बजेटको आकार घटाइँदै, आन्तरिक ऋणबाहेक सबै शीर्षकमा 'कैची'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2023 | 03:00:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/०८० को बजेटको मध्यावधि समीक्षा आज गर्दैछ । अर्थमन्त्री विष्णु पौडेलले आजको संसद बैठकमा बजेटको अर्धवार्षिक मूल्यांकको प्रतिवेदन सम्बन्धमा मन्तव्य दिने र त्यसपछि आजै साँझ पत्रकार सम्मेलन गर्ने तय भएको छ ।

संसद बैठक ३ बजे बस्दैछ भने अर्थमन्त्री पौडेलको पत्रकार सम्मेलन साँझ ६ बजेका लागि राखिएको छ । मध्यावधि समीक्षामार्फत बजेटको आकार घट्ने अर्थ मन्त्रालय स्रोतले बताएको छ । सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । 

कूल विनियोजनमध्ये चालुतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड अर्थात् ४२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१.२ प्रतिशत र वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२.८ प्रतिशत विनियोजन गरिएको छ । 

त्यसैगरी प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत बजेट छुट्याइएको छ । तर, लक्ष्य अनुसार राजस्व संकलन नभएको र पुँजीगत बजेटको खर्च पनि आर्थिक वर्षको ७ महिनासम्म जम्मा १७ प्रतिशतमा मात्रै सिमित भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक तथा सञ्चालन खर्च कटौती र राजस्व लक्ष्यसमेत पुनरावलोकन गर्ने भएका हुन् । 

जनार्दन शर्माले अर्थमन्त्री हुँदा ल्याएको बजेटमा बजेटको स्रोतका रुपमा लिएको वैदेशिक ऋणको लक्ष्य पनि अर्थमन्त्री पौडेलले घटाउँदैछन् । वैदेशिक ऋणबाट २ खर्ब ४२ खर्ब २६ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएकोमा अब मध्यावधि समीक्षामार्फत यो लक्ष्य घट्ने छ ।

वैदेशिक अनुदानबाट ५५ अर्ब ११ करोड अपेक्षा गरिएकोमा यस लक्ष्य पनि केही मात्रामा परिमार्जन हुने बताइएको छ । त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य १२ खर्ब ४० अर्बबाट झण्डै १ खर्बजति घटाउन लागिएको पनि बताइएको छ । 

आयातमा लागेको प्रतिबन्ध गत माघ ५ गतेबाट फुकुवा भएकाले आर्थिक वर्षको बाँकी अवधिमा संकलन हुन सक्ने राजस्वको अनुमान गरेर राजस्व लक्ष्य घटाउन लागिएको हो । आन्तरिक ऋणको लक्ष्य भने यथावत राख्न सकिने बताइन्छ ।

त्यस्तै, यसअघि नै अर्थ मन्त्रालयले सरकारी निकायको २० प्रतिशत खर्च कटौतीको निर्णयलाई निरन्तरता दिँदै स्थानीय तह र प्रदेश सरकारमा तेस्रो त्रैमासबाट जाने निसर्त अनुदानमा पनि केही कटौती हुन सक्ने अनुमान गरिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved