सुन्धाराको घटना सेलाउन नपाउँदै भैरहवाको मस्जिद तोडफोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 26, 2020 | 02:34:27 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको सुन्धारा स्थित नेपाल मदनी मस्जिद मुसाफिरखाना तोडफोडको घटना सेलाउन नपाउंदै भैरहवाको मस्जिदमा आक्रमण भएको छ। आइतबार राति करिब ३ बजेतिर मोटरसाइकलमा आएका अज्ञात समुहले मस्जिदमा तोडफोड गरेको स्थानीयले जनाएका छन्। 

अज्ञात समुहले रातिको करिब ३ बजेतिर सिद्दार्थ नगरपालिका वडा नम्बर ८ बस्देलिया गाउँमा अवस्थित मदनी जामा मस्जिद तोडफोड गरेको वडा अध्यक्ष राजन जंग राणाले बिजपाटीलाई बताए। 

उनकाअनुसार मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले मस्जिदको झ्याल फुटाएर त्यहाँ रगतका तीनवटा टिका लगाएका छन्। उक्त टिका बनाइएको रगतलाई फरेन्सी जाँचको लागी पठाईएको छ। 

सुन्धारा मस्जिद कब्जाको नालीबेली: २०५३ सालदेखि अहिलेसम्म भूमाफियाले के-के गरे ?

वडा प्रहरी कार्यलय तथा जिल्ला प्रहरी कार्यलयमा यस घटनाबारे जानकारी भईसकेको र अहिले यसबारे थप अध्ययन अनुसन्धान भईरहेको वडाअध्यक्ष राणाले बताए। 

मस्जिदमा तीन वटा रगतको टिका लगाइनु कुनै संकेत भएको हुन् सक्ने बताउदै वडाअध्यक्ष राणाले कुनै व्यक्ति वा समुहले नियोजित रुपमा घटना घटाएको हुन सक्ने बताए। 

सिसा फुटेको अवस्थामा मस्जिदको झ्याल र टिका लगाइएको रगत फरेन्सि जांचको लागि जम्मा गरिंदै

राति ३ बजे तोडफोडको आवाज सुनिएपछि बाहिर निस्किदा केहि नभेटिएको र बिहान फजर को नमाज पढ्ने बेलामा मात्र मस्जिदको झ्यालको सिसा फुटाईएको भेटिएको वडा नम्बर ८ का स्थानीय मजिबुर रहमानले बताए। मुस्लिम वेयल फेयर सोसाइटीका सहसचिव समेत रहेका रहमानले आफ्नो जीवनकालमा यसप्रकारको घटना त्यो ठाउँमा कहिल्यै नभएको बताए। 

सिद्दार्थ नगरपालिकामा पहाडी मूलको मानिसहरुको बाहुल्य रहेपनि बिभिन्न धर्ममा आस्था राखेहरुको मिश्रित समुदाय रहेको छ। वडा ८ स्थित बस्देलिया गाउँमा भने करिब ८० प्रतिशत बढी आवादी मुस्लिम समुदायको रहेको छ। 

काठमाडौंको सुन्धारा स्थित मस्जिद तोडफोड घटना लगत्तै भैरहवाको मस्जिदमा भएको यस प्रकारको घटनालाई अर्थपूर्ण रुपमा लिइएको छ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved