हिमालको घोरल बजारमा, स्थानीयले पहिलोपटक देखेको दाबि (भिडियो सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 06, 2018 | 09:21:59 PM मा प्रकाशित

laxmi  sunrise bank

लमजुङको बेशीसहरमा शनिबार बिहान करिब ७ बजेतिर मृगको जस्तै सिङ भएको भैंसीको पाठा जस्तै देखिने जनावर पसेपछि स्थानीयहरु अचम्मित बने। बेंसीसहर नगरपालिका-७ का उपेन्द्र गुरुङको घरमा उक्त जनावर पसेपछि स्थानीयहरुले प्रहरी प्रशासनलाई सम्पर्क गरे। 

झट्ट हेर्दा मृग जस्तै देखिने भएकाले स्थानीयले घरमा मृग पसेको भन्दै प्रहरीलाई फोन गरे। प्रहरीको टोलि बन कार्यालयका कर्मचारी सहित उक्त स्थानमा पुगेपछि सो जनावर घोरल भएको खुल्न आएको हो। 

जिल्ला प्रहरीको सहयोगमा डिभिजनल वन अधिकृत मोहनराज काफ्लेको नेतृत्त्वमा घोरललाई समाती जनप्रतिनिधि, प्रहरी प्रशासन, स्थानीय लगायतको रोहबरमा बेंसीसहर नगरपालिका-६ को शान्ति सामुदायिक वनमा करिब ९ बजेतिर छाडिएको हो। बनमा छाडेपछि पनि पुन: बजारमै फर्किएको घोरललाई प्रहरीले बनका कर्मचारीसंगको सहकार्यमा पुन बनमा पठाएको हो। 

बेंसीसहर नगरपालिका-७ का वडाअध्यक्ष गोविन्द बस्नेतले बेंसीसहर बजारमा पहिलोपटक स्थानीयले यस्तो जनावर देखेको दाबि गरे। हिमालय क्षेत्रमा पाइने घोरल बेंसीमा आउन सक्ने कसैले अनुमान नै नगरेको र यस्तो घटना पहिलो पटक घटेको बस्नेतको भनाई छ।  

बन कार्यालयका एक कर्मचारीका अनुसार घोरल करिब ७ बजेतिर बजार पसेपछि हल्लाखल्ला भएको थियो। करिब डेढ बर्षको देखिने उक्त घोरलको तौल ५५ केजी जति भएको अनुमान गरिएको ती कर्मचारीको भनाई छ। 

उनका अनुसार नेपाल साथै भारत, भुटान, म्यानमार, पाकिस्तान लगायत देशका समुद्री सतहको ८ सयदेखि २ हजार ८ सय मिटरका चट्टान, भीर, पाखामा घोरल पाइन्छ। २ हजार ८ सय मिटरमा हिउँदाको समय हिउँ पर्ने भएकाले घोरल बेंसीमा झर्ने र अन्य समय उच्च पहाडी वा हिमालको मुन्तिर यसको बासस्थान हुने उनको भनाई छ। बेंसीसहर समुद्री सतहदेखि ८ सय मिटर उचाइमा छ। 

घोरल मानब बस्ति भन्दा टाढा बस्ने जनावर भएकाले कसैले लखेटेर यो जनावर बजारमा पसेको हुन सक्ने अनुमान गरिएको छ।  हिमालय घोरल ९५ देखि १ सय ३० सेन्टिमिटर लामो र ३५ देखि ५० किलोग्रामसम्म तौल हुन्छ। यसको सिङ पडाडि फर्केको र १६ सेन्टिमिरसम्म लामो हुन्छ। यो जनावरको आयु १५ वर्षसम्म हुन्छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved