अर्थमन्त्री बर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१ /०८२ मार्फत् फलामे छडमा कर हेरफेर गर्दा स्टिल व्यवसायी बीचको झगडा ब्युँतिएको छ।
फलामे छडमा विसं २०७८ सालमा प्रतिस्थापन विधेयकमार्फत गरिएको करको व्यवस्थालाई अर्थमन्त्री पुनले चलाउँदा पुरानो झगडा ब्युँतिएको हो।
तत्कालिन सरकारले आर्थिक विधेयक २०७८ को व्यवस्थालाई संशोधन गरेर २०७८ को प्रतिस्थापन विधेयकमार्फत् बाहिरबाट बिलेट्स ल्याएर फलामे छड बनाउनेलाई अन्त : शुल्क र भन्सार लगाउने तर स्पन्ज आइरन ल्याएर फलामे छड बनाउनलाई अन्तशुल्क र भन्सार नलिने निर्णय लिएको थियो।
प्रतिस्थापन विधेयक २०७८ जारी हुनु अगाडि बिलेट्स ल्याएर फलामे छड बनाउने तथा स्पन्ज आइरन ल्याएर फलामे छड बनाउनेलाई एकै किसिमको कर व्यवस्था थियो।
अर्थात् अन्त : शुल्क शून्य प्रतिशत थियो भने भन्सार ५ प्रतिशत थियो। तर अर्थमन्त्री पुनले आगामी आवको बजेटमार्फत् बाहिरबाट बिलेट्स ल्याएर फलामे छड बनाउनेलाई अन्त : शुल्क नलगाउने र स्पन्ज आइरन अर्थात् (कच्चा पदार्थ) पत्रु पगालेर फलामे छड बनाउनेलाई पनि लिंदै आएको १ प्रतिशतको भन्सारलाई साढे दुई प्रतिशत बनाउने तथा पिग आइरन र स्क्र्याप आइरनको आयातमा भन्सार शून्य प्रतिशतलाई परिवर्तन गरेर एक प्रतिशत बनाउने व्यवस्था गरेका छन् ।
यो व्यवस्थाप्रति बाहिरबाट बिलेट ल्याएर फलामे छड बनाउने उद्योगीहरुले भने आफुहरुले राहत पाएको प्रतिक्रिया दिएका छन् भने स्पन्ज आइरन ल्याएर सिधै फलामे छड बनाउने उद्योगीहरुले भने आफुहरु झन मारमा परेको प्रतिक्रिया दिएका छन्।
बिलेट ल्याएर फलामे छड बनाउने उद्योगीहरुले प्रतिस्थापन विधेयक २०७८ ले सृजना गरेको बाधाहरु केहि हदसम्म हटेको प्रतिक्रिया दिएका छन्।
तत्कालै दुई वर्षदेखि डुबेको व्यवसाय उठाउन गाह्रो हुने भएपनि यो व्यवस्थाले अब आफुहरु पनि बजारमा बाँच्न सक्ने अपेक्षा गरेको बताएका छन् ।बिलेट आयातकर्ताहरूले चाहिं हिजोको नीतिका कारण आफुहरुको लगानी जोखिममा परेको बताएका छन् ।
उनीहरुको यस्ता उद्योगको संख्या भने न्यून छ । नेपालमा बाहिरबाट बिलेट ल्याएर फलामे छड बनाउने उद्योगहरु १४ वटा छन्। यी १४ मध्ये प्रतिस्थापन विधेयकको व्यवस्थाका कारण तीन वटा उद्योग बन्द भएका थिए भने एउटा उद्योग पत्रु पगालेर फलामे छड बनाउनेमा रुपान्तरण भएको थियो।
बजेटले ३६ अर्ब लगानी भएको मेल्टिङ प्लान्ट उद्योग धराशायी हुने दावी नेपाल फलामे छड उत्पादक संघ सम्बद्ध व्यवसायीहरुले गरेका छन् ।
हाल नेपालमा पत्रु पगालेर फलामे छड बनाउने उद्योगहरु १७ वटा छन्। यी १७ मध्ये प्रतिस्थापन विधेयकपछि आठ वटा थपिएका छन् ।