कस्तो आउला बजेट ? यस्तो छ लेखक समूहका सदस्यको दाबी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2021 | 03:02:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले बजेटमार्फत उद्योगी व्यवसायीलाई ब्याज छुट दिनुपर्ने नीति ल्याउने भएको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको अन्तिम तयारीमा रहेको सरकारले उद्योगी व्यवसायीहरुले लिएको ऋणमा २ प्रतिशत ब्याज छुट दिनुपर्ने व्यवस्था गर्न लागेको हो ।

‘कोरोना भाइरसका कारण उद्योगी व्यवसायीहरु मारमा परेका छन्, उनीहरुले लिएको अर्बौ ऋण छ’ बजेट निर्माण एवम् बजेट लेखन समूहका सदस्यका रुपमा प्रत्यक्ष संलग्न स्रोतले भन्यो, ‘बैंकहरुले कम्तीमा २ प्रतिशत ब्याज छुट दिनुपर्ने व्यवस्था गर्दैछौँ, यो आवश्यक पनि छ ।’ 

रोजगारी सिर्जना गर्ने र कोभिड केन्द्रित बजेट आउने बताएका छन् । जति क्षमता हो सोही अनुसार व्यवहारिक बजेट आउने स्रोतको भनाई छ ।

कति आउला बजेट ?

मध्यमकालीन खर्च संरचना अनुसार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटको आकार १६ खर्ब ९७ अर्ब ५७ करोड रुपैयाँ हुनेछ । यही सिलिङभित्र रहेर पूराना आयोजनालाई बजेट छुट्याउने तयारीमा अर्थ मन्त्रालय छ ।

कोरोना भाइरसका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट आउने अर्थमन्त्री विष्णु पौडेलको दाबी छ । तर, बजेट लेख्ने काममै लागेका एक व्यक्तिले भने व्यवहारिक बजेट आउने बताएका छन् । 

‘घोषणा भएका कार्यक्रमका लागि बजेट व्यवस्था गर्न नसक्ने गरी अव्यवहारिक बजेट यसपाली आउँदैन’ स्रोत भन्छ, ‘स्वास्थ्य र रोजगारी केन्द्रित बजेट आउँछ । जुन एकदमै व्यवहारिक हुन्छ ।’ 

स्रोतका अनुसार मध्यमकालीन खर्च संरचना अनुसारको १६ खर्ब ९७ अर्ब ५७ करोडको सिलिङ अनुसार ठूलो आकारको बजेट आउने छैन ।

‘चुनावलाई मात्रै फोकस गरिँदैन’

स्रोतले चुनावी सरकार भएपनि चुनावलाई मात्रै केन्द्रमा राखेर बजेट नआउने बताएको छ । 

‘वृद्धभत्ता बढाउने कुरा पहिल्यै कमिटमेन्ट भएको हुनाले त्यो बढ्छ, तर चुनाव आउँदैछ भनेर लोकप्रीय बजेट ल्याउने बाहानामा अव्यवहारिक बजेट आउँदैन’ स्रोतले भन्यो, ‘जहाँ आवश्यक हो, त्यहाँ अभाव नहुने र अनावश्यक ठाउँमा लगानी नगर्ने रणनीति हो, पब्लिकलाई खुशी पार्ने मात्रै काम हुँदैन, सबै क्षेत्रलाई समेटेर सिमित बजेट आउँछ ।’

साउनबाट वृद्धभत्ता मासिक ५ हजार पुर्याउने प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममै भनिसकेको विषय हो ।

करका दर के होलान् ?

कोरोना महामारीका कारण उद्योग व्यवसायको क्षेत्र मारमा रहेकाले व्यवसायी र उद्योगीहरुलाई २ प्रतिशत कर छुटको प्रावधान आउने पक्का भएको छ । यो सँगै पुनःकर्जाको सिमा पनि ५० अर्बबाट बढाउने तयारी छ । तर बढाएर कति पुर्याउने भन्ने मंगलबारसम्म थाहा हुनेछ ।

‘करका दरमा खासै फेरबदल हुँदैन’ स्रोत भन्छ, ‘आत्मनिर्भर भएका बस्तुहरुको आयातमा भन्सार दर बढ्छ, सिमेन्ट, कागज, जुत्ता लगायतको कच्चा पदार्थमा भन्सार दर घटाउने र तयारी बस्तु आयात गर्दा भन्सार दर बढाउनेबारे छलफल भएको छ ।’

मानव स्वास्थ्यमा हानी गर्ने सूर्तिजन्य उत्पादन र मदिराको हकमा भने करको दर बढ्ने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved