किन अर्थमन्त्रीलाई ताला चाबी बुझाउँदैछन् सेनेटरी प्याड उत्पादन गर्ने उद्योगी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2022 | 04:34:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका उद्योग तथा उत्पादनलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको दाबी गरेका अर्थमन्त्रीलाई सेनेटरी प्याड उत्पादन गर्ने उद्योगका उद्योगीहरुले भने तालाचाबी बुझाउने चेतावनी दिएका छन् ।

नेपालमै माग भन्दा बढी उत्पादन क्षमता हुँदाहुँदै विदेशबाट आयात हुने सेनेटरी प्याडमा ९० प्रतिशत भन्सार शुल्क छुट दिएर आफूहरुलाई ‘ताला चाबी बुझाएर जाओ’ भन्न खोजिएको उद्योगीहरुले बताएका छन् ।

नेपाल सेनेटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज प्रसाद अधिकारीले सेनेटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार छुटको निर्णय तत्काल फिर्ता लिन माग गरे । 

‘हामीले उत्पादन गरेको सेनेटरी प्याड अहिले वार्षिक ३० करोड पिस खपत भईरहेको छ, हामीसँग ९० करोड पिस उत्पादन गर्ने क्षमता छ’ उनले भने, ‘पूर्ण क्षमतामा उद्योग चलाएर निर्यातको वातावरण बनाउनुपर्ने बेलामा कुनै स्वार्थ समूहको प्रभावमा परेर आयात गर्दा ९० प्रतिशत भन्सार छुट दिने नीति लिईयो, यो निर्णय तत्काल फिर्ता नभए हामी उद्योग बन्द गरेर ताला चाबी बुझाउँछौँ ।’

उद्योगी पुनित शारदाका अनुसार सेनेटरी प्याड उद्योगले वार्षिक १५ करोड बिजुली खपत गर्दै आएका छन् । सेनेटरी प्याड उद्योगमा ६ अर्ब रुपैयाँ लगानी रहेको छ । लगानीमध्ये २० प्रतिशत उद्योगीको र बाँकी ८० प्रतिशत बैंकहरुको रहेको उद्योगी शारदाको भनाई छ ।

आयात गर्दा भारी मात्रामा भन्सार छुट हुने भएपछि अबको हरेक वर्ष सेनेटरी प्याडको आयात बढेर नेपालको ब्यापार घाटा झन चुलिँदै जाने उनीहरुको चिन्ता छ ।

उद्योगी डा. सपना पाण्डे भुसालले नेपालमै ‘क्वालिटी’ र सस्तो मूल्यका सेनेटरी प्याड उत्पादन हुँदै आएकोमा यसबारे गलत निर्णय गरेर नेपालको ब्यापार घाटा झन बढाउने नीति अवलम्बन गरिनु दुःखद भएको बताएकी छिन् ।  

‘गत वर्षबाटै नेपाली सेनेटरी प्याडको गुणस्तर बनिसकेको छ, नेपाल गुणस्तर अनुसार नै अहिले हामीले उत्पादन गर्दै आएका छौँ’ उनले भनिन्, ‘यसबारे केही नीतिगत निर्णय लिँदा यहाँका सम्बन्धित पक्षलाई सजिलो अफ्ट्यारो के हुन्छ भनेर एक पटक पनि सोधिएन, हामी अर्थमन्त्रीलाई भेट्न पनि गयौँ, तर दिएको सुझाव एउटा थियो, नीति आईदियो अर्को ।’

सेनेटरी प्याडको उत्पादनमा आवश्यक कच्चा पदार्थमध्ये २५ प्रतिशत स्वदेशी कच्चा पदार्थ नै खपत हुँदै आएको छ । बाँकी कच्चा पदार्थ विभिन्न देशबाट आयात हुन्छ ।

‘मल्टीनेशनल कम्पनीका विदेशी सेनेटरी प्याडलाई छुट दिएपछि हामीले मुल्यमा प्रतिस्पर्धा गर्न सक्दैनौँ, निर्णय फिर्ता नभए एक दुई दिनमा माइतीघरमा आन्दोलन गरेर उद्योगको चाबी सरकारलाई बुझाउँछौँ’ एक उद्योगीले भने ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved