मोहम्मद अज्मत अलि     Jul 10, 2020 | 10:45:54 PM


tansen

महामारीको रुप लिएको कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा लिएको छ। कोरोनाले निम्त्याएको लकडाउनले विश्वभर नै स्वास्थ्य संकटसँगै आर्थिक तथा अन्य संकट समेत सृजना गरेको छ। 

विश्वका अन्य मुलुकमा कोरोनाले धेरैको ज्यान लिएपनि नेपालले अहिलेसम्म त्यस्तो भयावह अवस्था भोग्न परेको छैन। यद्दपी अन्य मुलुकले झैं कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालमा भएको लकडाउनका कारण अन्य देशमा जस्तै नेपालमा पनि ठुलो आर्थिक क्षति भएको छ। 

आर्थिक क्षतिलाई न्यूनीकरण गर्न तथा नागरिकको जनजीवन सामान्य अवस्थामा फर्काउन सरकारले बिभिन्न बेला बिभिन्न सेवा सुविधा घोषणा गरेको छ। सरकारले कोरोना प्रभावितका लागि राहतमा पुनरुत्थानका लागि सरकारले घरभाडा छुट, बैंकबाट लिएको ऋण भुक्तानीमा सावाँ ब्याजमा छुट तथा सहुलियत, कर तिर्ने अवधि थप लगायतका सुविधा दिएको छ। यद्दपी राहतका प्याकेज प्रभावकारी हुन् सकेको छैन। 

सरकारले व्यवसाय तथा दैनिकीलाई पुर्वअवस्थामा फर्काउन बजेट मार्फत दिर्घकालिन योजना ल्याउने प्रयास गरेको छ। त्यस्तै नेपाल राष्ट्र बैंक मार्फत ब्याज छुट, सावाँ ब्याज तिर्ने अवधि थप लगायतका सुविधा दिएको छ। 

सरकारले राष्ट्र बैंक मार्फत चैत मसान्तमा ब्याजमा १० प्रतिशत छुट, असार मसान्तसम्म २ प्रतिशत छुट लगायतका सुविधा दिने घोषणा गरिसकेको छ। यस घोषणाले बैंकहरुको आम्दानीमा ठुलो गिरावट आउन सक्ने बैंकरहरुले बताउदै आएका छन्। 

सरकारले राष्ट्र बैंक मार्फत ल्याएको ब्याज छुटले बैंकको ब्यालेन्ससिटमा पर्ने प्रभाव कस्तो हुन्छ रु कोरोनाले निम्त्याएको लकडाउनमा बैंकले फ्रन्टलाइनमा बसेर कसरी काम गरे र गर्दैछन, अहिलेको समयमा बैंकिङ कसरि अगाडी बढिरहेको छ र आगामी दिनमा बैंकिङ वातावरण कस्तो रहन सक्छ भन्ने बिषय सबैको चाँसोको बिषय हो। 

यहि चाँसोलाई सम्बोधन गर्नका लागि बिजपाटी डटकमका लागि मोहम्मद अज्मत अलिले नेपालमा सबै भन्दा धेरै मुनाफा गर्ने सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठसँग कुराकानी गरेका छन्। 

सीईओ श्रेष्ठ भन्छन, 

बैंकिङ अत्यावश्यक सेवा भित्र पर्ने भएकाले बैंकहरुले आफ्नो स्रोत र साधनले भ्याएसम्म लकडाउन भएपनि सेवा सुचारु नै गरेका छन्। सेवा पनि दिनुपर्ने र स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने भएकाले बैंकहरुले एउटा मोडालिटी तयार गरे। 

जसमा राष्ट्रिय बाणिज्य बैंकका २४० वटा शाखा नखोलेपनि आलो पालो खोलेर जनतालाई अत्यावश्यक तर सिमित बैंकिङ सेवा दिने मोडालिटी बन्यो। र समय पनि हिजोको जस्तो १० देखि ५ बजे नभएपनि निश्चित अवधिसम्म सेवा दिईरह्यौं तर कुनै पनि शाखा बन्द गरेनौं। 

कुनै शाखा बन्द नभएपनि सबै कारोबार सुचारु गर्न सकेनौं। लकडाउनमा पनि आरबिबिले डिपोजिट लिने र दिने तथा एटिएम सेवा दिने काम जारि राखेको छ। यी सेवा दिनको लागि एक तिहाई शाखा संधैं संचालनमा राख्यौं। 

लकडाउनमा पनि आरबिबिले डिपोजिट लिने र दिने तथा एटिएम सेवा दिने काम जारि राखेको छ

व्यवसायमा कस्तो असर ?

सिमित बैंकिङ सेवा दिइरहेकाले कर्जा दिने लगायतका काम भएनन्। एलसी खोल्ने काम पनि धेरै थोरै मात्रामा भए।  कर्मचारी खर्च लगायतका संचालन खर्च, ब्याज खर्च उस्तै रह्यो। डिपोजिट बढ्ने तर कर्जा प्रवाह हुन् नसक्दा यसले बैंकको ब्याज खर्च झनै बढायो। यसले गर्दा व्यवसायको वृद्धि भएन र आम्दानी प्रभावित भयो। 

निक्षेप बढ्दै जाने तर कर्जा प्रवाह नहुने अवस्थाले सिसिड़ी अनुपातको सन्तुलन समेत बिग्रियो। र यसको भार स्वत खर्चमा जान्छ र आम्दानीमा प्रभाव पर्यो। 

अर्को कुरा राष्ट्र बैंकले चैत मसान्तमा ब्याज तिर्न आउनेलाई १० प्रतिशत छुट दिन निर्देशन दियो। यसले हामीलाई १७ करोड नोक्सानी भएको छ। फेरी राष्ट्र बैंकले असार मसान्तसम्म ब्याजमा २ प्रतिशत छुट दिनुपर्ने व्यवस्था गर्यो। यसले हाम्रो आम्दानी ७०-७५ करोडले घटेको छ। हामीले ब्याजको दर सन्तुलनमा राख्न निक्षेपको पनि केहि प्रतिशत ब्याज घटाएका छौं जसले गर्दा हामीलाई थप घाटा भएन र राष्ट्र बैंकको छुट नीतिले  करिब १ अर्ब जति नोक्सानी भएको छ। 

सिसि  राष्ट्र बैंकले निर्देशन दिएपछि नमान्ने भन्ने कुरो भएन तर पनि कोरोनाबाट सबै भन्दा बढी प्रभावितलाई २ प्रतिशत, मध्यम प्रभावितलाई अलि थोरै र प्रभावित नहुनेलाई छुट नदिने व्यवस्था राष्ट्र बैंकबाट भएको भए यत्रो नोक्सानी हुन्थेन।

राष्ट्र बैंकको छुट नीतिले  करिब १ अर्ब जति नोक्सानी भएको छ

अहिलेको परिस्थिति कस्तो ?

चैत ११ देखि सुरु भएको लकडाउन अहिलेपनि जारि छ र यो अवस्था अझैं कति लम्बिन्छ भन्ने आंकलन गर्न नसकिने अवस्था छ। ग्राहकले चैतको ब्याज पनि तिरेका छैनन् र असार मसान्तसम्मको पनि तिरेका छैनन्। यसले गर्दा ऋणीहरुको थाप्लोमा दुई दुईवटा किस्ता थपिएको छ। 

हिजो आम्दानी प्रभावित भएको थियो तर अब बैंकहरुको खराब कर्जा बढ्न सक्ने देखिन्छ र यसले खराब कर्जा अनुपात बढ्छ र त्यहि अनुसार प्रोभिजन गर्नुपर्ने हुन्छ। यसले बैंकहरुको मुनाफा प्रभावित त हुन्छ नै लगानी गर्न सक्ने क्षमतामा पनि ह्रास आउँछ। 

अब के गर्ने ?

पहिलो कुरा त तिर्नुपर्ने ब्याज असार मसान्तसम्म तिर भन्ने नै हो तर धेरै व्यवसायीहरुले असार मसान्तमा ब्याज तिर्न सक्दैनौं भनेर आवाज नै बुलन्द बनाएका  छन्। यस्तो अवस्थामा बक्यौता रहेको ब्याजबारे स्पष्ट रुपमा नीतिगत निर्णय हुनुपर्छ। 

अहिलेको परिस्थिति विशिष्ट किसिमको हो भन्ने सोचेर ब्याज तिर्न नसकेको कारणले प्रोभिजन गर्नुपर्ने लगायतका व्यवस्था हटाउनुपर्छ र यसको व्यवस्थापनको लागि  पुस मसान्तसम्मलाई अवसर दिनुपर्छ।     

दोस्रो, अहिले भईरहेको ऋणमा पुरानो धितोमै १० प्रतिशत थप गर्नुपर्ने अवस्था छ। यसो गर्दापनि ब्याज तिर्नको लागि पुनर्तालिकीकरण र पुनर्संरचना गर्नुपर्ने हुन्छ। तर विद्यमान व्यवस्थाअनुसार यसो गर्दा प्रोभिजन थपिन्छ, त्यसैले अब यस्तो कुरामा केहि समयको लागि सहज गराइदिनु पर्छ। ब्याजको पुनर्तालिकीकरण र पुनर्संरचना राष्ट्र बैंकले दिएको फ्रेम भित्र रहेर बैंकहरुले आ आफुले आफ्नो तरिकाअनुसार गर्न पाउनुपर्छ। 

अहिले प्रभावित भएका क्षेत्र भनेका होटल पर्यटन लगायतका सेवा मुलक क्षेत्र, उड्डयन, यातायात, शिक्षा हुन्। कोरोनाबाट धेरै प्रभावित, माध्ययम प्रभावित र कम प्रभावित गरेर तीन तहमा छुट्याएर मात्र राहतको प्याकेज ल्याउनुतर्फ राष्ट्र बैंक सचेत हुनुपर्छ। 

ब्याजको पुनर्तालिकीकरण र पुनर्संरचना राष्ट्र बैंकले दिएको फ्रेम भित्र रहेर बैंकहरुले आ आफुले आफ्नो तरिकाअनुसार गर्न पाउनुपर्छ

आम्दानीमा कस्तो प्रभाव पर्छ ?

अन्तिम क्वाटरमा मात्र कोरोनाको असर देखिएको देखिएकाले बैंक वित्तीय संस्थाले नाफा नै वितरण गर्न नसक्ने अवस्थामा आइपुग्छन भन्ने लाग्दैन। औषतमा बैंकिङ उद्योगको आम्दानी २५ देखि ३० प्रतिशतले प्रभावित हुने देखेको छु। यो भनेको वितरण गर्न सक्ने मुनाफामा ३० प्रतिशत जति असर पर्छ। राष्ट्रिय बाणिज्य बैंकको हकमा हामीले ४ अर्ब मुनाफा गरौला भन्ने थियो भने यो बर्ष १ अर्ब २० करोडले नाफा घट्न सक्छ तर मुनाफा नै बाड्न नसक्नेगरि आम्दानि प्रभावित हुदैन।      

यो बर्ष १ अर्ब २० करोडले नाफा घट्न सक्छ तर मुनाफा नै बाड्न नसक्नेगरि आम्दानि प्रभावित हुदैन

बैंकिङमा रोजगारी कस्तो ?

यसपाली धेरै बैंकहरुले शाखा बिस्तार गर्न सक्ने अवस्था छैन। शाखा बिस्तारका योजनाहरुपनि केहि समयलाई स्थगित नै हुने देख्छु। खर्च कटौतीका लागि कर्मचारीहरुको सेवा सुविधामा  कम गर्ने, नयाँ गाडी तथा सामान नलिने जस्ता काममा बैंकहरु केन्द्रित रहने देखिन्छ। यसले गर्दा नयाँ शाखा पनि नथपिने भएपछि नयाँ कर्मचारीको सम्भावना कम नै रहन्छ। 

सरकारी बैंक भएकाले छुटको भार कति ?

निजि लगानीका बैंकले समेत सरकारको नीति निर्देशनको अक्षरस पालना गर्नुपर्ने हुन्छ। त्यसमा पनि राष्ट्रिय बाणिज्य बैक सरकारको पुर्व स्वामित्व भएको बैंक भएकाले सरकारको निर्देशनलाई पालना गर्नुको विकल्प रहदैन। तर कमर्शियल बैक हो भन्ने कुरा बिर्सिनु मिल्दैन त्यसैले सन्तुलन कायम गरेर नै राहत तथा छुट दिने कुरा हुन्छन। 

समग्र बैंकिङ क्षेत्र अब कता ?

अहिले भौतिक दुरीको कुरा छ र यसको प्रभाव लामै समय रहने देखिन्छ। त्यसैले पनि समग्र बैंकिङ क्षेत्र नै डिजिटल बैंकिङमा केन्द्रित रहने देख्छु। अहिले डिजिटल बैंकिङ भनेपनि पूर्ण डिजिटल हुन् सकेको छैन। यी कुरालाई समेत समेटेर डिजिटल बैंकिङ तर्फ ध्यान दिने देख्छु। 

अर्को, नयाँ कर्मचारी भर्ना न्यून रहने देख्छु। हामीले थप ३०० जना कर्मचारी लिने र नयाँ शाखा बिस्तार गर्ने लक्ष्य लिएका थियौं तर अब यो योजना केहि समयलाई थाँती रहन्छ। समग्र बैंकिङ क्षेत्र नै यस्तो हुने भएकाले यो बर्ष बैंकिङ क्षेत्रमा रोजगारीको अवसर केहि कम हुने निश्चित छ। 

अब ब्याजको दर कस्तो हुन्छ ?

समग्रमा बैंकिङ उद्योगमा  ब्याजको दर घट्ने देख्छु। दुई कारणले अब बैंकको ब्याज घट्छ। बैंकहरुमा डिपोजिट बढिरहेको छ र कर्जाको माग घटेको छ। यसले पनि ब्याजको दर घटाउँछ। अर्को, कर्जाको माग भएन भने डिपोजिट लिनलाई मात्र बैंकहरुले इच्छा देखाउदैनन जसले गर्दा ब्याज स्वत घट्छ। 

दुई कारणले अब बैंकको ब्याज घट्छ

दोस्रो कार्यकालको प्रमुख प्राथमिकता 

आरबीबीको पुरानो प्रविधिलाई विस्थापन गरेर नयाँ प्रविधि भित्र्याउने र बैंकलाई डिजिटल बैंकिङमा पनि उदाहरणीय बैंक बनाउने पहिलो प्राथमिकता हो। दोस्रो, अहिले पनि हामिसँग क्रेडिट कार्ड, पीओएस मेसिन लगायतका नयाँ प्रोडक्ट छैन, यसलाई भित्र्याउने हो। मैले देखेका पोटेंशियल क्षेत्रमा आरबीबीका ३० वटा शाखा बिस्तार गर्ने तेस्रो प्राथमिकता हो।  यहाँ हेर्दा बुढाहरु भएका बाणिज्य बैंक भनेपनि यहाँ औशत ३४ बर्ष भएका कर्मचारीहरु मात्र रहने अवस्था छ। त्यसैले आरबीबीमा भएका युवा कर्मचारीलाई धेरै भन्दा धेरै तालिम दिएर बजारमा उत्कृष्ट कर्मचारी भएको बैंक बनाउने चौथो योजना हो। र बैंकलाई ब्रान्डीङ गरेर नयाँ इमेजलाई नयाँ उचाईमा पुर्याउने पाँचौ योजना हो। 

लागेका कुरा... 

बैंकिङ क्षेत्र अत्यावश्यक क्षेत्रमा पर्छ र यो कुरा कोरोनाले निम्त्याएको लकडाउनमा पुष्टि भएको छ। कोरोनाको महामारीमा जसरि स्वास्थ्य, सुरक्षा र संचारकर्मी अगाडी रहेर काम गरिरहेका छन् त्यसै गरि बैंकरहरु पनि फ्रन्टलाईनमा बसेर काम गरेका छन्। तर बैंकरहरुको यो भूमिकालाई समाजले चिन्न नसकेको हो कि भन्ने लागेको छ। 

जोखिम मोलेर बैंकहरुले पनि बैंकिङ सेवा दिइरहेका छन् भन्ने कुरा समाजले मुल्यांकन नगरेको हो कि जस्तो लागेको छ। कम्तिमा बैंकरहरुलाई फ्रन्ट लाइनमा बसेर काम गरेको छ भनेर त्यहि अनुसार सम्बोधन भएमात्र पनि बैंकरको मनोबल उच्च रहने देख्छु।   

Share your thoughts!

मोहम्मद अज्मत अलि

Editor-In-Chief






Close in 7