कुन कोरोना खोपको सम्भावना अधिक, नेपालले कहिलेसम्म प्राप्त गर्न सक्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 10:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

जब कोरोनाभाइरसको खोप विकास हुन्छ, तत्कालै सबैलाई पुग्ने गरी खोप उपलब्ध भइहाल्दैन। अनुसन्धान संस्था, प्रयोगशाला र औषधि निर्माण कम्पनीहरू अहिले प्रभावकारी खोपको विकास, परीक्षण र उत्पादन गर्न लाग्ने समयको लेखाजोखा गरिरहेका छन्।

विश्वव्यापी रूपमा खोप उपलब्ध होस् भन्ने सुनिश्चित गर्न अभूतपूर्व कदमहरू चालिएका छन् तर धनी देशले अगाडि पाउने र कमजोर देश पछि पर्ने चिन्ता प्रकट भइरहेका छन्।

कहिलेसम्म खोप आउने अपेक्षा गर्न सकिन्छ

सङ्क्रामक रोगका खोपको विकास, परीक्षण र वितरणका लागि वर्षौँ लाग्छ। अझ त्यसको सफलता पनि सुनिश्चित हुँदैन। कोरोनाभाइरसको हकमा कुन खोप प्रभावकारी हुनसक्छ भनेर दशौँ हजार मानिस सहभागी परीक्षण चलिरहेको छ। त्यसो गर्दा पाँचदेखी १० वर्ष लाग्ने अनुसन्धानदेखि वितरणसम्मको प्रक्रियालाई केही महिनामा झारिएको छ।

लगानीकर्ता र उत्पादकले प्रभावकारी खोप तयार पार्न अर्बौँ डलर खर्च गरिरहेका छन्। रुसले स्पुत्निक(भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षण जारी रहँदै सर्वसाधारणलाई खोप उपलब्ध गराएको छ।

चीनले आफूले खोप विकासमा सफलता पाएको र त्यो खोप देशको सेनालाई दिइएको जनाएको छ। दुवै खोप विश्व स्वास्थ्य सङ्गठन डब्लूएचओले भनेको तेश्रो चरणको परीक्षण सूचीमा छैनन् र उनीहरूको द्रुत विकासलाई लिएर आशङ्काहरू खडा भएका छन्।

परीक्षणमा अघि रहेका भनिएको केही खोपले यसै वर्षको अन्त्यसम्म अनुमति पाउने भनिएको छ। तर डब्लूएचओले सन् २०२१ को मध्यअघि बृहत् रूपमा खोप लगाउने काम अघि नबढ्ने बताएको छ।

फिजर र बायोएनटेकले प्रारम्भिक विश्लेषणले आफूहरूले बनाएको खोपले ९० प्रतिशतभन्दा बढी मानिसहरूलाई कोभिड-१९ बाट जोगाउने बताउँदै नोभेम्बरको अन्त्यमा खोपको प्रयोगका लागि आपत्कालीन अनुमति माग्दै निवेदन दिने बताएका छन्।

फिजरले यस वर्षको अन्त्यसम्म पाँच करोड मात्रा र अर्को वर्षको अन्त्यसम्म एक अर्ब ३० करोड मात्रा खोप बनाउने बताएको छ। अक्सफर्ड विश्वविद्यालयले विकास गरेर अनुसन्धानकै चरणमा रहेको खोप उत्पादनको अनुमति ब्रिटेनको औषधि उत्पादक एष्ट्राजेनेकाले लिएको छ।

उसले विश्वव्यापी उत्पादन क्षमता विस्तार गर्दै परीक्षण सफल भए विश्वलाई दुई अर्ब र यूकेलाई १० करोड खोप आपूर्ति गर्ने बताएको छ। अरू दर्जनौँ औषधि उत्पादक कम्पनी पनि प्रतिस्पर्धामा छन्।

खासमा सरदर १० प्रतिशत खोप परीक्षण सफल हुने भएपनि विश्वव्यापी चासो, गठबन्धन र साझा उद्देश्यका कारण यसपटक अवस्था फरक हुने ठानिएको छ।

खोप राष्ट्रवाद

केही प्रमाणित नभएका सम्भावित खोप आफ्ना लागि सुनिश्चित गर्न विभिन्न देशका सरकारले सम्झौता गरिरहेका छन्। उदाहरणका लागि यूके सरकारले विभिन्न छ सम्भावित कोरोनाभाइरस खोपका लागि सम्झौता गरेको छ तर रकम भने खुलाएको छैन।

अमेरिकाले द्रुत रूपमा सफल खोपलाई हासिल गर्न आफ्नो लगानी परिचालन गरेको छ र ज्यानुअरीसम्म ३० करोड मात्रा खोप प्राप्त गर्ने अपेक्षा गरेको छ। तर धेरै देशहरू यस्तो गर्न सक्ने अवस्थामा छैनन्।

अग्रमोर्चामा खटिएर खोप वितरण गर्ने संस्था मेदसाँ सं फ्रँतिएले फर्मास्युटिकल कम्पनीहरूसँग यसरी सम्झौता गर्दा धनी देशबाट खोप राष्ट्रवादको खतरनाक प्रवृति निम्तिने बताएको छ।

डब्लूएचओले पनि पैसा तिर्न सक्नेले मात्र नभई सबै देशले खोपमा समान पहुँच पाउनुपर्ने बताएको छ।

के विश्वव्यापी खोप कार्यदल छ ?

डब्लूएचओले महमारी नियन्त्रण समूह सेपी र सरकार र सङ्घसंस्थाहरूको खोपको गठबन्धन गाभीसँग मिलेर सबैलाई समान पहुँच दिलाउने प्रयास गरिरहेको छ।

सन् २०२० को अन्त्यसम्ममा दुई अर्ब डलर जुटाउने लक्ष्य राखेर संसारभर खोप वितरण गर्न अघि बढाइएको कोभ्यास खोप अभियानमा ९४ वटा धनी देशले सहभागीता जनाइसकेका छन्। डब्लूएचओबाट अलग हुने इच्छा राखेको अमेरिका उक्त अभियानमा छैन।

कोभ्याक्समा श्रोत जुटाएर सहभागीले कम आय भएका अफ्रिका, एशिया र ल्याटीन अमेरिकाका देशहरूमा बराबर हैसियतमा खोपमा पहुँच दिलाउने अपेक्षा गरिएको छ। यो अभियानले कैयौँ खोप अनुसन्धान र उत्पादनलाई श्रोत जुटाउन मद्दत गरिरहेको छ। कुनै एक खोपको परीक्षण सफल भएपनि सन् २०२१ सम्ममा दुई खर्ब खोपका मात्रा वितरण गर्ने कोभ्याक्सको लक्ष्य छ।

नेपालले कहिलेसम्म कोरोनाको खोप प्राप्त गर्न सक्छ ?

सरकारले कोरोनाविरुद्धको खोप ल्याउनको लागि सचिवस्तरीय तीन सदस्यीय कार्यदल गठन गरेको गरेको छ। परराष्ट्र सचिव भरतराज पौडेल, स्वास्थ्य तथा जनसंख्या सचिव लक्ष्मण अर्याल र अर्थसचिव शिशिर ढुंगाना सहितको कार्यदल गठन गरेको हो।

सरकारले तीनवटा मन्त्रालयका सचिवमार्फत खोप ल्याउन सहजीकरण गर्नको लागि सहजीकरण गर्ने, पत्राचार गर्ने जस्ता काम गर्नको लागि कार्यदल गठन गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको भनाई छ। मन्त्री ढकालले कार्यदलले आफैं खोप खरिद गर्ने नभई सम्पर्क तथा पत्राचार जस्ता काममा सहजीकरण गर्ने बताएका छन्।

विश्वका विभिन्न देशहरुले निर्माण गरिरहेका र अनुमति पाउने क्रममा रहेका कोरोनाको खोपबारे अध्ययन गर्न र नेपालमा त्यसको उपलब्धता सहज बनाउन सचिवस्तरीय तीन सदस्यीय कार्यदलले  थप अर्को कार्यदल गठन गरेको छ। 

कोरोनाको खोप निर्माणमा जुटिरहेका ११ मध्ये एक कम्पनीले नेपाललाई नेपालको कुल जनसंख्याको २ प्रतिशत बराबरको खोप दिने प्रतिबद्धता जनाएको कार्यदलका एक सदस्यले बिजपाटीलाई बताए। उनकाअनुसार नेपाललाई प्राप्त हुने कोरोनाको खोप सबै भन्दा पहिले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, लगायतलाई उपलब्ध गराइने छ।

कोरोना खोप निर्माणमा कुन कम्पनीको अवस्था के ?

दुई साताअगाडी मात्रै फिजर बायोएनटेकले आफुले निर्माण गरेको कोरोनाको खोप ९० प्रतिशत प्रभावकारी भएको बताईरहंदा अमेरिकी कम्पनी मोडेर्नाले आफ्नो खोप ९४.५० प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।

त्यस्तै बेल्जियमको कम्पनी जानसेनले पनि अहिलेसम्मको परिक्षण सफल भईरहेको दाबी गरेको छ। यो कम्पनीले बेलायतमा आफ्नो अनुसन्धान तथा परिक्षणलाई निरन्तरता दिइरहेको छ।

बेलायतको औषधि कम्पनि एष्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिक मिलेर कोरोनाको खोप निर्माण गरिरहेका छन् । अबको केहि साता परिक्षणको नतिजा बाहिर ल्याउने कम्पनीको दावी छ।

त्यस्तै रुसले आफुले निर्माण गरेको स्पुत्निक भी खोपले बिरामीहरूको रोगप्रतिरोधी प्रतिक्रिया उत्पन्न गराएको भन्दै अन्तिम चरणको परीक्षणमा जुटेको छ। रुसका अनुसन्धानकर्ताले यो खोप ९२ प्रतिशत प्रभावकारी भएको दाबि गरेका छन्।

त्यस्तै विश्वका विभिन्न देशहरु कोरोनाको खोप निर्माणमा जुटिरहेका छन्। यसमा चीनको वुहान विश्वबिद्यालय र साइनोफर्मा, रुसको मस्को स्थित गेमालिया रिसर्च अफ एपिडेमियोलॉजी एंड माइक्रोबायोलॉजी सामेल छन्।

तर चीनको कम्पनी सिनोवेकले निर्माण गरेको खोप ब्राजिलमा परिक्षण गरिएको थियो तर परिक्षणको क्रममा एक स्वयम सेवकको मृत्यु भएपश्चात परिक्षणमाथि रोक लगाइएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved