पोखरेल र भट्टराईको विवादमा प्रधानमन्त्रीको हस्तक्षेप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 20, 2020 | 10:58:30 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईले उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरमाथि सरकारको बदनाम गराउने काम गरेको आरोप लगाएका छन् । मंगलबार बिहान दुबईबाट नेपाल आउने तयारीमा रहेका नेपालीहरुलाई नेपाल वायुसेवा निगमको जहाजले नलिई रित्तै फर्किएपछि उपप्रधानमन्त्री पोखरेल विरुद्द मन्त्री भट्टराई आक्रोशित भएका थिए ।

मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा मन्त्री भट्टराईले विभागीय मन्त्रीलाई नै थाहा नदिई उद्दार उडान किन रोकियो भन्दै पोखरेललाई प्रश्न गरेका थिए । त्यो दिन गोलमटोल उत्तर दिएर टारेका उपप्रधानमन्त्री पोखरेल बुधबार फेरि फन्दामा परेका थिए । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागी भएको सीसीएमसीको बैठकमा मन्त्री भट्टराईले उपप्रधानमन्त्री पोखरेलको नाम नलिई ‘कसको स्वार्थमा परेर सरकारको बदनाम गराउने निर्णय गरियो ?’ भन्दै प्रश्न गरे ।

वालुवाटारमा बुधबार साँझ बसेको बैठकमा पर्यटनमन्त्री भट्टराईले दुबईबाट नेपाल फर्किन सबै तयारी पूरा गरेर विमानस्थलमा पुगेका यात्रुलाई ल्याउन नदिनुको पछाडी के स्वार्थ छ भन्दै प्रश्न गरेपछि उपप्रधानमन्त्री पोखरेलले काठमाडौँमा क्वारेन्टिनको अभाव रहेका कारण ल्याउन नसकिएको जवाफ फर्काए । त्यसलगत्तै मन्त्री भट्टराईले टर्किस एयरले ल्याएका २०१ जनालाई राख्ने ठाउँ हुने तर नेपाल एयरलाइन्सले ल्याउन लागेका नेपालीलाई राख्ने ठाउँ नहुने भनेर कसले पत्याउँछ भन्दै पुनः प्रश्न गरेका थिए । 

बैठकमा मन्त्री भट्टराई निकै आक्रोशित भएपछि उपप्रधानमन्त्री पोखरेलले जवाफ दिन सकेनन् । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै हस्तक्षेप गरेर मिलाएका थिए । मंगलबार नै उपप्रम पोखरेल र मन्त्री भट्टराईबीचको विवाद थाहा पाएका प्रधानमन्त्री ओलीले विभागीय मन्त्रालयलाई जानकारी दिएर र मन्त्रीसँग छलफल गरेर मात्रै निर्णय गर्ने गराउने व्यवस्था मिलाउन उपप्रम पोखरेललाई निर्देशन दिएको स्रोतले बताएको छ ।

सीसीएमसीले अनुमति नदिंदा दुबई विमानस्थलमा २६६ नेपाली श्रमिकहरु अलपत्र छन् । नेपाल फर्किनको लागि कोरोनाको पीसीआर परीक्षण गराएर बसेका उनीहरुको पीसिआर रिपोर्ट ७२ घण्टापछि काम नलाग्ने भन्दै मन्त्री भट्टराई अझै आक्रोशित छन् । 

निगमको जहाज सोमबार राति २१३ जना यात्रु लिएर दुबई गएको थियो । मंगलबार फर्किदा २६६ जना नेपाली लिएर फर्किने भनेपनि सीसीएमसीका संयोजक उपप्रम पोखरेलले पर्यटन मन्त्रालयलाई थाहा नै नदिई परराष्ट्र मन्त्रालयमार्फत निगमलाई यात्रु नलिई फर्किन निर्देशन दिएका थिए । 

यसैबीच मलेसियाबाट हुने भनिएका तीनवटा उद्दार उडान रद्द भएका छन् । दूतावासले अगस्ट १९, २० र २१ तारिखका लागि उडान तय गरेपछि श्रमिकहरूले टिकट काटिसकेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved