साँगाबाट काठमाडौँ प्रवेश गरेका १३ जनामा कोरोना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 08:36:35 AM मा प्रकाशित

laxmi  sunrise bank

एक हप्तामा पूर्वी–नाका साँगाबाट काठमाडौँ उपत्यका प्रवेश गर्ने यात्रुमध्ये १३ जनामा कोरोना सङ्क्रमण पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रको चिकित्सा प्रयोगशाला विज्ञ टोलीले उपत्यका प्रवेश नाकामा सवारी साधनका यात्रुमा गरिएको कोरोना सङ्क्रमण परीक्षणमा उक्त सङ्ख्यामा कोरोना पोजिटिभ देखिएको हो ।

लकडाउनको अन्त्यपछि टोलीले उपत्यका प्रवेश गर्ने तीन नाका काभ्रेको साँगासँगै, ललितपुरको फर्पिङ र काठमाडौंको थानकोटबाट काठमाडौँ प्रवेश गर्ने यात्रुको कोरोना सङ्क्रमण नमूना परीक्षण गर्न स्वाब सङ्कलन गरेको थियो । साँगा–नाकामा मात्रै सङ्कलित तीन हजार ४८२ यात्रुको स्वाब सङ्कलन गरिएकामध्ये १३ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार तीन नाकाबाट करीब दश हजार यात्रुको स्वाब सङ्कलन गरिएको थियो । यात्रुको पोलिमरेज चेन्ज रियाक्सन (पिसिआर) परीक्षण गर्दाको रिपोर्ट पोजिटिभ आएका हो । तीन नाकामा सङ्कलित स्वाबको वीर अस्पताल, शिक्षण अस्पताल तथा टेकु अस्पतालमा परीक्षण गरिएको टोलीका सदस्य खेमराज सापकोटाले बताए। उनका अनुसार तीन नाकामा एक साता यात्रुको स्वाब सङ्कलन गरिएको थियो ।

“हामीले १० हजार यात्रुको स्वाम्प्लिङ टेष्ट गर्ने योजना बनाएका थियौँ, टार्गेट पूरा भएपछि स्वाब सङ्कलन कार्य बन्द गर्यौँ”, सापकोटाले भने । लकडाउनको अन्त्यपछि कोरोनाको सङ्क्रमण दर पत्ता लगाई आएको विवरणले सरकारलाई कोरोना सङ्क्रमण न्यूनीकरण गर्न थप रणनीति बनाउन मद्दत पुग्ने उद्देश्यले नाकामा जाँच गरिएको मन्त्रालयले जनाएको छ । टोलीले आइतबारदेखि शुक्रबारसम्म तीनै नाकामा उपत्यका प्रवेश गर्ने यात्रुको स्वाब सङ्कलन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved