१२३ पसलको अनुगमन, १२ लाख जरिवाना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2020 | 04:39:07 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले २२ दिनको अबधिमा १२३ पसलको अनुगमन गरेको छ । बजारमा खाद्य बस्तु तथा प्याजलगायत तरकारीमा अत्याधिक मूल्य बढेको गुनासो आउन थालेपछि महानगरको उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा समितिले नियमित बजार अनुगमन गर्दै आएको हो । 

नियमित बजार अनुगमनका क्रममा २६ पसललाई जरिवाना गरिएको जनाईएको छ । महानगरको उपभोक्ता समितिले बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागलाई कारवाहीका लागि पत्र पठाउने गरेको छ । बिभागले व्यापारीलाई उपभोक्ता संरक्षण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर १२ लाख ८७ हजार रुपैयाँ जरिवाना गरेको छ । न्यूनतम १ हजारदेखि २ लाख ५५ हजार रुपैयाँ सम्म जरिवाना गरिएको वाणिज्य विभागले जनाएको छ । 

यसैगरी १२३ स्थानमा गरिएको अनुगमनका क्रममा म्याद सकिएका १० लाख बराबरमा सामग्री बरामद गरि नष्ट गरिएको थियो । महानगर भित्रका विभिन्न स्थानमा सञ्चालन गरिएका पसलमा मूल्य सूची, व्यवसाय दर्ता र नविकरण, नापतौलको प्रमाण पत्र, लेवलमा खुलाउनु पर्ने विवरण, म्याद गुज्रिएका सामानको व्यवस्थापन, बिल लिने दिने प्रत्रिया, खाद्य अनुज्ञा पत्र भए नभएको लगायतक विषय हेरिएको थियो । 

काठमाडौंका ठूला तरकारी तथा फलफूल बजारहरु कालीमाटी, बल्खु, नक्साल, तीनकुने, मनोहरा, माछापोखरी र कुलेश्वर तथा दाल, चामल र तेलका ठूला गोदामहरुमा कुलेश्वर, कोटेश्वर, बालाजु, बनस्थली, बत्तीसपुतली लगायतका क्षेत्रमा अनुगमन गरिएको थियो । 

नेपालको संबिधानको अनुसूची ८ ले र स्थानीइ सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकार प्रयोग गरेर महानगरले नियमित तरकारी, फलफुल र माछामासुको अनुगमन गरिरहेको छ । टोलीमा खाद्य प्रबिधि तथा गुण नियन्त्रण बिभाग, महानगरको पशु सेवा बिभाग, उपभोक्ता अधिकार अनुसन्धान मञ्चका पदाधिकारी सहभागी हुनुहुन्थ्यो । टोलीले सामान बरामद गर्न, नष्ट गर्न तथा अन्य आवश्यक कारवाहीका लागि जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र नगर प्रहरीसँग समन्वय गर्ने गरेको छ । 

४ जनालाई मुद्धा

अनुगमनका क्रममा दोब्बर मूल्यमा प्याजको बिक्री गरेको भन्दै बल्खु तथा कालीमाटी तरकारी बजारमा २÷२ जना व्यापारीलाई कालोबजारी मुद्धा लगाईएको छ । ४६ रुपैयाँमा किनेको प्याज १३० रुपैयाँसम्म बिक्री गरेको र लुकाएर राखेको भेटेपछि चार जनालाई मुद्धा लगाईएको थियो भने पसलमा राखिएको प्याज बरामद समेत गरिएको थियो । 

व्यापारीवाट बरामद गरिएको  १४ हजार ६ सय किलो प्याज सरकरी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडबाट बिक्री गरिएको छ । खर्च कटाएर अधिकतम ६० रुपैयाँ प्रतिकिलो रुपैयाँमा प्रतिव्यक्ति ३ किलोका दरले बिक्री गरिएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved