लगातारको वर्षाले दर्जनौं घर जोखिममा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 06, 2020 | 10:14:55 AM मा प्रकाशित

laxmi  sunrise bank

लगातारको वर्षाले बाजुरा जिल्लाको जनजीवन निकै त्रसित बनेको छ । भिरालो र पाखो जमीनका बस्तीमा पहिरोको जोखिम बढेको छ भने सडक बाटो अवरुद्ध हुँदा आवतजावत रोकिएको छ । पहिरोकै कारण दर्जनौँ बस्ती जोखिममा परेपछि जनजीवन त्रसित बनेको हो । 

साँफे मार्तडी सडकअन्तर्गत बल्देदेखि मार्तडीसम्मको आवतजावत आंशिकरुपमा बन्द भइरहने गरेको छ भने मार्तडी कोल्टी सडक पूर्णरूपमा बन्द भएको छ । मार्तडीको बाउली खोलादेखि पोरखे लेकसम्मको बाटो बाढीको पानीले बगाएर क्षति पुर्याएको छ । बाउली खोलाले पूरै बाटोका निशाना नै मेटाएर बगर बनाएको छ भने चुथीदेखि माथिको सडकमा माथिबाट आएको पहिरो खसेर सडक भासिएको छ । बीचमा पुगेको सवारीसाधन अलपत्र अवस्थामा छन् ।

ट्र्याक्टर बिचमै रोकिएपछि चालकसहितसँगै लिएको सामानसमेत अस्तव्यस्त अवस्थामा रहेको छ । पाण्डुसैनदेखि वीरसैनसम्म बाटो सञ्चालनमा रहे पनि दानसाँधुमा पुल नहुँदा फेरि सडक बन्द भएको छ । खाद्यान्न ढुवानीदेखि दैनिक आवतजावतमा समेत समस्या भएको छ । 

यस्तै मार्तडी गौमुल, मार्तडी भौनेरा, डाब खप्तड, बेतालमाडौँ गुदुखातीलगायतका क्षेत्रको आवतजावत पनि अवरुद्ध भएको छ । वर्षाले ठाउँठाउँमा पहिरो गएको र घरमाथिबाट पहिरो बग्ने र घर भत्किने क्रम बढेपछि सर्वसाधारण त्रसित बनेका छन् । लगातार वर्षाका कारण भत्किएको सडक अहिले नै बनाउने अवस्थामा नरहेको र मौसममा सुधार आउने बित्तिकै मर्मततिर लाग्ने गौमूल गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् ।

अहिलेसम्म मानवीय क्षति नभए पनि भौतिकरूपमा बाटो, घर, सडक सिँचाइ कुलो भत्किएर लाखौँको नोक्सानी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । गाई गोरु चरिचरनमा समस्या देखिएको छ भने पशुपालक किसानलाई घाँसपात गर्नसमेत मुस्किल बनेको छ । पुराना र जीर्ण बन्दै गएका संरचना भत्किएको र चर्किएको भन्ने खबर आएको प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईको भनाइ छ ।  

डोजरको प्रयोग गरिएका सडकमा बढी क्षति भएको पाइएको छ । भत्किने कार्य पनि ती क्षेत्रमा बढी देखिएको छ । कालोपत्रे गरिएको साँफे मार्तडी सडकको मार्तडी बजार क्षेत्र नजिकै पूर्णरूपमा क्षति भएको छ । पहिरोको उच्च जोखिममा रहेका परिवारलाई सचेत भएर बस्न र सतर्कता अपनाउन प्रहरी प्रशासनले आग्रह गरिसकेको प्रमुख भट्टराईले बताए । 

मुसलधारे वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गरी सबैले आ–आफ्नो क्षेत्रबाट सुरक्षाका लागि तयारी अवस्थामा बस्नुपर्ने सुझाव दिएको छ । यस्तै मार्तडी बजार क्षेत्रभित्र दुनीहाट बजार र खेलकूद आसपास क्षेत्रका घरमा पानी पसेपछि बस्नलाई असहज भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved