भ्रमण वर्षमा थारु सङ्ग्रहालय खोलिने

रासस

रासस

Dec 19, 2019 | 01:28:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कञ्चनपुरको शुक्लाफाँटामा रहेको थारु सङ्ग्रहालय आन्तरिक तथा बाह्य पर्यटकका लागि खुला गरिने भएको छ । थारु समुदायको आस्थाको धरोहरका रुपमा रहेको भल्कामा वडा कार्यालयको सहयोगमा सङ्ग्रहालयका लागि परम्परागत शैलीको घर निर्माण गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकको सुविधाका लागि सङ्ग्रहालयमा सौय ऊर्जा र शौचालयको व्यवस्था गरिएको छ । सङ्ग्रहालय अवलोकनका लागि आउने पर्यटकका लागि थारु समुदायका संस्कृति, रहनसहन र जनजीविकासँग सम्बन्धित वस्तु राख्ने कार्य अगाडि बढाइएको छ ।

थारु समुदायले प्राचीनदेखि वर्तमान समयसम्म परम्परागतरुपमा प्रयोग गर्ने वस्तु राख्नका लागि १२ वटा थारु गाउँका वडघरलाई जिम्मा दिइएको थारु सङ्ग्रहालय तदर्थ समितिका सचिव भागीराम चौधरीले बताए । “भ्रमण वर्ष शुरु हुनुअगावै सबै सामग्रीको व्यवस्था गरी सङ्ग्रहालयमा राख्छौँ”, उनले भने, “थारु समुदायको नयाँ वर्ष माघीदेखि सङ्ग्रहालयको समुद्घाटन गरी पर्यटकका लागि खुला गरिन्छ ।” 

उनका अनुसार सङ्ग्रहालयमा थारु समुदायले प्रयोग गर्ने हेल्का, डिलिया, छिटुवा, पखै, डेल्वा, बेर्रि, पिर्का, पैना, चन्डोल, डोली, ढडिया, खोंगिया, पैवा, खराउ, चटुवा, डपला, मन्द्रा, डफ, बस्या, कुथली, डेहरी, मरुवा, पाता, भाला, बर्सी ढाललगायतका सामान राखिने छन् । यसैगरी, हलो, जुवा, डोक्नी, भोक्टी, भौका, छिटनी, लैया, जवरा, अष्टम्की लगायतका सामानको जोहो गर्नका लागि थारु समुदायका अगुवालाई परिचालन गरिएको छ ।

लरिया, लहरु, बगरुवा, कुवाँलगायतको समेत व्यवस्था गरिने छ । “सङ्ग्रहालयमा थारु समुदायका महिलाले लगाउने नथिया, फुली, बुलाँकी, ढुङ्ग्री, टर्की, झुम्का, माला, गटैया, सुतिया, बाजु, चुरुवा, कारा, पहिरी, बिच्छयालगायत राख्नका लागि थारु समुदायलाई दान गर्न भनेका छौँ” चौधरीले भने, “दानमा आएका गहनासहित अपुग गहना वडा कार्यालयले खरिद गर्ने अश्वासन दिएको छ ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved