भ्रमण वर्षका संयोजक र कर्मचारीबीच भएन तालमेल, भन्छन् ‘सोच नै मिल्दैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 22, 2020 | 02:50:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले २० लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित मनाईरहेको ‘नेपाल भ्रमण वर्ष २०२०’का राष्ट्रिय कार्यक्रम संयोजक हुन् व्यवसायी सुरज वैद्य । गाडी व्यापारी वैद्यलाई भ्रमण वर्षको संयोजक बनाईएपछि पर्यटन क्षेत्रका विज्ञहरुले निकै आलोचना गरेका थिए । 

व्यवसायीले स्वीकार नगरेका संयोजक

भ्रमण वर्षका संयोजक वैद्यलाई व्यवसायीले अझै रुचाएका छैनन् । २०७५ सालको कार्तिक १६ गते संयोजक बनेका उनीमाथि व्यवसायी मैत्री नभएको, पर्यटन नबुझेको, सञ्चारमाध्यमलाई वास्ता नगरेको आरोप छ । आलोचनालाई वेवास्ता गर्दै वैद्य भन्छन्, ‘म पर्यटन व्यवसायी होइन, तर पर्यटक हुँ ।’ 

पर्यटन क्षेत्रका व्यवसायीक संघ संगठनहरुले समेत वैद्यको काम गराईलाई मन पराएका छैनन् । त्यसो त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि उनीसँग सन्तुष्ट छैनन् । वैद्यको काम गराई चित्त नबुझेकै कारण उनले भ्रमण वर्ष सचिवालयमा सदस्य सचिवको रुपमा पर्यटन व्यवसायी बच्चुनारायण श्रेष्ठलाई ल्याएका छन् ।

पर्यटन विभागका तत्कालिन महानिर्देशक प्रचण्डमान श्रेष्ठ सरकारले भ्रमण वर्षका लागि छुट्टै सचिवालय बनाएकोमा पनि सन्तुष्ट छैनन् । उनी यसलाई बजेट सक्ने योजना मात्रै भन्छन् । ‘भ्रमण वर्षको कुनै भिजन छैन, २० लाख पर्यटक ल्याउने भनेको छ, २०२० सकिएको भोलिपल्ट के सन्देश छोड्ने भन्ने यकिन छैन किन चाहियो सचिवालय ?’ उनले प्रश्न गरे ।

पर्यटनमन्त्री अध्यक्ष रहने समितिका उपाध्यक्ष राष्ट्रिय कार्यक्रम संयोजकका रुपमा रहने व्यवस्था गरिएको छ । सदस्यमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, मन्त्रालयको पर्यटन महाशखाका सहसचिव, अर्थमन्त्रालयका सहसचिव, लुम्बिनी विकास कोषका उपाध्यक्ष र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि सदस्य छन् ।

प्रचण्डमान श्रेष्ठले संयोजक वैद्यलाई भेटेरै तपाई कसरी भ्रमण वर्ष सफल बनाउनुहुन्छ, के का लागी राष्ट्रिय संयोजक हुनुभयो भनेर धेरैपटक सोधे । ‘सुरजबाट प्रष्ट जवाफ आएको छैन, उनी आफै के गर्ने भन्ने अन्यौलमा छन्’ प्रचण्डमान भन्छन् ।

कर्मचारी भन्छन्, ‘सोच मिलेन’

नेपाली सञ्चारमाध्यमहरुले नेपाल भ्रमण वर्षको प्रचारमा आफ्नै ढंगले समय खर्चिरहेका छन् । बेला बेलामा आयोजना हुने पत्रकार सम्मेलनमा सामूहिक प्रश्न गर्न बाहेक पत्रकारहरुले संयोजक वैद्यको समय पाएका छैनन् । सचिवालयका एक उच्च अधिकारीले संयोजक वैद्य र आफूहरुको सोच नै नमिल्ने बताए । उनले नाम उल्लेख नगर्ने सर्तमा नेपाली मिडियाप्रति वैद्य निकै कठोर देखिएको उल्लेख गरे ।

‘मिडियाहरुलाई सँगसँगै लैजान सकिएको छैन भन्ने कुरा हामीले पनि अनुभूति गरेका छौँ’ उनले भने, ‘तर के गर्नु संयोजक ज्यूको र हाम्रो सोच नै मिल्दैन, उहाँ मिडियालाई किन महत्व दिनुपर्‍यो भन्नुहुन्छ ।’ उनले थपे, ‘मिडिया र भ्रमण वर्ष सचिवालयबीच ‘ग्याप’ छ, सँगसँगै हिड्नुपर्छ भनेर पहल त भईरहेको छ, हेरौँ के हुन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved