भारतको मद्रास उच्च अदालतले ‘टिकटक’ माथि लगाइएको प्रतिबन्ध हटाएको छ । उच्च अदालतले बुधबार चिनियाँ भिडियो सेयरिङ एप टिक–टकमाथि लगाइएको प्रतिवन्धविरुद्ध परेको रिटमाथि सुनुवाई गर्दै यस्तो निर्णय सुनाएको हो ।
टिक–टकले भारतमा एक अर्ब डलरसम्म लगानी गर्ने तयारी गरिरहेको जनाएको छ ।
टिक–टकमा ‘पोर्नोग्राफी’ सामग्री समावेश गरिएको भन्दै मद्रास उच्च अदालतले प्रतिवन्ध लगाएपछि प्रयोगकर्ताहरुले यो एप डाउनलोड गर्न सकिरहेका थिएनन् । प्रतिवन्धपछि अप्रिल १७ मा टिक–टक भारतमा गुगल प्ले स्टोर र ऐपल ऐप स्टोरबाट हटाइएको थियो ।
साना–साना भिडियो सेयर गर्ने टिकटक विश्वभर लोकप्रिय छ । एनालिटिक्स फर्म सेन्सर टावरका अनुसार भारतमा मात्रै झण्डै तीन करोड प्रयोगकर्ताहरुले टिकटक एप डाउनलोड गरेका छन् । विश्वभर यसका एक अर्ब प्रयोगकर्ताहरु रहेका छन् ।