Announcement IPO Result
CLOSE


निरोज कुमार थापा     Dec 13, 2018 | 12:19:22 PM



ruslan ruslan

नेपालले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने भनेको लामो समय भयो । अहिलेसम्म लागो सार्वजनिक बाहेक अरु काम भएको देखिँदैन । लहडको भरमा सय गन्तव्य सार्वजनिक भएका छन्, तीनको विकास र प्रचार भएको छैन । सार्वजनिक गन्तव्यमा विभिन्न जिल्ला र स्थानीय तहको आपत्ति कायमै छ । यसलाई न प्रदेश सरकारले सुनेको छ न केन्द्र सरकारले नै ।
२०२० ‘भ्रमण वर्ष’ कि ‘पर्यटन वर्ष’ ?
अचम्म लाग्ने कुरा के छ भने, सन् २०२० मा मनाउन लागिएको के हो भन्नेमा अन्यौलता त्यति नै छ । पर्यटन वर्ष कि भ्रमण वर्ष भन्नेमा दुविधा छ । पर्यटन वर्ष र भ्रमण वर्षका आ–आफ्नै परिभाषा हुन्छन्  ।
पर्यटनविद् प्रचण्डमान श्रेष्ठका अनुसार पर्यटन वर्ष भनेको वर्षभरी आन्तरिक रुपमा पर्यटन मैत्री नियम बनाउने, कानुन बनाउने, कार्यविधि बनाउने र तीनको आडमा पर्यटन उद्योगको विकास गर्ने हो । पर्यटक आउन रुचाउने र उनीहरुले मन पराउने संरचना, उद्यान, पार्क आदि निर्माण गर्ने काम पर्यटन वर्ष अन्तर्गत पर्छ । यो विशुद्ध आन्तरिक हुन्छ । यसको अर्थ पर्यटन वर्ष भनेको पर्यटक मैत्री पूर्वाधार बनाउने अभियान हो ।
र भ्रमण वर्ष भनेको बजारीकरण हो । पूर्वाधारको विकास गरिसकेपछि हामीले तिमीहरुका लागी यस्तो यस्तो ठाउँ बनाएका छौँ, तिमीहरुलाई सहज होस् भनेर पर्यटक मैत्री कानुन बनाएका छौ भनेर गरिने प्रचार हो । यो व्यवसायीक हुन्छ ।
तर नेपाल सरकारका मन्त्रीहरु नै कतै भ्रमण वर्ष भन्दै हिड्छन् भने कतै पर्यटन वर्ष । प्रधानमन्त्री स्वयम्ले पनि एक टेलिभिजन कार्यक्रममा पर्यटन वर्ष नै भनेको पनि देखियो ।
जनता झुक्याउने सरकारी बोली र विगत
वर्तमान सरकारले भ्रमण वर्ष मनाउने आफ्नो योजना भन्दै आएको छ । यो विलकुल झुक्याउने काम हो । नेपाल भ्रमण वर्षको अवधारणा न वर्तमान सरकारको हो, न त पर्यटनमन्त्री रविन्द्र अधिकारीको नै हो । चौधौं योजनाको दस्तावेजमा नै २०७३ लाई आन्तरिक पर्यटन वर्ष र सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने उल्लेख थियो । यसबाट पनि माथि श्रेष्ठले दिएको परिभाषा मेल खाएको देखिन्छ । तर २०७३ मा हामीले आन्तरिक पर्यटन वर्ष मनाएर कति पार्क बनायौ, कति बगैचा बनायौ, कति स्थानमा पर्यटक मैत्री पूर्वाधार बनायौ भन्ने प्रश्न अहिले मुख्य हो ।
२०७३ लाई घुमफिर वर्षका रुपमा मनाउने भनिएपनि त्यो सफल भएन नै । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र अर्थमन्त्रालयबीच समन्वय नहुँदा घुमफिर वर्षको कार्यविधि नै बनेन । सरकारको पर्यटन मन्त्रालयले बनाएको निर्देशिका समेत मन्त्रिपरिषद्बाट पारित भएन । विभिन्न समस्या देखापरेपछि २०१८ मा मनाउने भनिएको भ्रमण वर्ष २०२० मा सारिएको हो ।
चाइना डेलीका अनुसार सन् २०१७ मा चिनियाँहरूले ५.१ अर्ब पटक आन्तरिक पर्यटकीय घुमफिर (ट्रिप) गरेका छन् । भारतीय पर्यटन मन्त्रालयका अनुसार २०१७ मै भारतमा १.६१ अर्ब छ । चीनको जनसंख्या १ अर्ब ३७ करोड र भारतको १ अर्ब ३२ करोड छ । जनसंख्याको हिसाबमा बराबर जस्तो देखिएपनि आन्तरिक घुमफिर भने चिनको बढी छ ।
यो तथ्यांक प्रस्तुत गरेर चिन र भारतमा धरै मान्छे घुम्छन् मात्रै भन्न खोजिएको होईन । छिमेकी देशले आन्तरिक घुमघामलाई कत्तिको महत्व दिएका रहेछन् भनेर नेपालले बुझ्न सकोस् भनेर प्रस्तुत गरिएको हो । तर नेपालमा आन्तरिक पर्यटकलाई पर्यटक नै मानिदैन । अहिले बेला बेलामा पर्यटनमन्त्रीको भाषण सुनिँदा आन्तरिक पर्यटन शब्द बढी सुनिन्छ । सरकारले आन्तरिक पर्यटकलाई पनि बाह्य पर्यटक सरह व्यबहार गर्न ह्विप जारी गर्नुपर्छ, अभियान अघि बढाउनुपर्छ ।
महत्वाकांक्षी लक्ष्य
सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ । हिजोका पर्यटकीय सूचकांकहरु हेर्दा यो लक्ष्य पूरा गर्न निकै कठिन छ । आफैमा महत्वाकांक्षी लाग्ने यो लक्ष्य पूरा गर्न चुनौतीका अनेकन पहाडहरु फाड्नै पर्छ ।
गत वर्ष ९ लाख ४० हजार २१८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो आगमन हालसम्मकै उच्च हो । सन् २०११ म नेपाल पर्यटन वर्ष मनाईँदा १० लाख पर्यटक नेपाल ल्याउने लक्ष्य थियो । तर ६ वर्षपछि २०१७ मा आएर बल्ल साढे १० लाखको हाराहारीमा पर्यटक आएका छन् । केही समय अघि ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपालका अध्यक्ष नवराज दाहालसँ कुराकानी गर्दा उनले अहिले नै पर्यटनसम्बद्ध संस्थाहरूले खुशी भएर उत्सव मनाइहाल्नुपर्ने कारण छैन भनेका थिए । अहिले आउने पर्यटकको संख्या र तिनको नेपाल बसाई अवधि नलम्बिएसम्म उत्सवको जरुरी नभएको दाहालले भनेका थिए ।
होमस्टे एशोशियसनका अध्यक्ष भिमबहादुर केसी सरकार नयाँ ढंगले पर्यटकीय क्षेत्रको सुधारको प्याकेजसहित अगाडि बढ्नुपर्ने बताउँछन् । हुन पनि हो, सार्वजनिक भएका गन्तव्यको विकासमा सरकारले कुनै प्याकेज सार्वजनिक गरेको छैन ।
पर्यटनको विकास नहुनुको कारण
सरकार र निजी क्षेत्र आ–आफ्नै शिराबाट अगाडी बढिरहेका छन् । सरकार सम्बद्ध निकायसँग छलफल गर्दैन भन्ने व्यवसायीको गुनासो छ । यस्तो अवस्थामा पनि नेपालमा हरेक १० वर्षमा पर्यटकको संख्या दोब्बरले वृद्धि हुने गरेको देखिन्छ । नेपालमा पर्यटक आगमन सोचेजस्तो नहुनुमा १० वर्षे जनयुद्धलाई दोषी देखाईन्छ । आजसम्म पनि पर्यटनका कुरा गर्दा यही कारणलाई पर्यटनको विकास नहुनुको कारण देखाएर पछि हट्ने काम भएका छन् ।
माओवादी जनयुद्ध सुरु भएको सन् १९९६ मा जम्मा ३ लाख ९३ हजार पर्यटकले नेपाल भ्रमण गरेका थिए । नेपालमा पहिलोपटक ‘भिजिट नेपाल इयर १९९८’ मनाइएपछि ४ लाख ६३ हजार पर्यटकले नेपाल भ्रमण गरे । १९९९ मा यो संख्या बढेर झन्डै ५ लाख पुग्यो ।
माओवादी जनयुद्धको मध्य समय २००१ मा ३ लाख ६१ हजार पर्यटकले नेपाल भ्रमण गरेको तथ्यांक छ । सन् २००२ मा त्यो संख्या घटेर २ लाख ७५ हजारमा समिति भयो । त्यसपछि २००७ मा ५ लाख २६ हजार पर्यटक आएका छन् । २०१५ को गोरखा भूकम्प, नेपालमा संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दी र सगरमाथमा गएको हिमपहिरोका कारण पर्यटक आगमनमा कमी आएकै हो । तर त्यस अवधिको एक वर्षलाई छोड्दा पनि पर्यटक आगमनदर एकैनासको छ । तर यसो भनेर सन्तुष्टि मान्न खोजिएको भने होईन । पर्यटन बोर्डले प्रचारको नाममा गर्ने रोड शो, ट्राभलमार्ट र गैरआवासीय नेपालीलाई सद्भावदूत घोषणा गर्ने काम पनि फेल खायो ।
होटलको क्षमता कति ?
नेपालमा अहिले तारे होटलकोसंख्या १ सय २५ मात्रै छ । हुन त योसंख्या बढेकोपनि छ तर पर्यटन मन्त्रालयको पछिल्लो विवरणमा यही उल्लेख छ । तारा नभएका होटलहरु ९७७ छन् । नेपालमा सञ्चालित हाटल तथा रिसोर्टको बेड क्षमता प्रतिदिन ३९ हजार ८३३ मात्र छ । २४४ होमस्टेहरु दर्ता भएर सञ्चालनमा छन् । यीनको वेड क्षमता ९ सयको हाराहारीमा छ । यसबाट पनि नेपाल आउने पर्यटकको संख्या बढेपनि पूर्वाधारको क्षेत्रमा भने पछि नै देखिन्छ ।
विज्ञको सुझाव
यसको अर्थ सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने भनिएपनि तीनको बासको व्यवस्था गर्न हाम्रा होटल पर्याप्त छैनन् । भ्रमण वर्षमा लक्ष्य राखिएको २० लाख पर्यटकको संख्यालाई सेवा दिन नेपालको जनशक्तिले पुग्दैन । होटलमा काम गरेर खारिएको व्यक्तिले होटल खोले खोल्यो नत्र अन्यत्रबाट अहिले होटलमा लगानी निकै कम छ । यस नितीलाई बदलेर दक्ष र सिपयुक्त जनशक्ति परिचालन गर्नुपर्ने पर्यटन विद प्रचण्डमान श्रेष्ठको सुझाव छ । होटलमात्रै होईन, हिजोका पूर्वाधार र संरचना भत्किएपछि नयाँ बनेका छैनन् । श्रेष्ठ भन्छन्, ‘बासी चिज हेर्न को आउँछ, तानेर ल्याउने हो पर्यटक ?’ उनका अनुसार पर्यटक मैत्री संरचनामा सरकारको पहिलो ध्यान जानुपर्छ ।
यदि सरकारले जनशक्ति व्यवस्थापन र सेवामा ध्यान दिन नसके भिजिट नेपालसँगै पर्यटन उद्योगबाट कुल ग्राहस्थ उत्पादनमा १० प्रतिशत योगदान पुर्याउने पर्यटन मन्त्रीको महत्वाकांक्षी योजना सफल हुनेमा आंशका उब्जिने पर्यटन विद्हरुको भनाई छ ।

Share your thoughts!

निरोज कुमार थापा










Close in 7