आगामी आर्थिक वर्ष २०८१ / ८२ को बजेट विनियोजन गरिएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले दुबै सदनलाई संयुक्त रुपमा सम्बोधन गर्दै आगामी आवको बजेटबारे जानकारी दिएका हुन् ।
आगामी आवको लागि अर्थमन्त्री पुनले १८ खर्व ६० अर्व ३० करोड बराबरको बजेट ल्याएका छन् । अर्थमन्त्री पुनका अनुसार आगामी आवको लागि छुट्याइएको १८ खर्ब ६० अर्ब मध्ये चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड, पूजीगततर्फ ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब छुट्याइएको छ ।
त्यस्तै १८ खर्ब ६० अर्बको बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ५२ अर्ब उठाइनेछ भने अपुग ५ खर्ब ४७ अर्ब बैदेशिक तथा आन्तरिक ऋणबाट उठाइनेछ। बैदेशिकतर्फबाट २ खर्ब १७ अर्ब र बाँकी अपुग ३ खर्ब ३० अर्ब आन्तरिक ऋण लिइने छ ।
अर्थमन्त्री पुनले कृषि तथा पशुपक्षी मन्त्रालयका लागि ५७ अर्ब २९ करोड, उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयको लागि ५० अर्ब ७४ करोड, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि ७ अर्ब ३५ करोड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि ११ अर्ब ५५ करोड रुपैयाँ विनियोजित गरेका छन् ।
त्यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ६ अर्ब ८२ करोड रुपैयाँ, वन तथा वातावरण मन्त्रालयका लागि १५ अर्ब ७० करोड रुपैयाँ, शिक्षा विज्ञमा तथा प्रविधि मन्त्रालयलाई २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई ९ अर्ब २८ करोड रुपैयाँ विनियनेजित गरिएको छ ।
खानेपानी मन्त्रालयका लागि २६ अर्ब ६३ करोड रुपैयाँ, श्रम तथा रोजगार मन्त्रालयका लागि ८ अर्ब १० करोड रुपैयाँ, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ५० अर्ब ५३ करोड रुपैयाँ,रक्षा मन्त्रालयका लागि ५९ अर्ब ७७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी, गृह मन्त्रालयका लागि १ खर्ब ९९ अर्ब २४ करोड रुपैयाँ, परराष्ट्र मन्त्रालयका लागि ६ अर्ब ७७ करोड रुपैयाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ र युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजित गरिएको छ ।