निरोज कुमार थापा     Feb 21, 2019 | 12:25:05 PM



dace

नेपालको पर्यटन अहिले युवा अवस्थामा छ । मानिसको उमेरसँग तुलना गर्ने हो भने त बुढो नै भैसक्यो । तर नेपालमा पर्यटनको संस्थागत रुपमा विकास हुन थालेको जम्माजम्मी ७० वर्ष पुरा भएको छ । १९७० को दशकबाट मात्रै पर्यटनले आधिकारीकता पाएको हो ।

यसबीचमा पर्यटनका निकै राम्रा उत्पादनहरु आए । तर कतिपय प्रोडक्टहरु कानुन अभावमा भ्रुण अवस्थामै शहीद भए । नेपालको पर्यटन सम्बन्धि कानुन आजभन्दा ४० वर्ष अगाडीको छ । २०३५ सालको कानुनको आधारमा आज पनि पर्यटन सम्बन्धि गतिविधि भईरहेका छन् । अब सरकारले २०३५ को पर्यटन ऐनलाई विस्थापीत गर्न नयाँ संघिय पर्यटन ल्याउने तयारी गरेको छ ।

सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य सहित नेपाल भ्रमण वर्षको तयारी भईरहेको छ । उद्योगी सुरज वैद्यले यसको नेतृत्व गरिरहेका छन् । पर्यटन बोर्डकी सिनियर डाइरेक्टर नन्दिनी थापा यही टिममा छन् । बोर्डका सिइओ दिपकराज जोशी सदस्य सचिव छन् । यसरी पर्यटन क्षेत्रमा काम गरिरहेकाहरुको टिमले समेत अहिलेसम्म कुनै कार्यविधि बनाएको छैन । सन् २०२० सुरु हुन अब १० महिना मात्रै बाँकी छ । कार्यदल बनेको लामो समय भईसक्दा पनि कार्यविधि नआउनु दुखद कुरा हो । यसले लक्ष्य हाँसिलमा बाधा पुर्याउने निश्चित छ ।

अर्को कुरा भिजिट २०२० नै फेलर हो, मैले अहिले नै भन्दिए । २० लाखको त कल्पना नै नगरौँ, १२ लाख पर्यटक आए भने ठूलो कुरा हुन्छ । विश्व सम्पदा सूचिमा रहेका पशुपति नाथ, लुम्बिनी, सगरमाथा लगायतका क्षेत्रमा खोइ पूर्वाधार ? सरकारले त भन्ने एउटा गर्ने अर्को मात्रै हो । १९९८ र २०११ को उदाहरण हेरे पुगछ नि । भन्दिन त १ करोड ल्याउँछौ भने पनि हुन्छ ।

पर्यटन बोर्ड राम्रो परिकल्ना हो तर यसको व्यस्थापन छैन । कर्मचारी ४० जना छन्, अनि कसरी काम हुन्छ ? टेवलको काम गर्नु कि, प्रोमोसनको काम गर्नु  ? यद्यपी बोर्डले काम नगरेको होइन गरेको छ तर के गरेको छ भने र खोज्दा देखिँदैन । वर्षेनी आएको पैसा सक्ने बाहेकका काम बोर्डले गरेकै छैन । एक अर्ब ७२ करोडको बजेट छ । बोर्डका सञ्चालक र कर्मचारी अहिले त्यही पैसा सक्ने बाटो मात्रै खोजिरहेका छन् । बोर्ड त कर्मचारी पाल्ने थलो मात्रै हो । यसको पुर्नसंरचना हुनुपर्छ बेलैमा, ढिलो भइसक्यो ।

नेपालको पर्यटन क्षेत्रलाई सरकारले नै लङ्गडो बनाईरहेको छ । पूर्वाधार बनाउने काम सरकारको हो, तर बनाईरहेको छैन । एशियाको एउटा देश भियतनामले वर्षेनी ५५ लाख पर्यटक भित्र्याउँछ । त्यहाँ हेर्न लायक भनेको एउटा टापु मात्रै हो । एउटा टापु देखाएर कयौ प्रगति गरिसक्यो, हाम्रोमा त हिमालै हिमाल छन् । छिमेकी देश चीनले भएका टाकुराहरु सिङ्गारेर राखेको छ । हामी भत्काउने काम गरिरहेका छौँ । हामीसँग त आफैँ सिँगारिएका हिमाल छन्, पर्वत छन् । त्यसमा खर्च गरिरहनुपर्ने बाध्यता त हामीमा छैन । तर पनि हामी पछाडी परेका छौँ ।

यसको कारण के हो भन्दा, हामीसँग दीर्घकालिन सोच छैन । हिजो सचिव फेरियो, अब आउने सचिवले त पर्यटन बुझ्नै ५ महिना बढी लाग्छ । अनि कसरी काम हुन्छ ? कमसेकम एउटालाई अलिक समय काम गर्न  दिनु पर्यो नि । दुइृ चार महिनामा सचिव फेरिन्छ, ६ महिना वर्ष दिनमा मन्त्री फेरिन्छ, सरकार फेरिन्छ । यसरी त पर्यटन क्षेत्र उभो लाग्नै सक्दैन ।

नेपालको पर्यटनलाई साँच्चै विकास गर्ने हो भने तीन कुरालाई बढी जोड गर्नुपर्छ ।

१) धार्मीक साँस्कृति पर्यटन

धर्म प्रचार गरेरै भारतले पर्यटन उद्योगमा ठूलो उपलब्धि हाँसिल गरेको छ । हिन्दु धर्मको उद्गमस्थल नेपाल हो भनेर हामीले भन्नै सकेनौ । वुद्धको जन्मभूमि नेपाल हो भनेर सारा विश्वलाई थाहा छ, तर भारतले नेपालमा जन्मेको हो भनेर स्वीकार गर्नै चाहादैन ।

शिव र पार्वतीको जन्म, सीताको जन्म नेपालमा भएको हो भनेर हामीले प्रचार गर्न स क्नुपर्छ । यसको उदाहरण दोलखाको गौरिशङ्कर हिमाल र जनकपूर हुन् । अहिले धार्मीक गतिविधिका लागी आउने भनेको भारतीय र चीनियाँ पर्यटक हुन् । तीनलाई हामीले तान्ने भनेको हिन्दु र बौद्ध धर्मको विषयमा जानकारी गराएरै हो ।

हामीसँग सांस्कृति धरोहर धैरै छन् । हाम्रा आफ्ना परम्परागत नाच, गान छन् । यीनको पनि प्रचार गरिनुपर्छ ।

२) पर्वतीय पर्यटन

नेपाल हिमालको देश हो । यहाँ संसारको होचो देखी अग्लो भू–भाग छ । अहिले ग्लोबल वार्मिङको समस्याका विषयमा धेरै अध्ययन भईरहेका छन् । यसको अध्ययन नेपालबाट हुनुपर्छ । किनकी नेपालमा संसारको होचो र अग्लो भू–भाग छ । सगरमाथाको विषयमा अमेरिकामा बसेर अध्ययन गरेर त हुँदैन ।

र अर्को कुरा के हो भने हामीले पढ्ने पाठ्यपुस्तक नै ठिक छैनन् । जिन्दगी काम नलाग्ने विदेशी विषय घुसाएका छन् । नेपालको  इतिहाँस, यहाँको धर्म, यहाँको प्राकृतिक विषयमा किताब छापिनु पर्यो । त्यसलाई पाठ्यक्रममा समावेश गरिनुपर्छ ।

कुनै नेपाली विदेश गयो भने नेपालको बारेमा कसैले सोध्यो भने भन्नै सक्दैन । सगरमाथा छ भनेर मात्रै भएन । विदेशमा जाँदा पनि विदेशीलाइृ नेपाल घुम्न मन लाग्ने गरी कुरा सक्नुपर्यो । यसको लागी त पाठ्यक्रममा यी विषय आउनुपर्यो । म त भन्छु अहिलेको पाठ्यक्रमले केही फाइदा छैन । न इतिहाँस समेटेको छ, न प्रकृति । यसरी आफ्नै देशको विषयमा जानकारी नभएकाहरु कसरी विश्व बजारमा प्रतिस्पर्धी जनशक्ति हुनसक्छन् ?

३) मनोरञ्जनात्मक पर्यटन

धार्मीक पर्यटन र पर्वतीय पर्यटन सिमित वर्गका लागी हो । यसका अलवा कोही रमाउन मात्रै पनि आउने पर्यटक हुन्छन् । रिल्याक्स भन्छन् नि, हो त्यसको लागी । यस्ता पर्यटक विशेष गरी युवा अवस्थाका हुन्छन् ।

अमेरिका युरोप तिरका युवा चाँही हामीभन्दा फरक हुन्छन् भन्ने होईन । हामी जस्तै हुन् । उनीहरु पनि उमेरमा रमाउन चाहान्छन् । यस्ता पर्यटकका लागी ठाउँ ठाउँमा पार्क, वगैँचा बनाउनु पर्छ । जहाँ गएका पर्यटकले लामो समय विताउन सकुन । यसका लागी होटल खोल्नु पर्छ । जहाँ चाहेको चिज आन पाओस् । कुरो जे गरेपनि आँखिर पूर्वाधारमै गएर ठोकिन्छ ।

यति तीन कुरा गर्न सकियो भने नेपालको पर्यटनले कायापलट गर्नेछ, धेरै तिर सोच्नै पर्दैन ।

(नेपाल टुरिजम इन्फास्टक्चर काउन्सिलका अध्यक्ष वैकुण्ठ प्रधानसँग गरिएको कुराकानीमा आधारित)

Share your thoughts!

निरोज कुमार थापा

Reporter








Close in 7