जेठ १३ गते नै करका दर तोकेर बजेटलाई अन्तिम रुप दिइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2023 | 09:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत लिइने कर तथा राजस्वको दर शनिबार तोक्ने भएका छन् । शनिबार अर्थमन्त्री डा. महतले करका दरहरुका सम्बन्धमा निर्णय गर्ने अर्थ स्रोतले बताएको छ ।

जेठ १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक प्रावधान छ । सामान्यतया, बजेट भाषणको अघिल्लो दिन राती मात्रै करका दरहरुलाई अन्तिम रुप दिने गरिन्छ । यसपाली भने अर्थमन्त्री डा. महतले जेठ १३ गते नै करका दरहरुबारे अन्तिम निर्णय गर्ने भएका हुन् । 

करका दर हेरफेरका सम्बन्धमा अर्थ मन्त्रालयको राजस्व व्यवस्थापन महाशाखाले भन्सार विभाग र आन्तरिक राजस्व विभागमार्फत सुझाव लिएर सोही अनुसार तयारी गरिरहेको छ । राजस्व व्यवस्थापन महाशाखाले करका दरहरुका विषयमा आफ्नो तर्फबाट सक्नुपर्ने काम शुक्रबार सकेर अन्तिम निर्णयका लागि बजेट महाशाखा हुँदै अर्थमन्त्री समक्ष पुर्याउनेछ ।

त्यसपछि शनिबार अर्थ मन्त्रीले करका दरका विषयमा निर्णय गर्नेछन् । 

मन्त्रालयको टिमले भ्याट छुटको सूची हटाउने, विलासी कर लगाउने, अन्तःशुल्क परिमार्जन गर्ने लगायतका विषय सहितको प्रतिवेदन तयार तयार पारिसकेको छ । प्रतिवेदनमा अर्थमन्त्री डा. महतले ‘फाइनल लुक’ गरेर करका दरबारे निर्णय लिनेछन् ।

जेठ १३ गते नै करका दरहरु तोकेर राखिएपछि जेठ १४ गते सरकार पक्षका दलहरुबीच बजेटबारे अन्तिम ‘ब्रिफिङ’ चल्ने बताइएको छ । सोही दिन योजना आयोग र मन्त्रिपरिषदमा पनि अर्थमन्त्री महतले बजेटबारे ब्रिफिङ गर्नेछन् । 

अर्थ मन्त्रालयले बनाएको बजेट कार्यतालिका अनुसार जेठ १३ गते बजेट वक्तव्य, आर्थिक र विनियोजन विधेयकलाई अन्तिम रूप दिने उल्लेख थियो । सोही अनुसार जेठ १३ गते नै बजेटले अन्तिम रुप ग्रहण गर्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved