कस्तो छ २० लाख पर्यटक भित्र्याउन होटल क्षेत्रको तयारी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 31, 2019 | 11:28:51 PM मा प्रकाशित

laxmi  sunrise bank

‘नेपाल भ्रमण वर्ष २०२०’को उद्घाटन बुधबार हुँदैछ । २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित मनाउन लागिएको भ्रमण वर्षमा संस्कृति र सम्पदालाई प्राथमिकतामा राखेर योजना बनाईएका छन् । भ्रमण वर्षको उद्घाटनका दिन १०८ सारंगी, १०८ मुरली बजाइने छ । पशुपतिमा १०८ शंख फुकिने योजना पनि छ । 

नेपाल आउने पर्यटकले बिताउने अधिकांश समय होटलमा हो । एउटा पर्यटकले नेपाल बसाईँको करिब ५० प्रतिशत समय होटलमा बिताउने गर्छ । सरकारले २० लाख पर्यटक ल्याउने भन्दै गर्दा के नेपालमा २० लाख पर्यटक धान्ने पर्यटक स्तरका होटल छन् त ? यो प्रश्नको जवाफमा सरकार नीजि क्षेत्रको मुख ताक्छ, र भन्छ, ‘लगानी भित्रिने क्रम जारी छ, व्यवसायीहरु लगानी बढाईरहेका छन् । २० लाख पर्यटक अटाउन मुस्किल छैन ।’ सरकारबाट यस्तो गोलमटोल उत्तर आएपनि नीजि क्षेत्र भने दाबीका साथ भन्छ, ‘हामी सन् २०१९ मै २५ लाख पर्यटक अटाउन सक्ने क्षमतामा थियौँ, अहिले त्यो क्षमता बढिसक्यो ।’ 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव एवम् प्रवक्ता रुद्रसिंह तामाङ होटलको अवस्था राम्रो रहेको दाबी गर्दै पर्यटकको बसाईमा कुनै असजिलो नहुने बताउँछन् । भ्रमण वर्षकै लागि भनेर सरकारले होटलमा कति लगानी ग¥यो त ? यो प्रश्नमा भने उनी सहजै बोल्दैनन् । उनको भनाईको आशय भने सरकार व्यवसायी नभइ नीति निर्माता भएको र नीजि क्षेत्रलाई सहज हुने नीति तर्जुमा गरिएको छ ।

होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहका अनुसार होटलमा नीजि क्षेत्रको लगानी १० खर्बभन्दा बढी छ । हानमा सदस्य रहेका सबै होटल तारे छन् । हाल नेपालमा १२ हजार होटल भएको अनुमान छ । तर पर्यटक स्तरका होटलमा शैया (बेड) भने ४६ हजार वटा छन् । हानले ‘नेपाल भ्रमण वर्ष २०२०’ अवधिभर ३० प्रतिशत सहुलियत दिने निर्णय गरेको छ । एक वर्षभरी होटेलको रुम चार्जमा ३० प्रतिशत छुट र खानामा १५ प्रतिशत छुट दिने हानको घोषणा छ ।

राजधानीको विशाल होटल (६२ शैया क्षमताको एयरपोर्ट होटल) सञ्चालन गरिरहेका शाह नेपालमा बस्ने, खाने र घुम्ने ठाउँको अभाव र समस्या नरहेपनि पर्यटक ल्याउने पूर्वाधारकै अभाव रहेको बताउँछन् । एयरपोर्ट, एयरलाइन्स लगायतमा रहेको समस्याका कारण पर्यटक आगमन अपेक्षाकृत नरहेको उनले स्वीकार गरे । पूर्वाधारको समस्या समाधानमा केही समय खर्चिए नेपालले पर्यटनमा आश्चर्यजनक ढंगले प्रगति गर्न सक्ने उनको बुझाई छ। हानले भारत, चीन लगायतका विभिन्न देशमा नेपालको प्रचारात्मक गतिविधि गरिरहेको उनको भनाई छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved