भ्रमण वर्षः कुन हिमाल चढ्दा कति रोयल्टी छुट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 24, 2019 | 11:22:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सन् २०२० मा हिमाल आरोहण गर्न चाहने आरोहीहरुका लागि विशेष प्याकेजको प्यवस्था गर्न लागेको छ । ‘नेपाल भ्रमण वर्ष २०२०’का लागि ‘हिमाल सम्बन्धि प्याकेज’ तयार पार्दै पर्यटन विभागले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको छ । पर्यटन मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको जानकारी आएको छ । अर्थले मन्त्रिपरिषद्मा प्रस्ताव लगे नलगेकोबारे भन्ने जानकारी आईसकेको छैन ।

विभागले तयार पारेको प्याकेजमा विभिन्न हिमाल आरोहणमा रोयल्टी छुटको योजना ल्याएको छ । 

कुन हिमाल आरोहणमा कति छुट ?

विभागले प्रदेशसँग मिलेर भ्रमण वर्ष अवधिभर नेपालका हिमाल आरोहण गर्दा छुट दिन सकिने गरी प्रस्ताव तयार गरेर मन्त्रालयमा पठाएको छ । आरोहण खुला भएर पनि आरोहीले कम रुचाउने हिमालको ब्राण्डिङ गर्न यस्तो प्याकेजको अभ्यास गर्न लागिएको विभागकी सूचना अधिकारी मिरा आचार्यले बताइन् ।

विभागले केही हिमाल आरोहणमा सय प्रतिशत र केहीमा ५० प्रतिशत रोयल्टी छुटको प्रस्ताव गरेको छ । 

१) चोयु हिमाल

सोलुखुम्बुमा अवस्थित उक्त हिमाल ८ हजार १८८ मिटर अग्लो छ । यो हिमाल आरोहण खुला भएपनि कम मात्रामा आरोहण हुने गरेको छ । भ्रमण वर्ष २०२० पश्चात उक्त हिमाल आरोहणमा उल्लेख्य आरोही भित्र्याउने लक्ष्यसहित १०० प्रतिशत रोयल्टी छुटको प्रस्ताव गरिएको छ । 

२) गणेश हिमाल

काठमाडौँबाट नजिक भएर पनि आरोहीको कम रोजाईमा पर्ने हिमाल हो गणेश हिमाल । काठमाडौँबाट छ्याङ्ग देखिने यो हिमाल ७ हजार ४२२ मिटर अग्लो छ । यो हिमाल आरोहण गर्नेहरुलाई सन् २०२० अवधिभर १०० प्रतिशत रोयल्टी छुटको प्रस्ताव गरिएको छ ।

३) जुगल हिमश्रृङ्खलाको ग्याल्जेन्टिङ

झट्ट भन्दा जुगललाई हिमाल भनिन्छ । तर यो हिमश्रृङ्खला हो । सरकारले सन् २०२० मा सिन्धुपाल्चोकमा पर्ने यो हिमश्रृङ्खलाको ग्याल्जेन्टिङ आरोहण गर्दा पनि १०० प्रतिशत नै रोयल्टी छुटको प्रस्ताव विभागले मन्त्रालयमा पठाएको छ ।

४) कञ्चनजङ्घा

ताप्लेजुङको कञ्चनजङ्घा हिमाल ८ हजार ५५६ मिटर अग्लो छ । यो हिमाल प्रचारमा आएर पनि आरोहीको कम रोजाइमा छ । अन्य हिामलको तुलानामा कञ्चनजङ्घा हिमाल आरोहण गर्नेको संख्या निकै कम छ । भ्रमण वर्षको अवसर पारेर यो हिमालको ब्राण्डिङलाई मजबुत बनाउन विभागले आरोहणमा ५० प्रतिशत छुटको प्रस्ताव गरेको छ ।

५) धवलागिरी हिमाल

धवलागिरी हिमालमा मानव पाइला पुगेको २५ वर्षको अवसरमा हिरक महोत्सव पनि सन् २०२० मै मनाईदैँछ । ८ हजार १४७ मिटर अग्लो यो हिमाल आरोहणमा पनि ५० प्रतिशत रोयल्टी छुटको योजना बनाएर विभागले मन्त्रालयमा पठाएको छ ।

६) अपि र सैपाल हिमाल

समुन्द्री सतहबाट ७ हजार १३२ मिटर अग्लो अपि हिमाल र ७ हजार ३१ मिटर अग्लो सैपाल हिमाल आरोहणमा पनि विभागले छुटको प्रस्ताव गरेको छ । यीसँगै विभिन्न प्रदेशमा पर्ने हिमालको प्रचार गर्न अन्य हिमालमा पनि छुटको प्रस्ताव गरिएको विभागले जनाएको छ ।

विभागले भ्रमण वर्षका अवसरमा सरकारी तवरबाट दिन सकिने छुट प्याकेजको विषयमा औपचारिक छलफल गरी मन्त्रालयमा प्रस्ताव पठाएको हो । अर्थ मन्त्रालयको स्वीकृति प्रश्चात पर्यटन मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरेपछि शंसोशनसहित पारित गर्न सक्ने विभागले जनाएको छ । विभागले पेश गरेको प्रस्ताव नै अन्तिम रुप भने नभएको विभागकी सूचना अधिकारी आचार्यको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved