करदाताको सहभागिता बढाउन सहुलियत नीति, समयमै कर तिरे छुटै छुट नत्र कारबाही (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 16, 2018 | 08:19:06 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले करदाताको सहभागिता बढाउन अधिकतम सहुलियत नीति अवलम्बन गरेको छ। सरकारी नीतिअनुसार उद्योग व्यवसायीसँगको समन्वयमा जनतालाई सुसूचित गराउँदै राजश्व वृद्धितर्फ ध्यान दिएको आन्तरिक राजश्व विभागले जनाएको छ। 

विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले सरकारी नीतिअनुसार उद्योग व्यवसायीसँगको समन्वयमा जनतालाई सुसूचित गराउँदै करदाताको सहभागिता बढाउनेतर्फ ध्यान दिएको बताए। करको दायरामा नआएका तर आर्थिक गतिविधिमा संलग्न करदातालाई आगामी पुस मसान्तसम्म करको दायरामा आए छुट सुविधा दिने गरी करदाताको सहभागिता बढाउन लागिएको उनले बताए।

'दुई वर्षको आय विवरण र कर चुक्ता भए त्यस अगाडिको खोजिने छैन, यो अधिकतम सहुलियत, अधिकतम सहभागिताको नीति हो' नेपालले भने, 'शनिबारदेखि मनाउन लागिएको सातौँ कर दिवससमेत करदाताको सहभागिता बढाउनमै केन्द्रित छ'। 

 विभाग आर्थिक ऐन २०७५ अनुसार नै करको दायरामा आएका, स्थायी लेखा लिएका, मूल्य अभिवृद्धिकरमा दर्ता भएका तर विविध कारणले कर सहभागिता जनाउन नसकेका करदातालाई पनि आगामी पुस मसान्तसम्ममा विगत दुई वर्षको आय विवरणसहित लाग्ने कर दाखिला गरेमा छुट हुने उनले बताए। 

२०७४ असार मसान्तसम्म मूल्य अभिवृद्धि करमा दर्ता भएर कर विवरण नबुझाएका करदातालाई पनि पुस मसान्तसम्म विवरण बुझाउँदा उक्त छुट सुविधा पाउने छन्। पुससम्म नआउनेहरुमाथि छानबिन गरेर लाग्ने कर असुल गरी दर्ता खारेज हुने विभागले जनाएको छ।

सामाजिक संस्थामा पनि कर 

सामाजिक संस्थामा कर लाग्दैन भन्ने भ्रम रहेको भन्दै महानिर्देशक नेपालले आएकर ऐनको दफा १० को खण्ड ‘ख’मा उल्लेख भएअनुसार त्यस्ता सामाजिक संस्थाले प्राप्त गर्ने केही रकममा छुट हुने भए पनि कर नलाग्ने भन्ने नभएको बताए।   

यसका लागि २०७४÷७५ को आय विवरण लिएर कर बुझाए विगतको नहेरी छुट सुविधा हुनेसमेत उनले जानकारी दिए तर तोकिएको समयमा  कर नबुझाउनेहरुलाई भने यस्तो छुट नहुने उनले बताए।  

नियमित विवरण नबुझाउने करदाता करिब ३० प्रतिशत

भ्याटमा दर्ता भएर नियमित विवरण नबुझाउने करदाता करिब ३० प्रतिशत छन। विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुङ्गेलले उनीहरुलाई पनि आगामी पुससम्म छुट सुविधा रहेको र नआएमा २०७१ सालभन्दा अगाडिका करदातालाई आर्थिक ऐनअनुसार जरिवाना लिएर माघ १ गतेबाट दर्ता खारेज गरिने उनले बताए। 

हाल नेपालमा व्यावसायिक र रोजगारीको आय गर्ने करदाता १८ लाख रहेकाले पाँच वर्षपछि ३० लाख पुर्याउने बिभागको लक्ष्य छ। जसका लागि उद्योग व्यवसायीसँग समन्वय गरेर करको बारेमा जानकारी गराउने काम जारी रहेको बिभागले जनाएको छ। करको बारेमा सर्वसाधारणलाई सुसूचित गराउन पत्रकार र उद्योग वाणिज्य महासङ्घसँग उनले आग्रहसमेत गरे। 'कर दिवस करदातालाई बुझाउने अभियान हो, आमरुपमा जागरण ल्याउने हो' उनले भने। 

चालू आर्थिक बर्षमा ४०४ अर्ब २२ करोड राजश्व सङ्कलन गर्ने सरकारको लक्ष्य छ। सोहि अनुसार बिभागले कात्तिम मसान्तसम्ममा ९३ अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो। कात्तिक २९ गते बिहीबारसम्म ८५ अर्ब ५८ करोड राजश्व असुल भइसकेको छ । बाँकी दुई दिनमा लक्ष्य पूरा हुने विभागको विश्वास छ। 

मङ्सिर १ देखि साताव्यापी सातौँ राष्ट्रिय कर दिवस  

‘कर: समृद्ध नेपाल, सुखी नेपालीको भर’ भन्ने मूल नारासाथ विभाग र मातहतका कार्यालयले शनिबारदेखि सातौँ राष्ट्रिय कर दिवस साताव्यापी रुपमा मनाउन लागेको छ । मङ्सिर १ गते काठमाडौँमा प्रभातफेरीसहित अर्थमन्त्री डा युवराज खतिवडाको सहभागितामा विशेष कार्यक्रम गर्ने भएको छ । 

सो क्रममा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान र उत्कृष्ट कर्मचारीलाई पुरस्कृति गरिने छ। त्यस्तै २ देखि ७ गतेसम्म उपत्यकाका कर कार्यालयले कर शिक्षासहितका विभिन्न कार्यक्रम गर्ने छ। कर छुटको बारेमा जानकारी गराउन अन्तरकृया कार्यक्रम गरिने छ । नेपालमा मूल्य अभिवृद्धि कर लागू भएको दिन २०५४ साल मङ्सिर १ गतेलाई स्मरण गर्दै कर दिवस मनाउन थालिएको हो। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved