दिवंगत मन्त्री अधिकारीको सपना साकार पार्दै क्यानडाका नेपाली ड्राइभर

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 01, 2019 | 11:06:56 AM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबिन्द्र अधिकारिको पहिलो निर्णय थियो, सन २०२० लाई पर्यटन बर्षका रुपमा मनाएर नेपालमा १५ लाख पर्यटन भित्र्याउने।' तर पछि उनले १५ लाखको लक्ष्यबाट चित्त नबुझ्ने भन्दै यसलाई संसोधन गरेर २० लाख पर्यटक भित्र्याउने लक्ष्य र रणनीति सार्वजनिक गरे। 

सन २०१५ मा नै सन २०१८ लाई पर्यटन बर्ष बनाउने र १५ लाख पर्यटक नेपाल भित्र्याउने निर्णय भएको थियो। तर तत्कालिन सरकारमा रहेकाहरुको चाँसोमा यो निर्णय परेन। तर आफुले मन्त्री पद सम्हालेकै दिन मन्त्री अधिकारिले सन २०२० लाई पर्यटन बर्ष मनाउने निर्णय लिएका थिए। 

सन २०१८ को ११ महिनामा नै १० लाख पर्यटक नेपाल भित्रीएपछि मन्त्री अधिकारिले उत्सवकै रुपमा '१० लाखको केक' काटे। त्यसैबेला नै मन्त्री अधिकारीले भनेका थिए '२०२० मा जसरि पनि २० लाख पर्यटक भित्र्याई छाडिनेछ।' तर हेलिकोप्टर दुर्घटनामा दुखःद मृत्युवरण गरेका मन्त्री अधिकारिको २ वर्षमा नै २० लाख पर्यटक भित्र्याएर अर्को ‘२० लाखको केक’ काट्ने सपना अधुरै रह्यो ।    

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी मन्त्री अधिकारीको यो सपनालाई जसरि पुरा गरि छाड्ने प्रतिकृया दिएका छन। मन्त्री अधिकारिले १० लाखको केक काट्दै गर्दा त्यसमा पर्यटन बोर्डका सीईओ सहित बिभिन्न सरोकारवालाहरुको योगदान कति थियो त्यो सम्बन्धित निकायले नै पत्ता लगाउने कुरा हो। तर यस उपलब्धिमा नेपाल बाहिर रहेका नेपालीहरुको समेत ठुलो योगदान रहेको छ। 

१० लाख पर्यटक भित्रिएको उपलक्ष्यमा नेपालमा केक काटिदै गर्दा त्यसमा विदेशमा रहेका सयौं नेपालीको ठुलो योगदान छ। त्यसमा पनि नेपालमा पर्यटक भित्र्याउन आफ्नै पहलमा काम गरेका क्यानडामा बिगत १४ बर्षदेखि काम गर्दै आएका नरबहादुर टन्डनको भूमिका बिशेष छ। 

टन्डन सन २००५ मा क्यानाडा गए। अहिले उनि परिवारको साथमा उतैछन। पेशाले उनि ट्रक ड्राइभर हुन। आफ्नो मातृभूमिको मायाँ कति लाग्छ, देशप्रतिको सम्मान कति जाग्छ भन्नेकुरा विदेशमा बस्ने हजारौंको संख्यामा रहेका टन्डनहरुलाई राम्रोसंग थाहा छ। 

बिजपाटीसंगको कुराकानीमा टन्डन भन्छन, 'नेपालको लागी, आफ्नो मातृभूमिको लागी विदेशमा बसेको एउटा ट्रक ड्राइभरले के योगदान गर्न सक्छ भनेर सोच्न थाले । अमेरिका र क्यानेडा ट्रक ड्राइभ गर्दा मैले विभिन्न शहर घुमे। ती शहरमा नेपालको प्रचार गर्न मलाई मन लाग्यो । तर पेशाले  सामान्य ट्रक ड्राइभर भएकोले गर्दा सस्तोमा प्रचार गर्ने उपाय सोच्न मलाई समय लाग्यो।' 

प्रसन्न मुद्रामा हँसिलो अनुहार बनाउदै उनि भन्छन, केहि दिनमा दिमागमा गज्जबको उपाय आयो। मेरो ट्रक १२० टन क्षमताको छ। र यो ट्रकको ढ्वाङ निकै लामो छ । त्यसको भित्तामा नेपालको पर्यटकीय गन्तव्य झल्किने तस्बिर टाँसेर प्रचार गर्दा सजिलो हुने देखे। नेपालका धार्मीक मन्दिरहरु, प्राकृतिक सुन्दताहरु, हिमालहरुका तस्बिर ट्रकमा टाँस्ने निर्णय गरे ।  

त्यसपछि उनले कत्तिपनि ढिला नगरी गौतम बुद्धका तस्बिर, सगरमाथा, विभिन्न चाडपर्वहरु मनाईदै गरेका फोटाहरु, तालतलैयाका तस्बिरहरु ट्रकमा टाँसे। सन २०१३ देखि उनले यो काम निरन्तर गरिरहेका छन। पछिल्लो ६ बर्षदेखि टन्डनको ट्रकले सिंगो नेपाल बोकेर क्यानडा र अमेरिकामा गुडी रहेको छ। 

क्यानडा अमेरिका चल्ने २९ लाख ट्रकमध्ये एउटा मात्रै ट्रक टन्डनको हो, जसले सिङ्गो नेपाल बोकेर हिड्ने गर्दछ। अरुले विभिन्न विज्ञापनका तस्बिर टाँसेर पैसा कमाईरहेका छन। तर टन्डनले भने आफ्नै खर्चमा आम्दानी ठाउँ प्रयोग गरेर नेपालको प्रचार गरिरहेका छन। पञ्चवर्षीय योजना नै बनाएर अमेरिका र क्यानेडाका सबै शहरमा उनले ट्रक घुमाईसकेका छन।    

आफ्नो कामप्रतिको सन्तुष्टि उनि यसरी सुनाउछन, 'नेपालका तस्बिर देखेपछि मलाई बाटोमा ट्रक रोक्न लगाईन्छ, ट्रकमा टाँसिएर फोटो खिच्नेको लाइन देख्दा मलाई पनि मज्जा लाग्छ । तस्बिरमा नेपाल देख्ने वित्तिक्कै गाडी रोक्न लगाएर फोटो खिच्नेहरुको क्रेज देख्दा बडो रमाइलो लाग्छ।’

ट्रकमा नेपालको बिज्ञापन गर्दा कति खर्च लाग्छ भन्ने प्रश्नमा उनि भन्छन, 'ट्रकको मुख्यतः दुई भाग हुन्छ, एउटा ट्रेलर अर्को ट्याक्टर । व्यवसायीले किन्ने भनेको ट्रकको ट्याक्टर भाग मात्रै हो । नेपालको प्रचार गर्नकै लागी मलाई व्यवसायीक प्रयोजन नहुने ट्रेलर पनि किने । सुरुमा  २५ हजार क्यानेडियन डलर खर्च गरेर यो पार्टपूर्जा जोडे। अहिले पञ्चवर्षीय योजना सक्दासम्म १ लाख डलर लगानी भईसकेको छ। यसमा पैसाको साथै समय पनि लगानी भईरहेको छ। मेरो ट्रक अहिलेसम्म ११ लाख किलोमिटर गुडेको छ।

नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सुरु गरेको भिजिट नेपाल २०२० लाई सघाउन ट्रक मार्फत युरोपमा पनि प्रचार गर्ने योजना रहेको उनि सुनाउछन। त्यसो त टन्डन नेपाली क्यानेडीयन ट्रक एशोसियसनको अध्यक्ष पनि हुन् । हाल क्यानेडामा गएर ट्रक व्यवसाय गरिरहेका १५० नेपाली छन् । 

बेल्जियमबाट एकैपटक हिडेर २८ देशका विभिन्न शहर घुम्दै जर्मनीमा रहेको नेपाली दुताबाससम्म ल्याउने उनको योजना छ । यसमा ट्रक रित्तै हिड्नुपर्दैन, सामान बोक्ने, बाटो बाटोमा बेच्ने काम पनि हुन्छ । खाली इच्छाशक्ति मात्रै हुनुपर्ने उनको भनाई छ। यसका लागी उनले नेपाल सरकार, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली संघसँग पनि सहयोगको अपिल गरेका छन्।

सन् २०१६ मा उनलाई नेपाल पर्यटन बोर्डले क्यानडाका लागी मानार्थ प्रतिनिधिमा नियुक्त गर्यो। उनले हाल पनि काम गरिरहेका छन् । नियुक्त भएपछि उनले ७५ देशको सहभागीता रहने एक बहुसांस्कृति मेलामा नेपालको घर बनाएर नेपालका सांस्कृतिक झल्किने गरी देशको प्रचार गरे । 

उनले हरेक वर्ष १० हजार डलर खर्च गरेर यो कार्यक्रममा भाग लिँदै नेपालको प्रचार गर्दै आएका छन। यसपाली पनि उनले यसै गरे, यो उनको तेस्रो वर्ष हो। ट्रक बाहेक नै वार्षीक १० हजार डलर खर्च गरेर नेपालको पर्यटन प्रवद्र्धनमा उनले योगदान पुर्याउँदै आएका छन् । 

सरकारले मनाउन लागेको नेपाल भ्रमण २०२० लाई सहयोग गर्न उनले क्यानेडाका मुख्य तीन शहर अन्टेरियो, अल्बर्टा र बिसिमा नेपालका प्रदेश नम्बर ५,६ र ७ का सुन्दर पक्षलाई समेटेर तस्बिर तयार पारेर त्यहाँ चल्ने सिटि बसमा डिस्प्ले गर्ने टन्डनको योजना छ। उनको योजनामा त्यहाँको स्थानीय सरकारले पनि स्वीकृति दिएको छ। अब उनी क्यानाडा गएलगत्तै यसको अन्तिम तयारीमा लाग्ने छन् । 

अमेरिका र क्यानेडामा ट्रकमा पोष्टर टाँसेर प्रचार गरेका कारण लाखको हाराहारीमा नेपालमा पर्यटक आएको उनको बिश्वास छ। तर नत यसको ठोस प्रमाण उनीसंग छ न पर्यटन बोर्डसंग नै। 

नरबहादुरले २०२० मा २० लाख पर्यटक भित्र्याउनका लागि नेपाल सरकार, पर्यटन बोर्ड, गैरआवासीय नेपालीसंग सहकार्य गरेर क्यानडादेखि  नेपालसम्म पिस ड्राइभको योजना पनि अघि सारेका छन। सरकारले सहयोग गर्यो भने ड्राइभिङकै क्रममा क्यानडादेखि नेपालसम्म बाटोमा भेटिने ठूलादेखी सानामानिसलाई पर्चा, पम्प्लेट, तस्बिर बाढ्दै हिड्ने उनको योजना छ । 

आफ्नो कामबाट आफु संस्तुष्ट भएपनि राज्यले आफ्नो कामको कदर नगर्दा भने उनमा एक प्रकारको असन्तुष्टि देखिएको छ। उनि भन्छन,'आफ्नो पहलबाट सक्ने जति काम गरिरहेको छु, भविष्यमा पनि गर्नेनै छु तर सबै काम एक्लै कहाँ सम्भव छ र, राम्रा कामको योजना लिएर धाउँदा समेत सरकारी स्तरबाट एउटा धन्यवाद पत्र समेत नआउँदा दुख लाग्छ।' 

विदेशमा भएपछि देशको माया झनै बढी हुनेरहेछ भन्दै टन्डन भन्छन, 'नेपाल सरकारले साथ दियो भने धेरै गर्न सकिन्छ तर पनि मैले मेरो तर्फबाट हुने कामलाई निरन्तरता दिन छाड्ने छैन, तर पनि केहि आश भने हुने रहेछ, राम्रो काम गर्नेको मूल्यांकन गरेर कमसेकम एउटा धन्यवाद पत्र मात्रै पठाएपनि आफूले त्यसलाई ठूलो सम्पत्ति र राज्यले दिएको सम्मान सम्झेर सजाउनेछु।'

हामिले टन्डनसंग कुरागर्दै गर्दा साथमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष भवन भट्ट भन्छन, 'गैरआवासीय नेपालीले नेपालको पर्यटन प्रवद्र्धनका लागी अर्काको देशमा गएर गरेको योगदान योभन्दा ठूलो के नै हुन्छ र, यो उपाय पर्यटन प्रवद्र्धनको निकै नौलो र छिटो प्रतिक्रिया प्राप्त हुने उपाय हो, उहाँलाई निरन्तरताको लागी बिजपाटी डटकम मार्फत अनुरोध गर्दछु र ‘एनआरएनए’ले पनि सहयोग गर्ने बचन दिन्छु'   

बिजपाटी डटकमले भिजिट नेपाल २०२० लाई सघाउने उदेश्यले 'भिजिट नेपाल २०२०' अभियान सुरु गरेको छ। स्वदेश तथा विदेशमा रहेर तपाईले नेपालको पर्यटन क्षेत्रमा केहि योगदान दिनुभएको छ दिनलाई केहि योजना बनाउनु भएको छ भने हामीलाई [email protected] वा ०१-४२१९२५३ मा सम्पर्क गर्न सक्नुहुन्छ। -सम्पादकीय 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved