‘काभ्रे भ्याली’ स्मार्ट सिटीले पायो एक अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2021 | 11:23:47 AM मा प्रकाशित

laxmi  sunrise bank

काभ्रेपलान्चोक जिल्ला स्थित बनेपा, धुलिखेल र पनौति क्षेत्र समेटिएको ‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागी सरकारले हालै बजेट सुनिश्चिततासहित थप रू.एक अर्ब बजेट विनियोजन गरेको छ ।

गत चैत २५ गते बसेको मन्त्रिपरिषद् बैठकले काभ्रेसहित १२ स्थानमा स्मार्ट सिटीका लागि तत्काल वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय गरेको थियो । काभ्रेसहित झापाको गौरीगञ्ज, रौतहटको चन्द्रपुर र मौलापुर, भक्तपुरको गुण्डु–बालकोट क्षेत्र, स्याङ्जाको वालिङ, रुपन्देहीको लुम्बिनी, धनकुटा, दाङको तुलसीपुर, दैलेखको दुल्लू, कञ्चनपुरको भीमदत्त र डडेल्धुराको अमरगढीलाई स्मार्ट सिटी बनाउने निर्णय गरिएको हो । शहरी विकास मन्त्रालयले प्रत्येक स्मार्ट सिटी विकासका लागि रु एक अर्ब बजेट विनियोजन भएको जनाएको छ । 

‘काभ्रे भ्याली’ स्मार्ट सिटीका लागि हालै रु एक अर्ब बजेट विनियोजन भएकाले वातावरण मूल्याङ्कनसहित खरिद प्रक्रिया अघि बढाउन मन्त्रालयलाई निर्देशन भइसकेको पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सांसद गोकुलप्रसाद बाँस्कोटाले बताए । उनले यसअघि २०७४ असारमा गरिएको निर्णयमा विशेष महत्वका साथ स्मार्ट सिटी बनाउने केही शहरलाई यसपटकको निर्णयमा हटाइएको बताए । “स्मार्ट सिटी सूचना प्रविधिमैत्री हुनुपर्दछ, जहाँ स्थानीयवासीले प्रविधिकै माध्यमबाट सेवा–सुविधा उपभोग गर्न पाउने व्यवस्था हुनुपर्छ”, बाँस्कोटाले भने । इ–गभर्नेन्स् स्मार्ट सिटीको महत्वपूर्ण आधार भएकाले सुशासन, सामाजिक सुरक्षा, स्मार्ट व्यवस्थापन, स्मार्ट प्रविधिबाटै आकस्मिक सेवाको उपलब्धता हुुनुपर्ने उनको भनाई थियो ।

भौगोलिक अवस्था, जनताको जीवनस्तर, त्यहाँको अर्थतन्त्र र सम्भावनाअनुसार फरक–फरक हुने भएता पनि स्मार्ट सिटीमा विगतमा बनेका संरचनाभन्दा भिन्नै र सम्पूर्ण सेवा–सुविधाहरु हुनुपर्दछ । जसमा सडक, खानेपानी, अस्पताल, टेलिफोन, बैंक, पार्किङस्थल, खुला मैदान, फोहोर व्यवस्थापन, शिक्षा, स्वास्थ्य, सूचना प्रणालीमा सरकार–जनतालगायत सम्पूर्ण सेवा–सुविधा एकै थलोमा हुनुपर्नेछ । राष्ट्रिय योजना आयोगले यसअघिको स्मार्ट सिटी योजनामा जनता, शासन, अर्थ–व्यवस्था र पूर्वाधारमा स्मार्ट गरी चार सूचकलाई स्मार्ट सिटीको आधार बनाएको थियो ।

यसअघिकै स्मार्ट सिटी योजनाअुसार काभ्रेपलाञ्चोकको तीन नगरले ऐतिहासिक सम्पदा मर्मतसम्भार तथा पुनःनिर्माण थालेका थिए । शहरी विकास मन्त्रालयअन्तर्गतकै नयाँ शहर आयोजनाअनुसार तीन नगर स्मार्ट सिटी हाल कार्यान्वयनको चरणमा थिए । बनेपा नगरले मन्त्रालयको स्मार्ट सिटी योजनाअन्र्तगत नगरभित्रका पोखरी, पुराना ढुङ्गेधारा र मन्दिरको पुनःनिर्माण तथा मर्मतसम्भार शुरु गरेको थियो । पनौती नगरले त्रिवेणीघाट क्षेत्रमा आउँदो बाह्रवर्षे मकर मेलालक्षित सोलार बत्ती जडानका लागि सम्झौता गर्दै पुण्यमाता र रोशी खोलातर्फ सिँढी निर्माण गर्ने निर्णय गरेको छ । साथै धुलिखेल नगरले भने ठूलीवनमा चार दशमलव पाँच किलोमिटर अपाङ्गमैत्री इको–ट्रेल निर्माण, एक नम्बर वडास्थित देवीटारमा माउन्टेन स्पोर्टस् ट्रेनिङ सेन्टर, बुद्ध–शान्ति पार्क निर्माण र वडा नम्बर ६ र ७ मा ऐतिहासिक रामनाम पोखरीको मर्मतसम्भारको काम गर्ने योजना बनाएको थियो । 

अघिल्लो योजनामा काभ्रे स्मार्ट सिटी योजनाका लािग एकमुष्ठ रु पाँच करोड बजेट विनियोजन भएको थियो । सोमध्ये बनेपालाई रु दुई करोड तथा धुलिखेल र पनौती नगरलाई रु एक करोड ५० लाखका दरले बजेट विनियोजन भएको हो । शहरका पूर्वाधार व्यवस्थित नभई विविध समस्या हुने भएकाले शहरलाई स्मार्ट बनाउन प्राथमिकता दिन थालिएको बताइन्छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved