यातायात व्यवसायी महासंघका महासचिवको प्रश्न, ‘हाम्रा लागि खोई सहुलियत ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 28, 2020 | 10:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि ल्याएको बजेटमा यातयात व्यवसायीले असन्तुष्टि जनाएका छन् । कोरोना भाइरसका कारण गाडी थन्किएको, टायरमा कुहिएको, गाडीको मेशिन बिग्रिएको र गाडीको पूरै शरीरमा नै खीया लागेको अवस्थामा पनि सरकारले बजेटमार्फत केही राहतको व्यवस्था नगरेको भन्दै यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले असन्तुष्टि जनाएका छन् । 

‘हाम्रा गाडी थन्किएका छन्, गाडीमा खीया लागेको छ’ उनले भने, ‘अब चलाउनुपर्दा पनि एक डेढ लाख लगाएर मर्मत गर्नुपर्ने अवस्था छ । तर अरु सबै क्षेत्रलाई राहत रकममा र सहुलियत प्रतिशतमा घोषणा गरेको सरकारले सार्वजनिक यातायातलाई उपेक्षा गर्नु दुखद हो ।’ 

आक्रोशित बनेका सिटौलाले ‘मूलुक चलायमान बनाउन सार्वजनिक यातायातको भूमीका महत्वपूर्ण हुन्छ भन्ने कुरा सरकारले नबुझेको हो ?’ भन्दै प्रश्नसमेत गरेका छन् । 

‘अरु क्षेत्रमा यति छुट, यति सहुलियत भनेर तोकेरै आयो’ महासचिव सिटौलाले भने, ‘तर सार्वजनिक सवारीलाई छुट दिने भनिएपनि कति दिने भनेर तोकिएन, कन्जुस्याईँ गरियो ।’ 

उनले थपे, ‘छुट, सहुलियत खुलेर र बोलेर आउनुपथ्र्यो, तर कन्जुस्याईँ गरेर रुट परमिटमा छुट, करमा छुट भनेको छ, कति छुट दिने हो तोकिएको छैन ।’ 

छिमेकी देश भारतबाट आएर सिमा क्षेत्रमा अलपत्र परेका मानिस लिन पुग्ने सार्वजनिक सवारीका कर्मचारीको स्वास्थ्यमा पनि खेलवाड गरिएको उनको आरोप छ । ‘लकडाउन खुल्नासाथ मानिस आएर गाडीमा बसिहाल्ने त होईन’ उनले भने, ‘अहिले सिमानामा मान्छे लिन पुगेका हाम्रा गाडीका कर्मचारीले स्वास्थ्य उपकरण पाएका छैनन्, सार्वजनिक सवारी सञ्चालनको कुरा गर्दा स्वास्थ्यसँगै यो विषय आउनुपथ्र्यो ।’ 

सार्वजनिक सवारीलाई प्राथमिकतामा नराख्दा दुःख लागेको भन्दै उनले बजेट राम्रो तरिकाले नआएको बताए । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यातायात व्यवसायीको लागि बैंकको कर्जामा सहुलियत, रुट परमिट नविकरणमा छुट र करमा पनि छुट दिने व्यवस्था गरिएको उल्लेख गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved