अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट ८ लाख रोजगारी सिर्जना गर्ने बताएका छन् । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले विभिन्न निकायबाट ८ लाख रोजगारी सिर्जना हुने बताएका हुन्।
उनले कुन योजनाबाट कति रोजगारी सिर्जना हुने भन्नेबारे जानकारी दिएका थिए । जस अनुसार मन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख रोजगारी सिर्जना हुने दाबी गरे । उनले त्यसमा १०० दिन नै काम दिइने बताए ।
त्यस्तै उनले साना किसान कर्जा मार्फत ४० हजार ले रोजगार पाउने, युवा युवा स्वरोजगार कोषबाट १२ हजारले रोजगार पाउने र उद्योग मन्त्रालय मार्फत १ लाख ३० हजारले रोजगारी पाउने बताए । मन्त्री खतिवडाले वन मन्त्रालय मार्फत ३० हजारले , सहकारीको माध्यम बाट १ लाख ५० हजारले , प्राबिधिक र ब्यबसायिक कार्यक्रम मार्फत ५० हजार र सिपमुलक कार्यक्रमबाट ५० हजारले रोजगारी पाउने बताए । उनले बैंकहरुले सहुलियत ऋणबाट अन्य हजारौले रोजगारी पाउने दाबी गरे ।
आगामी आर्थिक बर्षको बजेटले बाणिज्य बैंकको हरेक शाखाले १० जनालाई र विकास बैंकको हरेक शाखाले ५ जनालाई अनिवार्य सहुलियत ऋण दिनु पर्ने ब्यबस्था गरेको छ ।
गरिबी निवारकणको कोषको १९ अर्ब निष्कृय बसेकोले त्यो परिचालन गरेर १ लाख ५० हजार नागरिकलाई रोजगार सिर्जना गरिने उनले बताए । उनले रोजगारी सिर्जना गर्नु अहिलेको बजेटको पहिलो दायित्व भएकोले जीवन सुरक्षा गर्दै श्रमलाई काममा जोड्ने र जनसांख्यिक लाभको मुलुकले फाइदा लिनसक्ने गरी श्रमलाई परिचालन गर्ने गरी बजेट आएको बताए ।