निरोज कुमार थापा     Nov 18, 2018



ruslan ruslan

सरकार सन् २०२० लाई ‘भिजिट नेपाल २०२०’ का रुपमा मनाउने भनेर कम्मर कसेर लागेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रीमा रविन्द्र अधिकारी नियुक्त भएपछि उनले यसको घोषणा गरे । अहिले देश विदेशमा चर्चा चुलिएको छ । तर पूर्वाधार विकासमा न सरकार लागेको छ, न नीजी क्षेत्र ।
एउटा मात्रै अन्तराष्ट्रिय विमानस्थल, त्यो पनि भद्रगोल छ । पर्यटक नेपाल आउँनासाथ त्यही दुर्दशा देख्छ । भनिन्छ, घरमा आएको पाहुना भान्छा कोठामा छिर्नु अघि वाथ रुम जान्छ । वाथ रुमको अवस्था हेरेर भान्छाको अवस्था कस्तो छ भनेर आँकलन गर्छ ।
हाम्रोमा पर्यटक आएपछि विमानस्थलमा घण्टौ कुर्छ, उसको सामान आउनै कयौ समय लाग्छ । जेनतेन त्यहाँबाट निस्केपछि धुँवा र धुलोले आक्रान्त सडकमा निस्किन्छ । नेपाल जतिसुकै सुन्दर भएपनि यस्तो दुर्दशा देखेपछि उसले सुन्दरताको कल्पना नै गर्दैन, नेपाल जताततै यस्तै नै होला भन्ने आँकलन गर्छ ।

सरकारले घोषणा गरेको पर्यटन वर्ष आउन अब १३ महिना मात्र बाँकी छ । एक वर्षमा २० लाख पर्यटक आउनु भनेको महिना १ लाख ६० हजार पर्यटक आउनु हो । तर नेपालमा यसको पूर्वाधार छैन । यो कल्पना भन्दा बाहिरको कुरा हो ।

एकैपटक १ लाख ६० हजार पर्यटकको व्यवस्थापन गर्ने कुरा सामान्य होईन । त्यो पनि नेपाल जस्तो अल्प पूर्वाधार भएको ठाउँमा । पर्यटकलाई कसरी बासस्थानको व्यवस्था गर्ने, पर्यटकीय स्थल पुग्ने मार्ग र साधन केके हुन् भन्ने विषयमा अहिलेसम्म कुनै अध्ययन नै भएको छैन ।
नेपाल धार्मीक र प्राकृतिक पर्यटनको सम्भावना भएको मुलुक हो । प्राकृतिक भन्ने वित्तिक्कै उच्च हिमाली भेगका पर्वत श्रृङखला, पहाडका थुम्काहरु, विभिन्न फुलहरु र तराईको समथर फाँट र त्यसमा उब्जिएका उब्जनी हुन । यसलाई कृषि पर्यटनका रुपमा पनि लिईन्छ ।
तर पहाडी क्षेत्रमा सहज र सुविधायुक्त यातायातको अभाव छ । सडक सञ्जाल पुगेपनि यात्रा कष्टकर नै हुन्छ । हवाईसेवाको विस्तार कछुवाको गतिमा छ । बन्दै गरेका क्षेत्रीय विमानस्थलले २०२० मा सेवा दिन सक्ने सम्भावना छैन । यस्तो अवस्थामा अहिले नै पूर्वाधारको विकासका विषयमा नसोच्ने हो भने आएका पर्यटकबाट फेरि एकपटक नेपालले व्यवस्थापन गर्न सकेन भन्दै अन्तराष्ट्रिय समुदायमा आलोचना हुन्छ । त्यसैले पूर्वाधार विकास पहिलो प्राथमिकता हुनुपर्छ । तर भिजिट नेपाल वर्ष मनाउने दिन नजिकँदै जाँदा यस अनुकुलका पूर्वाधार भने कहिले बन्छन् भन्ने प्रश्न तेर्सिएको छ ।
घुम्न आउने मान्छेले मनोरञ्जन चाहान्छ । रमाइलो गर्न खोज्छ । तर यसको लागी वातावरण छैन । यसका लागि सरकारले घोषित गन्तव्य र चलिरहेका पर्यटकीय स्थललाई विभाजन गरि निश्चित स्थानमा चौबिसै घण्टा पर्यटकीय सेवा प्रदान गर्ने वातावरण बनाउनुपर्छ ।
नेपाल आउने पर्यटक यो यो ठाउँ घुम्छु भनेर आउँछ । तर जाने कताबाट ? अन्योलमा हुन्छ । चल्ने यातायातका साधन पर्यटकमैत्री छैनन । पर्यटकले बुझ्ने भाषा, उ जान चाहेको गन्तव्यको नाम वा सूचना कुनै पनि सवारी साधनमा छैनन । द्येशको राजधानीमा समेत गन्तव्य रुटको विषयमा जानकारी दिने व्यवस्था छैन । राजधानीमा पर्यटकमैत्री होर्डिङबोर्ड कतै छैनन् । भएका पनि खाली छन्, केही लेखिएको छैन । नक्साका भरमा हिड्छन् पर्यटक ।
सरकारी भाषणमा भन्छिन, ‘पर्यटन वर्ष राष्ट्रिय उत्सवका रुपमा मनाईछ ।’ तर राष्ट्रिय उत्सवका रुपमा मनाईने पर्वको तयारी हेर्दा त्यस्तो अनुभूति हुँदैन । पर्यटन व्यवसायलाई भाषणमा भनिएजस्तै साँच्चै आर्थिक मेरुदण्डको रुपमा मान्ने हो भने सरकारले सबै संयन्त्र परिचालन गर्नुपर्छ । नयाँ गन्तव्यका रुपमा सार्वजनिक भएका ठाउँसम्म पर्यटकलाई सहजै पुग्ने वातावरण बनाउनुपर्छ । त्यस क्षेत्रमा सञ्चालित होमस्टे र होटलहरुलाई प्रभावकारी र सुविधायुक्त बनाउन अब बिलम्ब गर्नुहुँदैन ।
पर्यटन वर्ष प्रतिष्ठाको विषय
सरकारले केही दिन अगाडी पर्यटन वर्ष २०२० लाई लक्षित गरी नयाँ पर्यटकीय गन्तव्य सार्वजनिक गर्यो । तर त्यसमा केही जिल्ला बाहेका अधिकांश जिल्लाको असहमति छ । नयाँ सूचिमा परेका सबै गन्तव्यमा ५० लाख रुपैयाँ पनि विनियोजन भएको छ ।
तर नयाँ पर्यटकीय गन्तव्यमा स्तरीय होटेल खोल्न सकिने सम्भावना छैन । अहिले नेपालमा पर्यटक आउने मुख्य सिजन हो । मुख्य सिजनमा नै पर्यटकले भोग्नुपरेको सास्ती र उचित खान र बस्न व्यवस्थापन नभएको गुनासो सरकारले कत्तिको सुनेको छ, त्यो भविष्यमा बन्ने पूर्वाधार निर्माणको गतिले पक्कै देखाउनेछ । होमस्टेले मात्रै २० लाख पर्यटकलाई कसरी सेवा दिन सक्लान ? तारे होटल र होमस्टेको विकल्पमा भरपर्दो व्यवस्थापन भएन भने सरकारले घोषणा गरेको राष्ट्रिय पर्यटन वर्षले नेपालको प्रतिष्ठामा धब्बा लाग्न सक्छ ।

Share your thoughts!











Close in 7