भ्रमण वर्ष सकारात्मक दिशामा, यस्ता छन् शुभ संकेत

निरोज कुमार थापा

निरोज कुमार थापा

Nov 04, 2019 | 03:43:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नेपाल भ्रमण वर्ष २०२० को तयारीलाई तीव्रता दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा बहाल रहेकै बेला हेलिकप्टर दुर्घटनामा रवीन्द्र अधिकारीको मृत्यु भएपछि केही सुस्ताएको तयारीले अहिले गति लिएको छ । पर्यटन मन्त्रीमा योगेश भट्टराई आएपछि अन्य कामलाई थाती राखेर भ्रमण वर्षको तयारीलाई तीव्रता दिएका छन् । 

के के भए प्रयास र प्रगति ?

नेपाल भ्रमण वर्ष २०२० को औपचारिक घोषणा गरिएको लामो समय भएपनि अन्यौलता भने कायमै छ । तर अन्यौलताकै बीचमा पनि केही सूचक भने सुखद देखिएका छन् । यद्यपी पर्यटन आगमन दर भने अपेक्षाकृत अंकजस्तो छैन । सन् २०२० कै लागि भनेर सरकारले भ्रमण वर्ष घोषणा मात्रै गरेपनि नीजि क्षेत्रले भने सक्रियता बढाएका छन् । 

१) होटलहरुको छुट योजना

भ्रमण वर्षमा नेपाल आउने पर्यटकका लागि होटलहरुले स्वतःस्र्फुत रुपमा छुटको योजना ल्याएका छन् । होटल संघ नेपाल (हान) ले नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर ३० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । 

हानले एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने घोषणा गरेको हो । हानमा पर्यटक स्तरका तारे होटल मात्रै सदस्य छन् । 

२) होमस्टेद्वारा छुटको घोषणा

बाह्य तथा आन्तरिक पर्यटकलाई देशभरका घरवास (होमस्टे)ले खाना र आवासका लागि २० प्रतिशत छुट दिने भएका छन् । होमस्टे एशोसिएसन नेपाल (होसान)ले भ्रमण वर्ष सफल बनाउन पर्यटकलाई खाना र आवासका लागि २० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

होसानका अनुसार हाल देशका ५७ जिल्लामा घरवास सञ्चालनमा छन् । होसानले घरवासमा आउने पर्यटकका लागि उपलब्ध भएसम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रम गरेर मनोरञ्जन दिने समेत योजना बनाएको छ । 

३) नेपाल एयरलाइन्सको अन्तराष्ट्रिय उडान विस्तार

भ्रमण वर्षको अनुकुल हुने गरि राष्ट्रिय ध्वजाबाहक ‘नेपाल वायुसेवा निमग (नेपाल एयरलाइन्स)ले आफ्नो अन्तराष्ट्रिय उडान विस्तार गरिरहेको छ । गत भदौ १२ देखि जापानको ओसाकास्थित कन्साई अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेको निमगले आगामी जनवरी अर्थात पुसको दोस्रो सातादेखि जापानको नारिता अन्तराष्ट्रिय विमानस्थलमा सिधा उडानको तयारी गरेको छ । यो प्रक्रिया अन्तिम चरणमा रहेको बुझिएको छ ।

त्यस्तै निगमले मङ्सिर अन्तिमदेखि चीनको ग्वोञ्जाओमा पनि उडान गर्ने भएको छ । निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि पनि पहल गरिरहेको छ । यसले चीनियाँ पर्यटकलाई नेपाल आउन केही सघाउ पुग्ने विश्वास लिईएको छ ।

४) हिमालय एयरलाइन्सको उडान विस्तार

हिमालय एयरलाइन्सले चीनको राजधानी बेइजिङमा सिधा हवाई उडान सुरु गरेपछि पहिलो पटक नेपाल–चीन सिधा हवाई सम्बन्ध जोडिएको छ । नेपाली र चिनियाँहरुको संयुक्त लगानीमा ५ वर्षअघि स्थापना भएको हिमालय एयरलायन्सले बेइजिङस्थित डाक्सीङ विमानस्थलमा व्यावसायिक उडान सुरु गर्नुलाई पनि सुखद संकेतका रुपमा हेरिएको छ । 

हिमालयले आइतबार, मंगलबार र शुक्रबार गरि सातामा तीन उडान गर्दैछ । 

हिमालयले गत साउनदेखि बङ्गलादेशको ढाकामा उडान सुरु गरेको छ । नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो बजार समेत हो । 

५) स्पाइस जेटको पुनरागमन

भारतीय विमान कम्पनी ‘स्पाइस जेट’ यही नोभेम्बर महिनाबाटै नेपालमा आउँदैछ । २०७२ को भूकम्पपछि काठमाडौँ उडान बन्द गरेको स्पाइस जेटले फेरि काठमाडौंबाट दिल्ली र बम्बईमा दैनिक उडान गर्न लागेको हो ।

स्पाइस जेटले जेनिथ ट्राभल्सलाई आफ्नो जनरल सेल्स् एजेन्टमा नियुक्त समेत गरिसकेको छ ।

६) सलाम एयरको उडान थप

ओमनको वायुसेवा प्रदायक कम्पनी सलाम एयरले काठमाडौंमा उडान थप गरेको छ । सातामा ३ मात्रै उडान गर्दै आएको सलामले उडान संख्या बढाएर दैनिक १ उडान बनाएको छ । 

सलाम एयरले गत वर्षबाट नेपालमा उडान सुरु गरेको थियो ।

७) २ नयाँ एयरलाइन्स भित्रिँदै

कुवेतको जजिरा एयरवेज र भारतको भिस्तारा एयरले नेपालमा उडान गर्दैछन् । नेपाल नागरिक उड्डययन प्राधिकरणले जजिरा एयरवेजलाई नेपालमा उडानको लागि अनुमति दिइसकेको छ । भिस्ताराको अनुमति प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ ।

जजिराले आगामी मंसिर पहिलो हप्ताबाटै नेपालमा उडान गर्नेछन् । अन्तराष्ट्रिय उडान भरिरहेका वायुसेवा प्रदायक कम्पनीले नेपालमा उडानसुरु गरेपछि पर्यटन आगमन बढ्ने अपेक्षा गरिएको छ । 

८) बन्द एयरपोर्ट सञ्चालनमा

सरकारले वर्षौदेखि बन्द अवस्थामा रहेका केही आन्तरिक विमानस्थल सञ्चालनमा ल्याएको छ । कर्मचारीको दरबन्दी भएको तर आकस्मिक अवतरण मात्रै हुने विमानस्थल सञ्चालनमा आएका छन् । अझै केही विमानस्थल भने गौचरनकै अवस्थामा छन् ।

बन्द विमानस्थल सञ्चालनको ज्वलन्त उदाहरण रामेछाप विमानस्थल हो । बन्द रहेर वार्षिक ३४ लाख रुपैयाँ घाटामा रहेको उक्त एयरपोर्ट अहिले निकै व्यस्त छ । अहिले सोलुखुम्बु क्षेत्रमा जाने पर्यटकहरु रामेछापस्थित मन्थली विमानस्थलबाट जानुपर्ने प्रावधान आएसँगै उक्त एयरपोर्ट सञ्चालनमा आएको छ । दैनिक दर्जनौ उडान समेत हुने गरेको छ । आगामी वर्षदेखि रामेछाप विमानस्थलले घाटा ब्यहोर्नुपर्ने अवस्था नरहेको नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

यसका साथै जुम्लाको जुम्ला विमानस्थल, रुकुम पश्चिमको चौरजहारी विमानस्थल र बागलुङको बलेवा विमानस्थल सञ्चालनमा छन् । यी विमानस्थल वर्षौदेखी बन्द अवस्थामा थिए । बलेवा विमानस्थल २६ वर्षपछि सञ्चालनमा आएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved