बिजपाटी सम्बाददाता     Nov 04, 2019 | 10:19:53 AM



sunrisebank

‘नेपाल भ्रमण वर्ष २०२०’ को शूभारम्भ २०२० को जनवरी ७ मा गरिने भएको छ । सरकारले विदेशस्थित नेपाली दूतावास तथा नियोगहरुलाई परिपत्र गर्दै भ्रमण वर्षको शुभारम्भबारे जानकारी गराएको हो । 

दूतावास, महावाणिज्य दूतावास, कन्सुलर, पर्यटन प्रतिनिधि र भ्रमण वर्षका सदभावना दूतहरुको उपस्थितीमा भव्य समारोहका साथ भ्रमण वर्षको शुभारम्भ गर्न परिपत्र गरिएको हो । परिपत्रमा कार्यक्रममा सम्बन्धित देशका राष्ट्र प्रमुख, सरकार प्रमुख, मन्त्रीजस्ता विशिष्ठ अतिथिको सहभागिता सुनिश्चित गर्ने वातावरण मिलाउन भनिएको छ । 

नेपालमा भने १ जनवरी २०२० मै भ्रमण वर्ष शूभारम्भ हुनेछ । 

यस्तो छ परिपत्रः

१) प्रमुख शहरमा स्थानीय ट्राभल एजेन्सी, टूर अपरेटर, एयरलाईन्स कम्पनी लगायतको भेला गरी नेपाल भ्रमण वर्षको प्रवर्द्धनका लागि योजना बनाउने ।

२) प्रमुख शहरहरुमा नेपालको पर्यटन प्रवर्द्धन सम्वन्धि गोष्ठी, सेमिनार लगायतका कार्यक्रम आयोजना गर्ने यस्ता कार्यक्रममा सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्व तथा संघ–संस्थाहरुको बढीभन्दा बढी प्रतिनिधित्व गराई कार्यक्रम सञ्चालन गर्ने गराउने व्यवस्था गर्ने ।

३) नेपालको भ्रमण गरेका सम्वन्धित देशका प्रवुद्ध व्यक्तित्वहरु, हिमाल आरोहीहरु र अन्य सेलिव्रेटीहरुको भेला आयोजना गरी वहाँहरुलाई भ्रमण वर्षको प्रवर्द्धनका लागि परिचालन गर्ने ।

४) विभिन्न शहरहरुमा हुने पर्यटन, व्यापार, सांस्कृतिक लगायतका मेला तथा एक्स्पोहरुमा नेपालको पर्यटन प्रवर्द्धनको काम गर्ने र नेपालका व्यवसायीको सहभागिता प्रवर्द्धन गर्ने ।

५) प्रत्येक देशका र मुख्य मुख्य शहरमा गैरआवासीय नेपाली र स्थानीय संघ संस्थाका प्रतिनिधिहरु समावेश गरी नेपाल भ्रमण वर्ष, २०२० सहयोग समितिहरु गठन गर्ने र भ्रमण वर्ष सचिवालयमा त्यसको जानकारी दिने ।

६) राजदूतावास एवं महावाणिज्य दूतावासमा भ्रमण वर्षको डेस्क स्थापना गर्ने । गैरआवासीय नेपालीसँगको समन्वयमा उक्त डेस्कहरुमा नियमित रुपमा स्वयंसेवक खटाउने व्यवस्था मिलाउने ।

७) तोकिएको मापदण्डभित्र पर्यटन दूत र नेपाल भ्रमण वर्ष, २०२० का लागि सदभावना दूतहरु नियुक्तिका लागि नाम सिफारिस गरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाउने ।

८) गैरआवासीय नेपाली संघ र स्थानीय संघ संस्थालाई समन्वय गरी मानिसहरुको आवत(जावत र घनत्व वढी हुने सार्वजनिक स्थलहरुमा पर्चा वितरण, कार तथा साईकल र्‍याली, प्रचार सामाग्रीहरुको प्रवर्द्धन, वकाथन, पदयात्रा लगायतका कार्यक्रम आयोजना गर्ने । उल्लेखित कार्यक्रमहरु स्थानीय संचार माध्यमबाट प्रचार–प्रसार गराउने साथै कार्यक्रमका फोटो र समाचार भ्रमण वर्षको सचिवालयमा समेत पठाउने ।

९) सन् २०२० को शुरुमा निर्माण कार्य सम्पन्न भई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा सन् २०२० को मार्च देखि अन्तर्राष्ट्रिय उडान गर्ने लक्ष्य रहेको छ । उक्त विमानस्थलमा सम्वन्धित देशबाट हवाई सेवाको लागि विमान कम्पनीलाई उडान गराउन पहल गर्ने ।

१०) सन् २०२० भरीमा नेपालमा गोष्ठी, सेमिनार तथा वैठकहरु आयोजनाहरु गर्न विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय  संघ संस्थालाई आह्वान गर्ने साथै उच्च स्तरीय भ्रमण लगायत विभिन्न सेलिव्रेटीहरुको भ्रमणका लागि पहल गर्ने ।

११) सन् २०२० भरी माथि उल्लेखित कार्यक्रमहरुका अतिरिक्त नेपाल भ्रमण वर्षको प्रचार(प्रसार र प्रवर्द्धनका लागि विभिन्न सिर्जनात्मक कार्य गर्ने सो का लागि भ्रमण वर्ष सचिवालय र नेपाल सरकारसंग नियमित रुपमा समन्वय गर्ने ।

१२) नेपाल वर्ष २०२० को सचिवालय र गैरआवासीय नेपाली संघ बीच ३ कात्तिक २०७६ मा भएको समझदारी कार्यान्वयनका लागि आवश्यक पहल गर्ने ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका










Close in 7