महानगरको बजार अनुगमनः अमृत ब्राण्डका खाने तेलमा खराबी भेटियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 23, 2020 | 05:29:02 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएपछि समितिले अमृत ब्राण्डका तोरी र सनफ्लावरका १४० कार्टुन तेल साबुन फ्याक्ट्रीलाई बिक्री गरेर बिल महानगरमा पठाउन अन्नपूर्ण भेजिटेवल प्रोडक्सनलाई निर्देशन दिइएको छ । 

समितिले आज गरेको अनुगमन टोलीले महानगरको वडा १३ रविभवन आदर्शनगरमा रहेको गोदाममा राखिएका व्याच नं. १७ मा उत्पादन भएका, उपभोग्य मिति सकिएका ५१ कार्टुन सनफ्लावर तेल फेला पारेको थियो । १ बर्ष उपभोग्य मिति भएको तेलको उत्पादन मिति २०७६ असोज लेखिएको थियो । बजारमा पठाउन अयोग्य भइसकेकाले योसँगै बिक्री अयोग्य सामान राख्ने ठाउँमा भएका ८९ कार्टुन तोरीको तेल साबुन फ्याक्ट्रीमा बिक्री गरेर बिल महानगरमा पठाउन निर्देशन दिइएको हो । 

वितरक सञ्जय खण्डेवाल ‘यो फिर्ता पठाउने नै सामान हो । हामी बजारमा पठाउँदैनौ । हामीलाई बिश्वाश गर्नोस् । हाम्रो व्राण्डको कुनै पनि म्याद सकिएको तेल बजारमा छैन । तपाईहरुले एक कार्टुन मात्र भेट्नुभयो भने हााम्रो कम्पनी नै सिल गरिदिए पनि हुन्छ । यो तेल फिर्ता गर्न राखिएको हो’ भन्दै थिए ।

अनुगमन टोलीका सदस्यले ‘कम्पनीमा पठाएका सामान मिति परिवर्तन गरेर बजारमा आउँदैनन् भन्ने ग्यारेन्टी के हुन्छ ?’ भनि प्रश्न गरेका थिए । जवाफमा खण्डेवालले यो तेल साबुन बनाउन बिक्री गरिने बताएपछि अनुगमन टोलीले साबुन फ्याक्ट्रीमा बिक्री गरेको बिल लिएर महानगरमा आउन निर्देशन दिएको हो । 

टोलीले आजै वडा १५ गैरी गठ्ठाघरमा रहेको आरसा फुड एण्ड स्पाइसेसको गोदाम निरीक्षण गरेको थियो । हिजो (असोज ६) गते खुशिँवु क्षेत्रमा अनुगमन गर्दा चितवन दाजुभाइ टे«डर्समा बेच्न राखिएको २७ प्याकेट अजिनामोटोको मूल्य मेटिने खालको भेटिएको थियो । अनुगमनका क्रममा ती सबै प्याकेट नष्ट गरेर सामान वितरण गर्ने व्यापारीको खोजी थालिएको थियो । यही क्रममा आरसा फुडबाट वितरण हुने सामाग्री भण्डारण हुने ठाउँमा टोली पुगेको हो । 

टोलीसँग सञ्चालक रविन कायस्थ श्रेष्ठ ‘म भ्याटमा कारोबार गर्छु । गोदाममा राखिएका सामान सबै ठीक छन् । मूल्य सूची राख्ने मेसिनको मसीमा खराबी भएको हो । यसमा मेरो गलत मनसाय केही छेन । प्याकेटमा मूल्य राख्दा बोराको मूल्य राख्ने गरेको छु’ भन्दै थिए । 

त्यस क्रममा प्लाष्टिकमा मूल्य प्रिन्ट गर्न लगाएर प्रिन्ट भएको अक्षर मेटिन्छ कि मेटिन्न परीक्षण गरियो । हिजो खुशिँवुमा भेटिएको प्याकेट र आज प्रिन्ट गरिएका प्याकेटको मेटिने अवस्था उस्तै भेटियो । कायस्थलाई खाद्य अनुज्ञा पत्र लिन, व्यवसाय स्थलमा परिचय पाटी राख्न, ढक तराजु राख्न, नमेटिने गरी मूल्यको लेवल राख्न निर्देशन दिएर टोली फर्कियो । 

कायस्थका अनुसार उनी महिनामा करीब ५ हजार किलोग्राम अजिनामोटो बिक्री गर्छन् । काठमाडौंमा उनी जस्तै १० जना व्यापारी छन् । ती व्यापारीले कायस्थभन्दा धेरै व्यापार गर्छन् । यस हिसाबले हेर्दा काठमाडौंमा मासिक ५० हजार किलोग्रामभन्दा धेरै अजिनामोटो खपत हुन्छ । 

महानगरले खाद्य, तरकारी र फलफुलको नियमित बजार अनुगमन गरिरहेको छ । कृषि बिभागका प्रमुख हरिबहादुर भण्डारी बजारको प्रणाली पछ््याएर मूल समस्या भएको ठाउँमा पुग्ने प्रयासमा रहेको बताउँछन् ।

अनुगमनमा रहेका उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेना अनुगमन प्रभावकारी बन्दै गएको महसुस भएको बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved