Announcement IPO Result Cricket Worldcup



निरोज कुमार थापा     Apr 25, 2019 | 05:12:00 PM



shivam cement

भूकम्प गएको ४ वर्ष पूरा भएको छ । २०७२ बैशाख १२ मा गएको गोरखा भूकम्पले भत्काएका पुरातात्विक महत्वका सम्पदाको पुननिर्माण र जिर्णोद्धार भने सुस्त देखिएको छ । पुरातात्विक महत्वका सम्पदा पुननिर्माणको जिम्मा पाएको पुरातत्व विभागले चालू आर्थिक वर्ष २०७५/७६ मा ५० प्रतिशतको काम सम्पन्न गर्ने लक्ष्य लिएको थियो । तर चार वर्षको अवधिमा करिब ३० प्रतिशत काम मात्रै सकिएको छ । 

२०७२ सालको भुकम्पले अति प्रभावित १४ जिल्लाका ७ सय ५३ वटा सम्पदामा क्षति पुर्यायो । यीमध्ये अहिलेसम्म २ सय २४ वटा मात्रै सम्पन भएका छन् । विभागको तथ्यांक अनुसार २ सय २१ वटा सम्पदा निर्माणाधिन अवस्थामा छन् । क्षतिग्रस्त ३ सय ८ सम्पदामा भने अहिलेसम्म सिन्को भाँच्ने काम पनि भएको छैन । 

पुननिर्माण सम्पन्न भएका २ सय २४ सम्पदामध्ये पुरातत्व विभागले बनाएका सम्पदा १ सय ६२ वटा छन् । पुशपति क्षेत्र विकास कोषले २० र अन्य संघसंस्थाबाट ४२ सम्पदा पुन निर्माण भएका छन् । अहिले निर्माणाधिन अवस्थामा रहेका २ सय २१ सम्पदामध्ये पुरातत्व विभागले २ सय ५ वटा बनाउँदै छ । पशुपति क्षेत्र विकास कोषले ८, केभीपिटीले ३, स्वीसले २, चीनले १ र श्रीलंकाले २ वटा सम्पदा बनाईदिन लागेको छ । 

भुकम्पले पूर्ण क्षति भएका १४ जिल्ला बाहेक आंशिक असर परेका अन्य १७ जिल्लाका पनि ५ सय ८६ सम्पदामा सामान्य क्षति पुगेको थियो । तर यी सम्पदा अहिलेसम्म उठ्न सकेका छैनन् । 

किन भयो ढिला ?

पुरातत्व विभागले भने भूकम्पले भत्किएका सम्पदाको पुननिर्माणमा ढिलाई भएको स्वीकार गरेको छ । भत्किएका सम्पदामध्ये अधिकांशको पुननिर्माण पुरानै स्वरुपमा गर्नुपर्ने बाध्यताका कारण पुननिर्माणको काम सुस्त देखिएको विभागको प्रष्टोक्ति छ । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार अहिले निर्माणाधिन अवस्थामा रहेका सम्पदामध्ये कम्तीमा पनि ५० वटाको निर्माण भने चालु आर्थिक वर्षमै सक्ने लक्ष्य छ । 

प्रवक्त कुँवरले काठका संरचना निर्माणका लागि जनशक्तिको अभाव रहेको बताए । उनले जनशक्तिको अभावले पनि काष्ठकला उत्पादनमा समस्या भएका कारण सम्पदा पुननिर्माणले गति लिन नसकेको बताए । ‘भूकम्पले भत्काएका वर्षौ पुराना सम्पदाको आकार र स्वरुप पुरानै हुनुपर्ने भएकाले पुरानो आकारमा काठको सामान बनाउने जनशक्ति पाउन मुस्किल छ’ उनले भने । 

यसरी बनाउनुपर्ने सम्पदामा बालुवा र सिमेन्ट प्रयोग गर्न नपाईने प्रावधान छ । काठकै सामान प्रयोग गर्नुपर्ने भएकाले आवश्यक काठ र उपर्युक्त आकार दिने व्यक्तिको अभावका कारण सम्पदा पुननिर्माणले गति नलिएको प्रवक्ता कुँवरको भनाई छ । आगामी२ वर्षभित्र सम्पदा पुननिर्माणको काम सकिने उनको दाबी छ । 

कति सकियो पैसा ?

सरकारले हालसम्म सम्पदा पुननिर्माणमा १ अर्ब बढी खर्चिसकेको छ । आर्थिक वर्ष २०७२÷७३ देखि चालु आर्थिक वर्षसम्म सम्पदा पुननिर्माण गर्नकै लागि भनेर सरकारले ४ अर्ब ४६ करोड ७७ लाख ६ हजार रुपैयाँ दियो । तर खर्च गर्ने निकायले काम गर्न नसक्दा १ अर्ब ७६ करोड ४४ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ । यो रकम कुल बजेटको ३९ प्रतिशत मात्रै हो । 

पुरातत्व विभागका प्रवक्ता कुँवर क्षतिग्रस्त सम्पदाको पुननिर्माण सक्न १२ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँछन् । अहिले उपलब्ध ४ अर्ब बजेटमा ८ अर्ब थप गर्नुपर्ने उनको भनाई छ । 

भ्रमण वर्ष प्रभावित हुने खतरा 

सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष’का रुपमा मनाउने घोषणा गरेको छ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको यो कार्यक्रम भ्रकम्पपछिको पुननिर्माणको गतिले प्रभावित पार्न सक्ने पर्यटनविद्हरुको आकलन छ । 

भ्रमण वर्ष नजिकिँदै जाँदा भूकम्पपछिको पुननिर्माणको गति झनझन सुस्त हुनुले भ्रमण वर्ष नै खतरामा पर्न सक्ने उनीहरुको बुझाई छ । पर्यटनविद् प्रचण्डमान श्रेष्ठ नेपालमा पर्यटक रमाउने मानव निर्मित ठाउँहरु भूकम्पले भत्काएपछि सरकारले अभियानकै रुपमा पुननिर्माण गर्न सक्नुपथ्र्यो भन्छन् । पर्यटनलाई साँच्चै समृद्धिको आधार मान्ने हो भने पर्यटन पूर्वाधारमा विशेष जोड दिनुपर्ने उनको भनाई छ । 

राजधानी भित्रैका सम्पदा बन्न नसक्नु दुखद भएको भन्दै उनले ‘काठमाडौँकै यो अवस्था छ, अन्यत्र झन कस्तो होला ?’ भने । नेपालमा आउने पर्यटकमध्ये अधिकांश पर्यटक धार्मीक गतिविधि र संग्रहालय घुम्न आउने भएकाले यी सम्पदाको पुननिर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने उनको भनाई छ । 

पदयात्राका लागि आउने पर्यटकलाई पनि अहिले कठिन हुन थालेको छ । देशका विभिन्न स्थानका पदमार्गहरुमा भूकम्पले क्षति पुर्याएकोमा अहिलेसम्म पुननिर्माण हुन सकेको छैन । 

भूकम्पपछिका वर्षहरुमा गाउँगाउँमा सडक खनिँदा पदमार्गहरु विग्रेको पदयात्रा व्यवसायीको गुनासो छ । यसले पदयात्रका लागि आएका पर्यटकलाई सुरक्षित रुपमा पठाउन पनि समस्या उत्पन्न भएको भन्दै उनीहरुले नयाँ पदमार्ग पहिचान र भएका पदमार्गलाई व्यवस्थित गरिदिन सरकारसँग माग गरेका छन् । 

नेपालमा एडभेन्चर टुरिजमको लागि सिमित मात्रै पर्यटक आउने गरेका छन् । नेपाल ६५ प्रतिशतभन्दा बढी पर्यटक धार्मीक गतिविधिका लागि आउने गरेको तथ्यांक छ । 

Share your thoughts!

निरोज कुमार थापा

Reporter









Close in 7