझौला चार पांग्रे सवारीका लागि टेकुस्थित सवारी परीक्षण कार्यलय, ठुला सवारीका लागि एकान्तकुना र सरकारी सवारीका लागि मिनभवनबाट इम्बोस्ड जडान गरिनेछ । इम्बोस्ड नम्बरको लागि दिएको आवेदन सम्बन्धित कार्यलयबाट प्रमाणीकरण भएपछि मात्र प्लेट छाप्ने कार्य सुरु गर्ने जनाइएको छ । प्लेट तयार भएपछि आवेदकलाई एसएमएसबाट जानकारी गराइने विभागले जनाएको छ । 

विभागले आवेदनको अन्तिम मिति भने तोकेको छैन । अहिले सबै सवारीको एकैचोटि इम्बोस्ड जडान गर्न सक्ने क्षमता विभागसँग नभएकाले आवेदनको अन्तिम मिति नतोकिएको विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । हमालका अनुसार अहिलेको अवस्थामा विभागले महिनामा एक लाख वटा प्लेट छाप्न सक्नेछ । सबै सवारी साधनले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएपनि कहिलेसम्म गरीसक्नुपर्ने भन्ने मिति भने नतोकिएको हमालले जानकारी दिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved